लामासिमको जंगलबाट चन्दननाथमा ५२ हाते लिङ्गो ल्याइयो

गाेल्डेन बुढा

जुम्ला,२२ असोज ।
बिहीबार बिहान चन्दननाथ नगरपालिका–३ लामासिमको जंगलमा काटिएका तीनवटा अग्ला काठ खलंगातर्फ झरे। बाटो उही थियो, गन्तव्य उही। तर लिङ्गो बोकेर आउने मानिस फेरिएका छन्। कुनै समय गाउँका तालुकदारको उर्दीपछि सयौँ गाउँले काँधमा लिङ्गो बोकेर जंगलबाट मन्दिरसम्म पुग्थे। अहिले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी र केही स्थानीयको सहभागितामा लिङ्गो मन्दिर ल्याइन्छ।जुम्लाको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरमा दसैं सुरु हुने संकेतसँगै दोहोरिने यो दृश्य एउटा धार्मिक परम्परा मात्र होइन, बदलिँदो सामाजिक संरचनाको कथा पनि हो। हरेक वर्ष ऋषिपञ्चमीका दिन लामासिमको जंगलबाट लिङ्गो काटिन्छ, त्रियादशीका दिन मन्दिरतर्फ ल्याइन्छ र औंसीका दिन त्यसको साइज मिलाउने परम्परा छ। घटस्थापनाको दिन विशेष साइत पारेर ५२ हाते लिङ्गो मन्दिर परिसरमा ठड्याइन्छ।वर्षमा ५२ साता हुने भएकाले चन्दननाथ मन्दिरमा ५२ हाते ध्वजासहित ५२ हाते लिङ्गो गाड्ने चलन बसेको स्थानीय संस्कृतिका जानकार रमानन्द आचार्य बताउँछन्।

मन्दिरमा दैनिक पूजापाठ हुने र सातामा एकपटक विशेष पूजा हुने भएकाले ५२ साता र ५२ हाते लिङ्गोलाई धार्मिक परम्परासँग जोडेर हेर्ने गरिएको छ।तर चन्दननाथको लिङ्गोको कथा यसको उचाइमा मात्र सीमित छैन। तीनवटा लिङ्गो ल्याउने पुरानो चलनले जुम्लाको तत्कालीन सामाजिक संरचनासमेत बोकेको छ। ‘थपला’, ‘पल्टन’ र ‘कुंशले’ गरी तीन लिङ्गो ल्याउने गरिन्थ्यो। थपला लिङ्गो ब्राह्मण र क्षेत्री समुदायका भक्तजनले, पल्टन लिङ्गो नेपाली सेना, राष्ट्रसेवक कर्मचारी र अधिकांश क्षेत्री गाउँका भक्तजनले तथा कुंशले लिङ्गो दलित बस्तीका भक्तजनले ल्याउने परम्परा थियो।‘पल्टन, थपला र कमसले लिङ्गो गरी तीन लिङ्गो जंगलबाट ल्याउने चलन हो,’ आचार्य भन्छन्, ‘पहिले समुदायअनुसार जिम्मेवारी तोकिएको थियो। अहिले त्यो परम्परा हराउँदै गएपछि सेना र प्रहरीले समेत सहयोग गर्न थालेका छन्।’लिङ्गो ल्याउने ठाउँ पनि संयोगले रोजिएको होइन। लामासिमको जंगलका लिङ्गा सोझा र मन्दिरसम्म ल्याउन सजिलो हुने भएकाले त्यहीँबाट ल्याउने गरिएको स्थानीय बताउँछन्। ऋषिपञ्चमीका दिन काटिएका लिङ्गा त्रियादशीका दिन जंगलबाट खलंगातर्फ ल्याइन्छन्। त्यसपछि औंसीमा तिनको साइज मिलाइन्छ। प्रतिपदा अर्थात् घटस्थापनाका दिन पातारासी गाउँपालिका–७ रिनी गाउँका भक्तजनले स्थानीय रातोमाटो अर्थात् गेरुले लिङ्गो रंग्याउने र लिपपोत गर्ने गर्छन्। मन्दिरको जग्गा परम्परादेखि भोगचलन गरेबापत रिनीवासीले यो जिम्मेवारी पूरा गर्दै आएका हुन्।
बिगुल बज्थ्यो, गाउँभरि उर्दी हुन्थ्याे


जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका लागि लिङ्गो ल्याउने दिन अहिलेभन्दा बिल्कुलै फरक थियो। दशकअघिसम्म बिहान ४ बजे नेपाली सेनाको बिगुल बज्थ्यो। बिगुल बजेलगत्तै गाउँका तालुकदार वा मुखियाले उर्दी गर्थे। गाउँले जम्मा हुन्थे। सरकारी बाजागाजासहित लिङ्गो लिन जंगलतर्फ जाने टोली तयार हुन्थ्यो।२०४६ देखि २०५९ सालसम्म भने वडा अध्यक्षले मानिस बोलाउने गर्थे। गाउँको सामूहिक सहभागितामा लिङ्गो ल्याउने परम्परा त्यसबेलासम्म बलियो थियो।‘बिहान ४ बजे ठीक सेनाको बिगुल बज्थ्यो। त्यसपछि गाउँका तालुकदार मुखियाले उर्दी गर्थे,’ गौरीनन्द आचार्य सम्झन्छन्, ‘सरकारी बाजागाजासहित लिङ्गो ल्याउन जाने गरिन्थ्यो। अहिले त्यो बोलाउने चलन हराइसकेको छ।’२०२० सालसम्म त लिङ्गो मानिसकै काँधमा बोकेर जंगलबाट मन्दिरसम्म ल्याइन्थ्यो। ठूलो काठ काँधमा बोकेर सयौँ मानिस खलंगातर्फ आउँदा त्यो धार्मिक अनुष्ठानभन्दा बढी सामूहिक उत्सवजस्तो देखिन्थ्यो। अहिले स्थानीयको सहभागिता घट्दै गएपछि डोरीको सहायताले तानेर ल्याउने गरिएको छ।
लिङ्गो उस्तै, परम्परा बदलिँदै
यसपटक सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय भक्तजनको सहभागितामा तीनवटै लिङ्गो लामासिमबाट मन्दिरसम्म ल्याइएको छ। मन्दिर पुर्‍याउँदा नेपाली सेनाले दत्तात्रेयको सलामीसमेत दिएको थियो। समन्वय प्रमुख गाैरीनन्द आचार्य,प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं सशस्त्र एसपी देवबहादुर बाेरा र जिल्ला प्रहरी सूचना अधिकारी शालिकराम खनाल,नागरिक समाज र स्थानीय भक्तजनकाे सहभागीता थियो।स्थानीय अगुवा चित्रलाल श्रेष्ठका अनुसार चन्दननाथ मन्दिरको स्थापनाकालदेखि नै ५२ हाते काठको लिङ्गो खडा गर्ने चलन छ।

घटस्थापनाका दिन विशेष साइत पारेर मन्दिरमा लिङ्गो ठड्याइन्छ।चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाका अनुसार लिङ्गो गाड्ने परम्परा स्थानीयका लागि विशेष पर्व हो। यही सांस्कृतिक अभ्यासलाई निरन्तरता दिन कर्णाली प्रदेश सरकारले लिङ्गो ल्याउने दिन सरकारी बिदासमेत दिने गरेको छ।तर परम्परा जोगिएको देखिए पनि त्यसको सामाजिक आधार भने कमजोर हुँदै गएको छ। पहिले समुदायअनुसार जिम्मेवारी थियो, गाउँअनुसार सहभागिता थियो र मानिस बोलाउन उर्दी हुन्थ्यो। अहिले त्यो सामूहिक परिचालन हराउँदै गएको छ। लिङ्गो ल्याउने जिम्मेवारी विस्तारै सुरक्षा निकाय र राष्ट्रसेवकतर्फ सर्दै गएको छ।

लामासिमको जंगलबाट चन्दननाथमा ५२ हाते लिङ्गो ल्याइयो

बर्दियामा बढ्दो विषादी प्रयोग : उत्पादनसँगै स्वास्थ्य

लामासिमको जंगलबाट चन्दननाथमा ५२ हाते लिङ्गो ल्याइयो

घुयँत्राे:गगनले रुख बोकेपछि देउबाको हातमा बाँकी शंख

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!