दुई रात जङ्गलमा हराएका तीन बालक सकुशल फेला

गाेल्डेन बुढा
जुम्ला,५ असार ।
विद्यालय जान भनी घरबाट निस्किएका जुम्लाको सिँजा गाउँपालिका–२, अवस्थीबाडाका तीन बालक दुई दिनपछि जङ्गलमा सकुशल फेला परेका छन्। हराएका बालकको खोजीमा अभिभावक, स्थानीयवासी र प्रहरी परिचालित भएपछि जुम्ला–कालीकोट सिमानाको उच्च लेकाली क्षेत्रमा उनीहरू भेटिएका हुन्।फेला पर्ने बालकहरूमा खड्क खत्रीका ७ वर्षीय छोरा परिवर्तन विष्ट, पदम विष्टका ८ वर्षीय छोरा प्रशान्त खत्री र विष्णु रोकायका १२ वर्षीय छोरा विनोद रोकाय रहेका छन्। उनीहरू नजिकैको विद्यालय जान भनी घरबाट निस्किएका थिए। बेलुकासम्म घर नफर्किएपछि अभिभावक चिन्तित बनेका थिए।सुरुमा आफन्त र स्थानीयवासीले विद्यालय, गाउँका बाटा, हिमा नदी किनार, नराकोट बजार तथा आसपासका बस्तीमा खोजी गरे पनि बालकहरूको कुनै अत्तोपत्तो लागेको थिएन। खोजीबाट कुनै सुराक नलागेपछि अभिभावकले इलाका प्रहरी कार्यालय नराकोटमा खबर गरेका थिए।त्यसपछि प्रहरी नायब निरीक्षक कृष्णबहादुर बुढाको नेतृत्वमा टोली परिचालित भएको थियो। व्यापक खोजीका क्रममा जुम्ला र कालीकोटको सिमानामा पर्ने उच्च स्थानको खेतीखर्क नजिकको जङ्गल क्षेत्रमा उनीहरू फेला परेका हुन्। वडाध्यक्ष तीर्थ वडका अनुसार स्थानीयको सक्रियता र प्रहरीको निरन्तर खोजीका कारण बालकहरूलाई सकुशल उद्धार गर्न सम्भव भएको हो।इलाका प्रहरी कार्यालय नराकोटका सहायक हवलदार तिलकप्रसाद उपाध्यायका अनुसार बालकहरू सोमबार काफल खान भन्दै जङ्गलतर्फ गएका थिए। जङ्गलको भित्री भागमा पुगेपछि उनीहरू बाटो बिर्सेर अर्कैतर्फ लागेका थिए। घर फर्किने बाटो नभेटेपछि उनीहरूले रातभर जङ्गलकै एक एनसेल टावरमुनि आश्रय लिएर बसेका थिए।बालकहरू नराकोटस्थित निजी विद्यालय ‘सालम बोर्डिङ स्कुल’मा अध्ययनरत छन्। उनीहरू विद्यालयकै पोसाकमा रहेका बेला भेडीगोठालाले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरी टोलीले उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरी अभिभावकको जिम्मा लगाएको हो।दुई दिनसम्म हराएका साना बालकहरू लेकाली जङ्गलमा रात बिताएर पनि सकुशल अवस्थामा भेटिएपछि गाउँभर राहत र खुसी छाएको छ। बालकहरू सुरक्षित भेटिएसँगै चिन्तामा रहेका अभिभावक, आफन्त र स्थानीयवासीले समेत राहतको सास फेरेका छन्।






