लैंगिक हिंसा रोकथाममा जोड

सुर्खेत ,२६ जेठ ।
वीरेन्द्रनगरमा लैंगिक हिंसाका घटना रोकथामका लागि सचेतनामूलक अभियानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । सशक्त महिला, समृद्ध नेपाल परियोजना अन्तर्गत मंगलबार वीरेन्द्रनगर नगरपालिकाको सभाहलमा आयोजित लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य सञ्जालको पालिकास्तरीय बैठकमा सहभागीहरूले यस्तो बताएका हुन् ।इयु युनएफपीएको आर्थिक सहयोगमा सोसेक नेपालद्वारा संचालित सशक्त महिला समृद्ध, नेपाल परियोजना  अन्तर्गत मंगलबार वीरेन्द्रनगर नगरपालिकाको सभाहलमा आयोजित लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य सञ्जालको पालिकास्तरीय बैठकमा सहभागीहरूले यस्तो बताएका हुन् । बैठकमा कर्णाली प्रदेश अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्रकी इन्चार्ज कल्पना थापाले केन्द्रमार्फत हालसम्म पाँच सय १२ जना हिंसा प्रभावित महिला तथा बालबालिकालाई प्रत्यक्ष सेवा प्रदान गरिएको जानकारी दिइन् । उनका अनुसार आठ सयभन्दा बढी पीडितलाई फलोअप सेवा समेत उपलब्ध गराइएको छ ।
थापाले कर्णालीका विभिन्न जिल्लाबाट हिंसा प्रभावितहरू सेवा लिन आउने गरे पनि वीरेन्द्रनगरबाट सबैभन्दा बढी लैंगिक हिंसासम्बन्धी घटना आउने गरेको बताइन् । उनले हिंसा प्रभावितलाई कानुनी सेवा उपलब्ध गराउनुका साथै आयआर्जनसँग जोड्ने प्रयास भइरहेको जानकारी दिइन् । मानसिक स्वास्थ्य समस्या भएका पीडितलाई आवश्यक परे काठमाडौंसम्म पठाउने गरिएको उनको भनाइ थियो । पछिल्लो समय अनाधिकृत गर्भपतन गर्ने किशोरीको संख्या बढ्दै गएको उल्लेख गर्दै थापाले हिंसाका घटना दोहोरिने प्रवृत्ति समेत देखिएको बताइन् । उनका अनुसार हालसम्म ८३ जना लैंगिक हिंसा पीडितलाई कानुनी सेवा प्रवाह गरिएको छ ।
यस्तै, महिला अधिकारकर्मी जरमाया बाँठाले पछिल्लो समय लैंगिक हिंसाको ग्राफ बढ्दो अवस्थामा रहेको बताइन् । सम्बन्ध विच्छेद तथा कुटपिटका घटना बढेकाले समस्या थप जटिल बन्दै गएको उनको भनाइ थियो । आर्थिक अवस्था कमजोर भएका महिलालाई न्यायिक प्रक्रिया टुंगो नलाग्दासम्म सहयोग गर्ने गरिएको उनले जानकारी दिइन् । कानुनी सहायता प्रदान गर्नुका साथै आवश्यकताअनुसार आर्थिक सहयोग समेत उपलब्ध गराउने गरिएको उनले बताइन् । आवाज संस्थाकी निशा पौडेलले आफ्नो संस्था विगत २६ वर्षदेखि लैंगिक विभेद तथा हिंसामा परेका महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बताइन् । संस्थाले मनोसामाजिक परामर्श, सीपमूलक तालिम, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको उनको भनाइ थियो ।
पौडेलका अनुसार संस्थाले हालसम्म आठ सय ५० जना लैंगिक हिंसा प्रभावित महिला तथा बालबालिकाको उद्धार तथा पुनस्र्थापना गरिसकेको छ । उनले जन्मदर्ता नहुँदा विभिन्न समस्या सिर्जना हुने गरेको, बालविवाह अझै बढ्दो अवस्थामा रहेको तथा त्यसले थप जटिलता निम्त्याएको बताइन् । ‘लागुऔषध र यौन धन्दामा किशोरीहरू संलग्न हुने क्रम पनि देखिएको छ,’ उनले भनिन् । होटल तथा यातायात क्षेत्र लैंगिक हिंसाको उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले हिंसा प्रभावित महिला तथा बालबालिकालाई सेफ हाउसमा राखेर सेवा दिने गरिएको जानकारी दिइन् । हिंसाका कारण मानसिक समस्या, आत्महत्याजस्ता सामाजिक समस्या बढिरहेको उनको भनाइ थियो । वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले लैंगिक हिंसा प्रभावितलाई सेवा दिन सञ्चालन गरिएका कार्यक्रमलाई निरन्तरता दिइने बताइन् ।
नगरपालिकाले हिंसा प्रभावित महिला तथा बालबालिकाका लागि सेफ हाउस निर्माणको तयारी गरिरहेको जानकारी दिँदै उनले उक्त सेफ हाउसमा कर्णालीका १० वटै जिल्लाबाट आउने पीडितलाई राखेर कानुनी तथा आर्थिक सहयोगमार्फत पुनस्र्थापना गरिने बताइन् । बैठकमा सहभागीहरूले लैंगिक हिंसा न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *