११ महिनामा कर्णालीको बजेट खर्च जम्मा ३६ प्रतिशत एक महिनामा ६३ प्रतिशत  बजेट कार्यान्वयको दवावमा सरकार

ओम शाही ।

सुर्खेत, ५ जेठ ।

कर्णाली प्रेदश सरकारले ११ महिनाको अवधिमा कुल बजेटको ३६.२६ प्रतिशत कार्यान्वयनमा ल्याएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिना अर्थात जेठ मसान्तसम्म कुल बजेटको ५०.६४ प्रतिशत चालुतर्फ खर्च गरेको सरकारले पूँजिगततर्फ भने जम्मा २७.७० प्रतिश बजेट खर्च गर्न सकेको छ । 

यो अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै पाँच प्रतिशतले कम हो । चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी रहदा प्रदेश सरकारको बजेट आधा पनि कार्यान्वयन भएको छैन । चालु आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन गर्न सरकारले ३३ अर्ब १९ करोड ३६ लाख ५५ हजार बराबरको बजेट ल्याएको थियो । 

बैशाख मसान्तसम्म कुल बजेटको २९ प्रतिशत अर्थात्, नौ अर्ब ६३ करोड ५१ लाख ४९ हजार रुपैयाँ खर्चेको सरकारले जेठ महिनमा मात्रै कुल बजेटको ७.१७ प्रतिश बजेट खर्चेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांक अनुसार जेठ मसान्तसम्म चालुतर्फ ६ अर्ब ३७ करोड ८७ लाख ८० हजार ६ सय ६७ र पूँजिगततर्फ पाँच अर्ब ५३ करोड ६१ लाख २५ हजार एक सय ८७ रुपैयाँ गरी कुल १२ अर्ब ३५ करोड ६० लाख ५८ हजार ५४ रुपैयाँ खर्चेको छ । 

यो चालुतर्फ ५०.६४ र पूँजिगततर्फ २७.७० प्रतिशत खर्च भएको बजेट हो । अब प्रदेश सरकारको संचित खातामा २१ अर्ब १५ करोड ८० लाख ४९ हजार एक सय ४५ रुपैयाँ बराबरको बजेट मौज्दात छ । जसमा १४ अर्ब बढी विकास बजेट छ । प्रदेश सरकारलाई अब एक महिना अर्थात असार मसान्तसम्म झण्डै ६३.७४ प्रतिशत बजेट कार्यान्वयनको दवाव छ । 

बार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन अघि सारिने बजेट कार्यान्वयनको अवस्था कमजोर भएको यो पहिलो पटक भने होइन । प्रदेश स्थापना भएदेखि सरकारले चालु आर्थिक वर्षसम्म कुल दुई खर्ब ६४ अर्ब २४ करोड बजेट प्रस्तुत गरेको छ । तर, विनियोजनको तुलनामा औँसतमा चालुतर्फ ६४.५७ र पूँजीगततर्फ ५५.३९ प्रतिशत खर्च भई समग्रमा ५८.९२ प्रतिशत बजेट कार्यान्वयन हुने गरेको तथ्यांकले देखाउँछ । 

गएको १ असारमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले चालु आर्थिक वर्षमा ६३.५२ अर्थात २० अर्ब ९६ करोड २० लाख बजेट खर्च हुने दावी गरेपनि यो लक्ष्य पुरा गर्न निकै कठिन जस्तै छ । हरेक वर्ष प्रदेश सरकारको बजेट देखिने गरी फागुन महिनाबाट खर्च हुन सुरु हुन्छ । 

सालबसाली योजनाहरु असार मसान्तसम्म सम्पन्न गरिसक्नु पर्ने भएकाले आर्थिक वर्षको अन्तिममा निर्माण व्यवसायीले एकै पटक भुक्तानीको प्रक्रिया थाल्दा बजेट खर्चको ग्राफ बढी देखिने गरेको हो । चालु आर्थिक वर्षमा सरकारले बजेट खर्चको अंक ८० प्रतिशतको हाराहारीमा पुर्‍याउने लक्ष्य राखेको थियो । तर, बजेट कार्यान्वयनको अवस्था हेर्दा मुस्किलले ५० प्रतिशत पुग्ने देखिन्छ । 

२३–२४ भदौको जेन–जी आन्दोलन र मध्यपूर्वको युद्धले इन्धन तथा निर्माण सामग्रीमा बढेको अस्वभाविक मूल्यको असर पूँजिगत बजेट कार्यान्वयनमा परेपछि सरकारको अपेक्षित लक्ष्य कुनै पनि हालतमा पुरा नहुने सरकारी अधिकारीहरु नै बताउँछन् । इन्धनको मूल्यवृद्धिले कालोपत्रे गर्न आवश्यक पर्ने बिटुमिन लगायतका निर्माण सामग्री अभावले सालबसाली योजनासमेत प्रभावित हुँदाको सिधा असर विकास बजेट कार्यान्वयनमा परेको निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव बम बताउँछन् । उनले मूल्यवृद्धिको असरले सरकारको झण्डै ६० देखि ७० प्रतिशत विकास बजेट कार्यान्वयन गर्ने निजी क्षेत्रले सम्झौता अनुसार काम गर्न नसकेको बताए । 

यस्तो छ मन्त्रालयगत खर्चको अवस्था

कर्णालीमा सडक, पुल, सार्वजनिक भवन लगायतका ठुला पूर्वाधार विकास गर्ने जिम्मेवारी पाएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयसँग चालु आर्थिक वर्षमा कुल ११ अर्ब एक करोड २१ लाख बजेट छ । 

बिडम्बना भौतिक मन्त्रालयले ११ महिना अर्थात जेठ मसान्तसम्म तीन अर्ब ६ करोड ७३ लाख मात्रै बजेट खर्च गरेको छ । यो कुल बजेटको २७.८५ प्रतिशत हो । त्यस्तै, समाजिक विकास मन्त्रालयमा कुल पाँच अर्ब ७७ करोड ५६ लाख बजेट रहेकोमा जेठ मसान्तसम्म दुई अर्ब ५४ करोड नौ लाख अर्थात ४२.५४ प्रतिशत बजेट खर्च भएको छ । 

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा चालु आर्थिक वर्षका लागि तीन अर्ब ८३ करोड ११ लाख बजेट छ । यो मन्त्रालयले हालसम्म मुस्किलले एक अर्ब ६० करोड ८३ लाख अर्थात ४१.९९ प्रशित मात्रै बजेट खर्च गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कुल दुइ अर्ब ५७ करोड ११ लाख बजेट मध्ये हालसम्म ६९ करोड २७ लाख बजेट खर्च गरेको छ । कृषि मन्त्रालयले ११ महिनाको अवधिमा कुल बजेटको २६.९४ प्रतिशत मात्रै बजेट कार्यान्वयनमा ल्याएको हो । 

दुई अर्ब ४२ करोड ७९ लाख कुल बजेट रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कुल बजेटको ३७.५५ प्रतिशत मात्रै खर्च गरेको छ । यस मन्त्रालयले जेठ मसान्तसम्म ९१ करोड १७ लाख मात्रै बजेट कार्यान्वयनमा ल्याएको छ । त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि ४४ करोड २४ लाख बजेट रहेकामा कार्यान्वयन भने १९ करोड ३५ लाख अर्थात ३१.७५ प्रतिशत भएको छ । 

कुल २० करोड १३ लाख बजेट रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी रहदा ११ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयले हालसम्म कुल बजेटको ५४.९५ प्रतिशत बजेट कार्यान्वयनमा ल्याएको हो ।  

११ महिनामा कर्णालीको बजेट खर्च जम्मा ३६ प्रतिशत  एक महिनामा ६३ प्रतिशत   बजेट कार्यान्वयको दवावमा सरकार

दुई रात जङ्गलमा हराएका तीन बालक सकुशल

११ महिनामा कर्णालीको बजेट खर्च जम्मा ३६ प्रतिशत  एक महिनामा ६३ प्रतिशत   बजेट कार्यान्वयको दवावमा सरकार

नेपाल–भारत सीमामा तीन महिने संयुक्त सर्वेक्षण, ४२

Leave a comment

Your email address will not be published. Required fields are marked *