बर्दियामा बढ्दो विषादी प्रयोग : उत्पादनसँगै स्वास्थ्य र वातावरणको चिन्ता

बर्दिया,२२असोज ।
अन्न उत्पादनका दृष्टिले महत्वपूर्ण जिल्लाका रूपमा परिचित बर्दियामा कृषि उत्पादन बढ्दै जाँदा बालीमा रासायनिक विषादीको प्रयोग पनि बढ्दै गएको छ। धान, गहुँ र मकैसँगै विभिन्न प्रकारका फलफूल तथा तरकारी उत्पादन हुने बर्दियामा रोग तथा किराको नियन्त्रणका लागि किसानले रासायनिक विषादी प्रयोग गर्ने क्रम बढेको हो।
कृषि उत्पादन र खाद्य सुरक्षामा महत्वपूर्ण योगदान दिँदै आएको बर्दियामा विषादीको प्रयोग आवश्यकताअनुसार सही मात्रा, सही समयमा र सुरक्षित तरिकाले भइरहेको छ कि छैन भन्ने विषय भने चिन्ताको विषय बन्न थालेको छ। विशेषगरी व्यावसायिक रूपमा खेती गर्ने किसानले उत्पादन जोगाउन र रोग–कीराबाट हुने क्षति न्यूनीकरण गर्न विभिन्न प्रकारका रासायनिक विषादी प्रयोग गर्ने गरेका छन्।
तर विषादी प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, प्रयोग गर्ने मात्रा, छर्कने उपयुक्त समय तथा विषादी प्रयोग गरिसकेपछि कृषि उपज बजारमा लैजान वा उपभोग गर्नुअघि कुर्नुपर्ने अवधिबारे सबै किसान पूर्ण रूपमा जानकार नहुँदा जोखिम बढ्न सक्ने देखिएको छ।
राजापुरका कृषक दिनेश थारु बालीमा रोग तथा किरा लाग्दा उत्पादन जोगाउन विषादी प्रयोग गर्नुपर्ने अवस्था आउने गरेको बताउनुहुन्छ। उत्पादन जोगाउन विषादी प्रयोग गरे पनि त्यसको सुरक्षित प्रयोग र मानव स्वास्थ्यमा पर्न सक्ने असरबारे थप जानकारी आवश्यक रहेको उहाँको भनाइ छ।
“बालीमा रोग–किरा लागेपछि विषादी प्रयोग गर्नैपर्ने अवस्था आउँछ। तर कति मात्रा प्रयोग गर्ने, कति दिनपछि बाली टिप्ने र छर्कने बेला के–कस्ता सुरक्षा अपनाउने भन्ने विषयमा अझै धेरै जानकारी आवश्यक छ,” उहाँ बताउनुहुन्छ।
किसानले उत्पादन बढाउन र बाली जोगाउन विषादी प्रयोग गरे पनि यसको असुरक्षित प्रयोगले किसान स्वयं, कृषि उपज उपभोग गर्ने उपभोक्ता तथा वातावरणमा प्रत्यक्ष र अप्रत्यक्ष असर पार्न सक्ने स्वास्थ्यकर्मी तथा सरोकारवालाहरू बताउँछन्।
विषादी छर्कने क्रममा मास्क, पञ्जा, जुत्ता तथा अन्य आवश्यक सुरक्षा सामग्री प्रयोग नगर्नु, सिफारिस गरिएको मात्राभन्दा बढी विषादी प्रयोग गर्नु, छर्कने समयको ख्याल नगर्नु तथा विषादी प्रयोग गरेको छोटो समयमै कृषि उपज बजारमा लैजानुले जोखिम बढाउन सक्ने उनीहरूको भनाइ छ।
त्यसैगरी विषादीका खाली बट्टा, बोतल तथा प्याकेट जथाभावी फाल्ने र पानीका स्रोत नजिकै विसर्जन गर्ने प्रवृत्तिले वातावरण तथा मानव स्वास्थ्यमा थप असर पार्न सक्ने देखिन्छ।
राजापुर नगरपालिका बर्दियाका स्वास्थ्य शाखा प्रमुख गणेशप्रसाद अर्याल विषादीको सुरक्षित प्रयोगसँगै त्यसबाट जनस्वास्थ्यमा पर्न सक्ने असरबारे किसान तथा उपभोक्तालाई सचेत बनाउन आवश्यक रहेको बताउनुहुन्छ।
उहाँका अनुसार विषादीको असुरक्षित प्रयोग तत्कालै मात्र नभई दीर्घकालमा समेत स्वास्थ्यसँग सम्बन्धित समस्या निम्त्याउने जोखिम हुने भएकाले यसको प्रयोगमा विशेष सावधानी अपनाउन आवश्यक छ। किसानलाई विषादी प्रयोगका सुरक्षित विधिबारे नियमित रूपमा जानकारी गराउने र उपभोक्तालाई पनि कृषि उपज खरिद तथा उपभोग गर्दा सचेत बनाउने आवश्यकता रहेको उहाँको भनाइ छ।
बर्दियामा व्यावसायिक कृषि विस्तारसँगै विभिन्न स्थानमा रासायनिक विषादीको प्रयोग भइरहेको छ। तर विषादी प्रयोग गर्दा किसानले अपनाउनुपर्ने सुरक्षाका उपायमा भने अझै पर्याप्त ध्यान पुग्न नसकेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले जनाएको छ।
कार्यालयका सूचना अधिकारी फुर्तुमान चौधरीका अनुसार विषादी प्रयोग गर्ने किसानमध्ये करिब दुई प्रतिशतले मात्र आवश्यक सुरक्षाका उपाय अपनाउने गरेका छन्। यसले बर्दियामा विषादीको प्रयोगको अवस्था मात्र नभई किसानलाई सुरक्षित प्रयोगका विधिबारे थप प्राविधिक जानकारी र परामर्श दिनुपर्ने आवश्यकता समेत देखाएको उहाँ बताउनुहुन्छ।
कृषि उत्पादनमा रोग तथा किराको प्रकोप नियन्त्रणका लागि विषादीको प्रयोग कतिपय अवस्थामा आवश्यक हुन सक्छ। तर विषादीलाई उत्पादन बढाउने सामान्य माध्यमका रूपमा नभई आवश्यकताका आधारमा मात्र प्रयोग गर्ने वातावरण बनाउनुपर्ने कृषि प्राविधिकहरूको भनाइ छ।
बालीमा रोग वा किरा लागेको अवस्थामा पहिले त्यसको पहिचान गर्ने, सम्भव भएसम्म जैविक तथा अन्य वैकल्पिक उपाय अपनाउने र विषादी प्रयोग गर्नैपर्ने अवस्था आएमा कृषि प्राविधिकको सल्लाहअनुसार मात्र उपयुक्त विषादी र सही मात्रा प्रयोग गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।
विषादी छर्कँदा मास्क, पञ्जा, जुत्ता तथा शरीर ढाक्ने कपडा प्रयोग गर्ने, हावाको दिशा हेरेर छर्कने, बालबालिका तथा अन्य व्यक्तिलाई विषादी छर्कने स्थानबाट टाढा राख्ने र विषादी प्रयोग गरेपछि सिफारिस गरिएको अवधिसम्म कृषि उपज टिपेर बिक्री वा उपभोग नगर्ने विषयमा पनि किसानलाई नियमित रूपमा सचेत गराउन आवश्यक देखिएको छ।
त्यसैगरी विषादीका खाली बट्टा तथा प्याकेट पुनः प्रयोग नगर्ने, जथाभावी नफाल्ने र पानीका स्रोत तथा खेतीयोग्य जमिनमा असर नपर्ने गरी सुरक्षित व्यवस्थापन गर्ने प्रणाली विकास गर्नुपर्ने आवश्यकता छ।
विषादीको सुरक्षित प्रयोगका लागि स्थानीय तह, कृषि प्राविधिक, स्वास्थ्य संस्था, किसानका समूह तथा सम्बन्धित सरकारी निकायबीच समन्वय बढाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ। किसानलाई तालिम र प्राविधिक परामर्श दिने मात्र नभई बजारमा बिक्री हुने विषादीको अनुगमन र कृषि उपजमा विषादीको अवशेष परीक्षणलाई समेत प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।
कृषि उत्पादन बढाउनु बर्दियाका किसानका लागि मात्र होइन, जिल्लाको अर्थतन्त्र र खाद्य सुरक्षाका लागि पनि महत्वपूर्ण छ। तर उत्पादन बढाउने नाममा विषादीको असुरक्षित प्रयोग बढ्दै जाने हो भने त्यसको असर किसान, उपभोक्ता र वातावरण सबैमा पर्न सक्ने जोखिम रहन्छ।
त्यसैले ‘अन्न भण्डार’का रूपमा परिचित बर्दियामा कृषि उत्पादनको वृद्धि र खाद्य सुरक्षालाई निरन्तरता दिँदै उत्पादनसँगै कृषि उपजको गुणस्तर, किसानको स्वास्थ्य, उपभोक्ताको सुरक्षा र वातावरण संरक्षणलाई पनि समान प्राथमिकता दिनुपर्ने देखिन्छ।
विषादीको प्रयोग पूर्ण रूपमा रोक्नु तत्काल सम्भव नहुन सक्छ। तर आवश्यकताका आधारमा मात्र प्रयोग गर्ने, सही मात्रा र सही समयमा प्रयोग गर्ने, सुरक्षित विधि अपनाउने, विषादी प्रयोगपछि तोकिएको अवधिसम्म कृषि उपज बिक्री तथा उपभोग नगर्ने र विषादीजन्य फोहोरको उचित व्यवस्थापन गर्ने अभ्यासलाई प्रभावकारी बनाउन सकिन्छ।
किसानलाई नियमित प्राविधिक परामर्श, सुरक्षित विषादी प्रयोगसम्बन्धी तालिम, कृषि उपजको परीक्षण तथा प्रभावकारी अनुगमनलाई सँगसँगै अघि बढाउन सके बर्दियाको कृषि उत्पादनलाई अझ सुरक्षित, गुणस्तरीय र दिगो बनाउन सकिने देखिन्छ। अन्न उत्पादनमा अग्रणी बर्दियाको पहिचानलाई कायम राख्न अब उत्पादनको परिमाणसँगै ‘कति सुरक्षित उत्पादन भयो’ भन्ने प्रश्नलाई पनि उत्तिकै महत्व दिनुपर्ने देखिएको छ।

बर्दियामा बढ्दो विषादी प्रयोग : उत्पादनसँगै स्वास्थ्य र वातावरणको चिन्ता

दलित बालिकाका माग सम्बोधन गर्न प्रदेश सरकार

बर्दियामा बढ्दो विषादी प्रयोग : उत्पादनसँगै स्वास्थ्य र वातावरणको चिन्ता

बर्दियामा बढ्दो विषादी प्रयोग : उत्पादनसँगै स्वास्थ्य

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!