बाँके जिल्ला–१ मा कडा प्रतिस्पर्धा :  पुराना दलको विरासत जोगाउने दाउ, नयाँ शक्तिको चुनौती

बाँके, ५ फाल्गुन ।

बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक रोचक र बहुआयामिक प्रतिस्पर्धा हुने देखिएको छ। दलगत तथा स्वतन्त्र गरी १४ जना उम्मेदवार मैदानमा उत्रिए पनि मुख्यतः पाँच जनाबीच कडा भिडन्त हुने राजनीतिक विश्लेषकहरूको आँकलन छ ।

पुराना दलले आफ्नो आधार जोगाउने प्रयास गरिरहँदा नयाँ दल र वैकल्पिक शक्तिले मतदाताको मन जित्ने अभियान तीव्र पारेका छन् । यस क्षेत्रमा सूर्य ढकाल पुनः दोस्रो कार्यकालका लागि मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्यसमेत रहेका ढकाल अघिल्लो निर्वाचनमा विजयी हुनुभएको थियो। एमालेले आफ्नो संगठनात्मक बल र विगतको विकास एजेन्डालाई मुख्य आधार बनाउँदै मत मागिरहेको छ ।

उता नेपाली काँग्रेसले जिल्ला सभापति नारायण प्रसाद गौडेललाई उम्मेदवार बनाएको छ । २०७९ सालको निर्वाचनमा गठबन्धनका कारण काँग्रेसले हार बेहोर्नु परेको थियो ।   यसपटक पार्टी आफ्नै शक्ति परीक्षणमा उत्रिएको हो । गौडेलले “स्थानीय आवश्यकताअनुसारको योजना, रोजगारी सिर्जना र कृषि आधुनिकीकरण”लाई आफ्नो प्राथमिकता रहेको बताए ।

उनले भने, “यो क्षेत्रलाई दीर्घकालीन विकासको खाँचो छ । जनताको भरोसा जितेर समृद्धिको मार्ग खोल्ने प्रतिबद्धता लिएको छु ।” त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेश कुमार चौधरी उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिस्पर्धा गर्नुभएका चौधरीलाई यसपटक वैकल्पिक राजनीतिक शक्तिको प्रतिनिधिका रूपमा हेरिएको छ ।

चौधरीले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र युवा सहभागितालाई मुख्य एजेन्डा बनाउँदै अभियान चलाइरहेका छन् । उनले भने, “पुराना दलको दोहोरिने शैलीबाट जनता वाक्क छन् । अब परिणाममुखी राजनीति आवश्यक छ ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ पनि प्रतिस्पर्धामा छन् । २०७४ सालको परिणाम दोहोर्‍याउने लक्ष्यसहित मैदानमा उत्रिएका पाण्डेले वाम एकताको आवश्यकता औंल्याउँदै सामाजिक न्याय र समावेशी विकासको मुद्दा उठाएका छन् । साथै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्णा केसी ‘नमुना’ उम्मेदवार हुन । उनी अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

यो निर्वाचन क्षेत्र अन्तर्गत कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका सबै ३० वडा समेटिएका छन् । जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीका अनुसार यहाँ कुल १ लाख २४ हजार ७२७ मतदाता रहेका छन् भने ४८ मतदान स्थलमा १४१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

अघिल्लो निर्वाचनको समानुपातिक मतपरिणामअनुसार एमालेले १६ हजार ८७६, काँग्रेसले १४ हजार २१८, नागरिक उन्मुक्तिले ९ हजार ९९७, माओवादी केन्द्रले ८ हजार ९९३ र रास्वपाले ८ हजार ९९२ मत प्राप्त गरेका थिए । यस आधारमा मत विभाजनको सम्भावना उच्च देखिन्छ ।

स्थानीय मतदाताको रोजाइ विविध देखिएको छ। कोहलपुरका व्यवसायी रामप्रसाद थापाले भने, “हामीलाई पार्टीभन्दा काम गर्ने व्यक्ति चाहिएको हो। सडक, सिँचाइ र रोजगारीको समस्या समाधान गर्न सक्ने उम्मेदवार रोज्छौं ।” राप्तीसोनारीकी कृषक माया चौधरी भन्छिन्, “कृषि उत्पादनको उचित मूल्य र बजार व्यवस्थापन हाम्रो मुख्य अपेक्षा हो ।” नरैनापुरका युवा मतदाता इरफान अन्सारीको भनाइ छ, “युवालाई अवसर दिने र पारदर्शी काम गर्ने उम्मेदवार हाम्रो प्राथमिकता हो ।”

यसरी हेर्दा बाँके–१ मा पुराना दलको संगठनात्मक शक्ति र नयाँ शक्तिको उत्साहबीच कडा प्रतिस्पर्धा हुने निश्चितजस्तै देखिन्छ । अन्ततः मतदाताको अन्तिम निर्णयले कसको पक्षमा जनमत जान्छ भन्ने कुराले क्षेत्रको आगामी राजनीतिक दिशा तय गर्नेछ ।

बाँके जिल्ला–१ मा कडा प्रतिस्पर्धा :   पुराना दलको विरासत जोगाउने दाउ, नयाँ शक्तिको चुनौती

प्रतिनिधिसभा निर्वाचन आउन १६ दिन बाँकी: मतदानस्थल

बाँके जिल्ला–१ मा कडा प्रतिस्पर्धा :   पुराना दलको विरासत जोगाउने दाउ, नयाँ शक्तिको चुनौती

बाँके र बर्दियाको पर्यटन प्रवद्र्धन गर्न ‘टुर

Leave a comment

Your email address will not be published. Required fields are marked *