सीमामा कडाइको प्रभाव : नेपालगञ्ज भन्सारको राजस्व बढ्यो, स्थानीय व्यापारमा देखियो उत्साह

बाँके ,२ असार ।
भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लाग्ने व्यवस्था कडाइका साथ कार्यान्वयन भएपछि नेपालगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ। साथै, सीमापारि किनमेल गर्न जाने उपभोक्ताको संख्या घटेसँगै नेपालगञ्जको स्थानीय व्यापार–व्यवसायसमेत चलायमान बन्न थालेको छ।
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलका अनुसार रु १०० भन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गरिएपछि विगतका महिनाको तुलनामा राजस्व सङ्कलनमा सकारात्मक सुधार देखिएको हो।
उहाँले भन्सारमा कडाइ गरिएपछि विशेषगरी चैत र वैशाख महिनामा राजस्व सङ्कलन उल्लेखनीय रूपमा बढेको जानकारी दिनुभयो। भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत फागुन महिनामा रु १ अर्ब ९३ करोड ३८ लाख १९ हजार राजस्व सङ्कलन भएको थियो। यो रकम चैत महिनामा बढेर रु २ अर्ब १४ करोड २५ लाख ५४ हजार पुगेको छ। वैशाख महिनामा भने रु १ अर्ब ८४ करोड २८ लाख २१ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
प्रमुख भन्सार अधिकृत पौडेलका अनुसार सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक उपभोग्य वस्तु तथा अन्य सामान खरिदका लागि जाने प्रवृत्तिलाई नियन्त्रण गर्ने उद्देश्यले नाकामा निगरानी र भन्सार जाँचलाई थप प्रभावकारी बनाइएको हो। यसले एकातर्फ सरकारी राजस्व वृद्धि गर्न सहयोग पुगेको छ भने अर्कोतर्फ नेपाली बजारमा व्यापारिक गतिविधि बढ्न थालेका छन्।
नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो दश महिनामा लक्ष्यको करिब ६८ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ। चालु आर्थिक वर्षका लागि रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार राजस्व उठाइएको छ, जुन वार्षिक लक्ष्यको ६८.२ प्रतिशत हो।
यता, व्यवसायीहरूले पनि सीमा नाकामा गरिएको कडाइको सकारात्मक प्रभाव स्थानीय बजारमा देखिन थालेको बताएका छन्। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीका अनुसार विगतमा साना–साना सामानसमेत खरिद गर्न सीमापारि जाने उपभोक्ताको संख्या उल्लेख्य थियो। तर पछिल्लो समय भन्सार नियम कडाइका साथ लागू भएपछि धेरै उपभोक्ता नेपाली बजारमै किनमेल गर्न थालेका छन्।
उहाँले स्थानीय बजारमा ग्राहकको चहलपहल बढ्न थालेको र यसले व्यापारीहरूमा समेत नयाँ उत्साह थपेको बताउनुभयो। सीमावर्ती क्षेत्रमा हुने अनियन्त्रित किनमेललाई व्यवस्थित बनाउन सके स्थानीय उद्योग, व्यापार तथा राजस्व सङ्कलनमा अझ सकारात्मक प्रभाव पर्ने व्यवसायीहरूको विश्वास छ।
सीमामा लागू गरिएको नयाँ भन्सार व्यवस्थाले राजस्व वृद्धि मात्र नभई स्वदेशी बजार संरक्षण, स्थानीय व्यापार प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तारमा समेत टेवा पुर्याएको सरोकारवालाहरूको भनाइ छ।




