जग्गा विवाद टुंगियो, आठ वर्षपछि सञ्चालनमा आउँदै जुम्ला बसपार्क

गोल्डेन बुढा
जुम्ला ,४ असार ।
निर्माण सम्पन्न भएको झण्डै आठ वर्षपछि जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बसपार्क सञ्चालनमा आउने भएको छ। जग्गा व्यवस्थापनको विवादका कारण वर्षौंदेखि प्रयोगविहीन बनेको बसपार्क आगामी असार १० गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरिएको छ।२०७६ सालमा करिब १ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण गरिएको बसपार्कमा भवन, नाला, पार्किङ क्षेत्र, टिकट काउन्टर तथा शौचालयलगायतका संरचना तयार भए पनि सेवा सञ्चालन हुन सकेको थिएन। बसपार्कसम्म पुग्ने पहुँचमार्गमा सात जना जग्गाधनीको निजी जग्गा परेपछि विवाद उत्पन्न भएको थियो।बसपार्क सञ्चालनमा नआउँदा सदरमुकाम खलंगा बजार क्षेत्र नै अस्थायी पार्किङस्थल बन्दै आएको थियो। लामो तथा छोटो दूरीका बस, ट्रक, जीप, टिपर र अटो सडकमै पार्किङ हुँदा बजार क्षेत्रको यातायात व्यवस्थापन प्रभावित हुँदै आएको थियो।बसपार्क सञ्चालनका विषयमा बिहीबार चन्दननाथ नगरपालिका–६ का वडा अध्यक्ष रवि थापाको अध्यक्षतामा यातायात व्यवसायी, जग्गाधनी तथा सरोकारवालाबीच बैठक बसेको थियो। बैठकले आगामी असार १० गतेदेखि छिनासिमस्थित बसपार्कबाट सबै सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको छ।जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका अनुसार बसपार्क क्षेत्रको जग्गा व्यवस्थापन र यातायात सञ्चालनसम्बन्धी विषयमा जग्गाधनी तथा यातायात व्यवसायीसँग सहमति जुटेपछि सञ्चालनको बाटो खुलेको हो।बैठकमा जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी खड्का, प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, जग्गाधनी तथा यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो।बैठकले मुख्य सडकदेखि बसपार्कसम्म जाने बाटोको जग्गा व्यवस्थापन तथा आवश्यक प्रक्रिया अघि बढाउने, सञ्चालनका क्रममा देखिने समस्या समाधानका लागि नगरपालिकाले सहजीकरण समिति गठन गर्ने, सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय जुम्लासँग समन्वय गर्ने तथा जग्गाधनीहरूले बसपार्क सञ्चालनमा अवरोध नगर्ने निर्णय गरेको छ।त्यसैगरी बसपार्कमा आवश्यक सुरक्षा, खानेपानी, शौचालयलगायत आधारभूत सेवा व्यवस्थापनमा चन्दननाथ नगरपालिकाले सहयोग गर्ने सहमति भएको छ।३ हजार ३ सय ६५ वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त बसपार्कको जग्गा चन्दननाथ नगर विकास समितिको नाममा रहेको छ। लामो समयदेखि प्रयोगमा आउन नसकेको बसपार्क सञ्चालनमा आएपछि सदरमुकामको अव्यवस्थित पार्किङ नियन्त्रण हुनुका साथै यातायात सेवा थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।





