बर्दिया निकुञ्जमा एक वर्षे पोथी बाघ मृत फेला

बाँके ,२  असार ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत रहेको माधव सामुदायिक वनमा एक वर्षको पोथी बाघ मृत अवस्थामा फेला परेको छ। गेरुवा गाउँपालिका–१ स्थित उक्त वन क्षेत्रमा बाघ मृत भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार प्रारम्भिक अनुसन्धानबाट दुई बाघबीच भएको संघर्षका कारण उक्त बाघको मृत्यु भएको देखिएको छ। संघर्षमा संलग्न अर्को बाघ घाइते भए पनि हाल सुरक्षित अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो।
मृत बाघको पोस्टमार्टम सम्पन्न गरिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको निकुञ्ज प्रशासनले जनाएको छ। पोस्टमार्टम प्रतिवेदनपछि मृत्युको वास्तविक कारणबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।
वन्यजन्तु विज्ञहरूका अनुसार बाघहरूबीच क्षेत्रीय प्रभुत्व कायम गर्ने, आहारा तथा वासस्थानको नियन्त्रण लिने क्रममा आपसी संघर्ष हुने गर्छ। विशेषगरी बाघको संख्या बढ्दै जाँदा यस्ता घटनाहरू समय–समयमा देखिने गरेका छन्।
यसअघि पनि २०८१ चैत २६ गते निकुञ्जको लगुना फाँटा र गैंडा मचान क्षेत्रबीचको घना झाडीमा करिब १०–१२ वर्ष उमेरका दुई भाले बाघ आपसमा जुध्दा दुवैको मृत्यु भएको थियो। उक्त घटनाले पनि बाघबीचको क्षेत्रीय प्रतिस्पर्धा कति तीव्र हुन सक्छ भन्ने देखाएको थियो।
बर्दिया राष्ट्रिय निकुञ्ज नेपालमा बाघ संरक्षणको प्रमुख केन्द्रका रूपमा परिचित छ। पछिल्लो बाघ गणनाअनुसार निकुञ्ज क्षेत्रमा १२५ वटा बाघ रहेका छन्। संरक्षण प्रयास प्रभावकारी बन्दै जाँदा बाघको संख्या वृद्धि भएको भए पनि सीमित वासस्थान र क्षेत्रीय प्रतिस्पर्धाका कारण यस्ता घटनाहरू चुनौतीका रूपमा देखिन थालेका छन्।
निकुञ्ज प्रशासनले बाघ संरक्षणसँगै उनीहरूको सुरक्षित वासस्थान व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा विशेष ध्यान दिइरहेको जनाएको छ।

बर्दिया निकुञ्जमा एक वर्षे पोथी बाघ मृत फेला

मानवअधिकारको कठघरामा कर्णाली

बर्दिया निकुञ्जमा एक वर्षे पोथी बाघ मृत फेला

सीमामा कडाइको प्रभाव : नेपालगञ्ज भन्सारको राजस्व

Leave a comment

Your email address will not be published. Required fields are marked *