प्रतिनिधिसभा निर्वाचन आउन १६ दिन बाँकी: मतदानस्थल सुरक्षार्थ खटिए निर्वाचन प्रहरी

ओम शाही

सुर्खेत, ५ फागुन ।

आसन्न २१ फागुनमा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिएका निर्वाचन प्रहरीलाई चुनावमा खटाइएको छ । २३–२४ भदौको जेन–जी आन्दोलनपछि हुन लागेको निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउँन सरकारले निर्वाचन प्रहरी भर्ना गरेको थियो । दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सोमबार एक हजार ६ सय २८ निर्वाचन प्रहरी मतदान केन्द्र र मतदानस्थलको सुरक्षार्थ खटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार नेपाली प्रहरी र सशस्त्र प्रहरी गरी सुर्खेतमा एक हजार आठ सय ४० निर्वाचन प्रहरी भर्ना भएका थिए । उनीहरुलाई दुई निर्वाचन क्षेत्र अन्तर्गत रहेका विभिन्न ३५ बढी प्रहरी युनिट मातहत रहने गरी खटाइएको उनले बताए ।

उनीहरुले प्रहरीको मातहतमा रहेर निर्वाचन पूर्वका आवश्यक तयारीमा सघाउने छन् भने मतदानका दिन पहिलो सुरक्षा घेरामा खटिने छन् ।  निर्वाचन प्रहरीको मूल लक्ष्य भनेको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनु हो । उनका अनुसार दुवै निर्वाचन क्षेत्रमा नौ सय बढी प्रहरी जनशक्ति खटिने छ भने आवश्यकता अनुसार सशस्त्र प्रहरी र नेपाली सेना निर्वाचन सुरक्षार्थ तैनाथ हुनेछ । निर्वाचन सुरक्षार्थ सशस्त्र प्रहरी र नेपाली सेना यसअघि नै सम्बन्धित निर्वाचन क्षेत्रमा तैनाथ भइसकेको प्रहरी प्रवक्ता बुढथापाले जानकारी दिए ।

निर्वाचन सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, निर्वाचन अधिकृत, कर्मचारीहरु आवश्यक सामग्रीसहित १८ गते सम्बन्धित मतदान केन्द्रमा पुग्ने उनको भनाई छ । उनका अनुसार सुर्खेतमा हालसम्म निर्वाचनलाई असर गर्ने कुनै खालका तत्व वा समूह हालसम्म देखा नपरेकाले सुरक्षा चुनौती छैन ।

‘जिल्ला सुरक्षा समितिले सुर्खेतका दुवै निर्वाचन क्षेत्रका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गरिरहेको छ,’ उनले भने,  ‘चुनावका समयमा कुनै अवाच्छित गतिविधि भए तत्काल एक्सन लिने गरी सुरक्षा योजना बनाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन प्रहरीले कुनै कसरत बाँकी राख्दैन ।’ उनले निर्वाचन अवधिभर कर्णालीका १० वटै जिल्लाका कारागार कार्यालय सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको बताए ।

१४० मतदान केन्द्र, दुई लाख मतदाता 

सुर्खेतका दुई निर्वाचन क्षेत्रमा कुल एक सय ४० मतदान स्थलमा तीन सय दुई मतदान केन्द्र छन् । जसमा क्षेत्र नम्बर १ मा ७२ मतदान स्थल र एक सय ४८ मतदान केन्द्र छन् । यस्तै, सुर्खेत–२ मा ६८ मतदान केन्द्र र एक सय ५४ मतदान स्थल रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दलाल चौलागाईले बताए । निर्वाचन क्षेत्र नम्बर १ मा गुर्भाकोट, भेरीगंगा र लेकवेशी नगरपालिका, सिम्ता र चिङ्गाड गाउँपालिका, वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ वडा पर्दछन् ।

त्यस्तै, सुर्खेत–२ मा वीरेन्द्रनगर नगरपालिकाका १ देखि १४ वडा, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका पर्दछन् । सुर्खेतमा आगामी २० फागुनसम्म १८ वर्ष पुरा भई दुई लाख ४८ हजार नौ सय ४३ मतदाता कायम छन् ।

निर्वाचन क्षेत्र अनुसार सुर्खेत–१ मा ६० हजार तीन सय ९६ र सुर्खेत–२ मा ६१ हजार चार सय ९३ मतदाता छन् । जसमा पुरुष एक लाख २१ हजार आठ सय ८९ र महिला एक लाख २७ हजार ५४ छन् । जसअन्तर्गत गुर्भाकोट नगरपालिकामा ३५ हजार ६ सय ९०, चिङ्गाड गाउँपालिकामा १० हजार आठ सय २५, चौकुने गाउँपालिकामा १५ हजार नौ सय ५८, पञ्चपुरी नगरपालिकामा २३ हजार दुई सय पाँच मतदाता छन् ।

त्यस्तै, बराहताल गाउँपालिकामा १७ हजार आठ सय ४०, वीरेन्द्रनगर नगरपालिकामा ७१ हजार आठ सय ४०, भेरीगंगा नगरपालिकामा ३२ हजार सात सय ९४, लेकवेशी नगरपालिकामा २२ हजार एक सय ४० र सिम्ता गाउँपालिकामा १८ हजार ६ सय ७५ मतदाता रहेको प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

आगामी निर्वाचनमा दुई पदका लागि सुर्खेत–१ बाट १३ र सुर्खेत–२ बाट १७ गरी ३० जना चुनावी मैदानमा छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दल तथा स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

दलहरुलाई ६४ बुँदे निर्देशन

२१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावलाई लिएर निर्वाचन आयोगले राजनीतिक दलहरुलाई ६४ बुँदे निर्देशन जारी गरेको छ । आयोगले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा ४–१८ फागुनसम्म मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चार माध्यमहरुमा चुनाव केन्द्रित प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनको लागि घरदैलो कार्यक्रम गर्न निर्देशन दिएको हो ।

आयोगले दिएको निर्देशनमा निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचन सम्बन्धी प्रचलित संघीय कानून बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित नगर्न पनि आग्रह गरेको छ । निर्वाचनमा अवरोध पुर्‍याउने वा पुर्‍याउन लगाउने वा थुनछेक गर्ने वा गराउने, कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पुर्‍याउने, धाक धम्की वा डर त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पुर्‍याउने, सामाजिक बहिष्कार गर्ने वा सामाजिक बहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने जस्ता काम नगर्न आयोगले पार्टीहरुलाई निर्देशन दिएको छ ।

त्यसै अवसरमा आयोगले ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्थालाई नगद वा जिन्सी वितरण नगर्न, अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार नदिन वा दिने घोषणा नगर्न पनि आयोगले राजनीतिक पार्टीहरुलाई आयोगले भनेको छ ।

प्रतिनिधिसभा निर्वाचन आउन १६ दिन बाँकी:  मतदानस्थल सुरक्षार्थ खटिए निर्वाचन प्रहरी

सम्पादकीय : विकासको गति बढाऊ !

प्रतिनिधिसभा निर्वाचन आउन १६ दिन बाँकी:  मतदानस्थल सुरक्षार्थ खटिए निर्वाचन प्रहरी

बाँके जिल्ला–१ मा कडा प्रतिस्पर्धा :  पुराना

Leave a comment

Your email address will not be published. Required fields are marked *