सम्पादकीय : घोषणामै सीमित नहोस पर्यटन दशक

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ बाट ‘कर्णाली पर्यटन दशक’ सुरु गर्ने घोषणा गरेको छ । प्रदेशको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना तथा स्थानीय समृद्धिको आधारका रूपमा पर्यटन क्षेत्रलाई विकास गर्ने लक्ष्यसहित ल्याइएको यो अवधारणा स्वागतयोग्य छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदा तथा जैविक सम्पत्तिले सम्पन्न कर्णालीलाई समृद्धिको मार्गमा अघि बढाउन पर्यटन क्षेत्र प्रभावकारी माध्यम बन्न सक्छ । तर, विगतका सिकाई र अभ्यासले योजना र घोषणाभन्दा त्यसको प्रभावकारी कार्यान्वयन बढी महत्वपूर्ण हुन्छ । कर्णालीमा रारा ताल, स्यार्पु ताल, कुपिण्डे दह, काँक्रेविहार, बुलबुले उद्यान, चौहान पार्कजस्ता पर्यटकीय गन्तव्यहरू छन् । यिनको संरक्षण, विकास तथा व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको छ । पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि प्रदेश सरकारले ५३ करोड ८६ लाख रुपैयाँ बजेट छुट्याएको छ भने प्रमुख पर्यटकीय क्षेत्रका गुरुयोजना कार्यान्वयनका लागि २१ करोड ३५ लाख रुपैयाँ व्यवस्था गरिएको छ । यसले सरकार पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्न इच्छुक रहेको संकेत गर्छ ।

यद्यपि, कर्णालीमा पर्यटन प्रवद्र्धनको चुनौती केवल बजेट अभावमा सीमित छैन । पहुँच, पूर्वाधार, सेवा गुणस्तर तथा व्यवस्थापनका समस्या अझै कायम छन् । विशेषगरी हवाई यातायातको अवस्था पर्यटन विकासको प्रमुख अवरोध बनेको छ । सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नतिको योजना वर्षौंदेखि संघीय र प्रदेश सरकारका नीति तथा बजेटमा दोहोरिँदै आएको छ । ठूला जहाज सञ्चालन गर्न सक्ने गरी धावनमार्ग विस्तार गर्ने लक्ष्य पटक–पटक घोषणा भए पनि व्यवहारमा उल्लेखनीय प्रगति हुन सकेको छैन । यसले सरकारी योजनाप्रतिको विश्वास कमजोर बनाएको छ । त्यसैगरी हिमाली जिल्लाहरूमा नियमित हवाई उडान सञ्चालनका लागि ल्याइएका सहुलियत कार्यक्रमहरू पनि अपेक्षाअनुसार कार्यान्वयन हुन सकेका छैनन् । घोषणा गरिएका योजना कार्यविधिकै चरणमा अल्झिने प्रवृत्ति अन्त्य नभएसम्म पर्यटन दशकले अपेक्षित परिणाम दिन सक्दैन । कर्णालीजस्तो दुर्गम भूगोलमा पर्यटन विकासका लागि सडक र हवाई दुवै पूर्वाधारको सुधार अपरिहार्य छ । 

सकारात्मक पक्ष के छ भने सरकारले पर्यापर्यटन, ग्रामीण पर्यटन तथा होमस्टे प्रवद्र्धनलाई प्राथमिकता दिएको  छ । स्थानीय नागरिकको क्षमता विकास, आतिथ्य सेवा, ट्रेकिङ गाइड, मौलिक वास्तुकला तथा रैथाने परिकारसँग सम्बन्धित सीप विकास कार्यक्रमले पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सहयोग पुर्‍याउन सक्छ । पर्यटनको प्रत्यक्ष लाभ स्थानीय समुदायसम्म पुग्ने व्यवस्था गर्न सकिए मात्र यसको दिगोपन सुनिश्चित हुन्छ । ‘कर्णाली पर्यटन दशक’ कर्णालीको सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने महत्त्वपूर्ण अभियान बन्न सक्छ । तर, यसको सफलता आकर्षक नारामा होइन, योजनाको समयबद्ध कार्यान्वयन, पर्याप्त लगानी, निजी क्षेत्रको सहभागिता र संघ–प्रदेश–स्थानीय तहबीचको प्रभावकारी समन्वयमा निर्भर रहनेछ । यसर्थ, अब कर्णालीलाई नयाँ नारा घोषणा होइन, परिणाम दिने काम चाहिएको छ । पर्यटन दशकको योजनालाई प्रभावकारी कार्यान्वयनको चरणमा लैजना सकेमात्रै कर्णालीको पर्यटनबाट समृद्धिको यात्रा तय गर्न सकिन्छ । यसतर्फ सरकारको नेतृत्वले जिम्मेवार बन्न आवश्यक छ । 

सम्पादकीय : घोषणामै सीमित नहोस पर्यटन दशक

जग्गा विवाद टुंगियो, आठ वर्षपछि सञ्चालनमा आउँदै

सम्पादकीय : घोषणामै सीमित नहोस पर्यटन दशक

दुई रात जङ्गलमा हराएका तीन बालक सकुशल

Leave a comment

Your email address will not be published. Required fields are marked *