सम्पादकीय : चाडपर्वमा सतर्कता अपनाऔँ

नेपालीहरुका ठुला चाडपर्वहरु नजिकिएसँग सुरक्षा चुनौती पनि थपिएको छ । चाडपर्वमा सुरक्षा प्रहरी परिचालनको विषय मात्र होइन । नागरिकले ढुक्क भएर घरबाहिर निस्कन, यात्रा गर्न, किनमेल गर्न र उत्सव मनाउन पाउने वातावरण निर्माण गर्ने विषय हो । चाडपर्वमा हुनसक्ने सम्भावित सुरक्षा जोखिमलाई कम गर्न कर्णाली प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ । तर, योजनाको सफलता कागजमा तय गरिएका ड्युटी र प्रहरी संख्याले होइन त्यसको प्रभावकारी कार्यान्वयनले निर्धारण गर्छ । विगतमा पनि सुरक्षा योजना बनाएर लागु गरिएको बताउँने गरिएको अवस्थामा जघन्य अपराधका घटना घटेको देखिन्छ । प्रदेश प्रहरीले ‘चाडपर्व लक्षित सुरक्षा योजना २०८३’ विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्व अवधिभर लागू गर्ने भएको छ । २५ असोजको घटस्थापनादेखि ३० कार्तिकको छठ पर्वसम्म लागू हुने योजनाको मूल उद्देश्य नागरिकको जनजीवन सामान्य, सुरक्षित र भयमुक्त बनाउनु हो । चाडपर्वका बेला हुने भीडभाड, आवतजावत, आर्थिक कारोबार र मनोरञ्जनका गतिविधिसँगै अपराधका जोखिम पनि बढ्ने भएकाले प्रहरीले जोखिम पहिचान गरेर योजना बनाउनु स्वाभाविक हो ।
यस पटक कर्णालीका १० जिल्लामा पाँच हजार तीन सय १४ प्रहरी जनशक्ति परिचालन गरिएको छ । एक हजार चार सय ६२ वटा ड्युटीमा खटाइने जनशक्तिमध्ये २८ वटा मोबाइल गस्ती, ९८ वटा मोटरसाइकल गस्ती, एक सय ४८ वटा पैदल गस्ती तथा दुई सय चार वटा लामो तथा छोटो दूरीका गस्ती सञ्चालन हुनेछन् । ६० वटा क्युआरटी, एक सय ७६ स्थानमा पिकेट र ६७ स्थानमा नियमित, विशेष तथा आकस्मिक चेकिङको व्यवस्था गरिएको छ । ४७ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ राखिनेछ । सुरक्षा योजनाले चोरी, लुटपाट, पाकेटमारीदेखि झैझगडा र हुलदंगा नियन्त्रणसम्मलाई प्राथमिकतामा राखेको छ । बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, बजार र बढी भिडभाड हुने क्षेत्रमा विशेष सुरक्षा परिचालन गरिनेछ । त्यसैगरी कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी, ठगी, बढी भाडा असुली र सवारी दुर्घटना नियन्त्रणमा पनि प्रहरीको ध्यान जाने बताइएको छ । अवैध हातहतियार, विस्फोटक पदार्थ, लागूऔषध, अवैध मदिरा, जुवातास, लंगुरबुर्जा तथा पटका र आतशबाजी नियन्त्रणका योजना पनि समेटिएका छन् । योजना आफैंमा पर्याप्त भने होइन । विगतमा पनि चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक हुँदै आएका छन् । चुनौती यसको कार्यान्वयनमा छ । विशेषगरी कर्णालीको भौगोलिक विकटता, कमजोर सडक पूर्वाधार, लामो दूरीको यात्रा र सीमित प्रहरी जनशक्तिलाई ध्यानमा राखेर परिचालन प्रभावकारी बनाउन आवश्यक छ । चाडपर्वमा नागरिकले सबैभन्दा बढी सामना गर्ने समस्या सार्वजनिक यातायात हो । क्षमताभन्दा बढी यात्रु बोक्ने, बढी भाडा असुल्ने, यात्रुलाई दुर्व्यवहार गर्ने र जोखिमपूर्ण तरिकाले सवारी चलाउने प्रवृत्तिमाथि निगरानी प्रभावकारी हुनुपर्छ ।
यात्रु सहायता कक्ष राखेर मात्र पुग्दैन, गुनासो आएपछि तत्काल सुनुवाइ र कारबाही पनि हुनुपर्छ । त्यस्तै, बजार अनुगमनलाई प्रहरीको सुरक्षा योजनासँग जोडेर प्रभावकारी बनाउनुपर्छ । चाडपर्वको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने वा उपभोक्तालाई ठगी गर्ने व्यवसायीमाथि सम्बन्धित निकायले तत्काल कारबाही गर्नुपर्छ । प्रहरीले ३८ स्थानमा महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा, ३७ स्थानमा यात्रु तथा नागरिक सहायता कक्ष र ३१ स्थानमा बैंक, वित्तीय संस्था सुरक्षा तथा बजार अनुगमन टोली परिचालन गर्ने जनाएको छ । यी संरचना नागरिकमैत्री र परिणाममुखी बन्न सके सुरक्षा योजना प्रभावकारी हुने छ । चाडपर्व नागरिकको खुसी, भेटघाट र सांस्कृतिक एकताको अवसर हो । त्यसैले सुरक्षा योजनाको अन्तिम लक्ष्य प्रहरीको उपस्थिति देखाउनु होइन, प्रहरीको उपस्थितिको अनुभूति नागरिकलाई गराउनु हुनुपर्छ । सुरक्षा योजना कार्यान्वयनमा कुनै कमजोरी नहोस् र कर्णालीवासीले ढुक्क भएर चाडपर्व मनाउन सकून् ।



