पैसाको लोभले उजाडिँदै दैलेखका वन, चुत्रोको जरा उखेलिँदा हरियाली संकटमा

दैलेख ,२३ पुस।
केही महिनाअघि चुत्रो फुलेर पहेँलै देखिने दैलेखका अधिकांश गाउँ अहिले नाङ्गा पहाडजस्तै देखिन थालेका छन् । वनसँगै जीवन बिताउँदै आएका स्थानीय बासिन्दा आज उजाडिँदै गएको हरियाली देखेर चिन्तित बनेका छन् । वन विनाशको मुख्य कारण बनेको छ—चुत्रोको जरा ।
पछिल्लो समय चुत्रोको जरा प्रतिकेजी १५ देखि २५ रुपैयाँसम्ममा बिक्री हुन थालेपछि पैसाको लोभमा दैलेखका विभिन्न वडामा जरा उखेल्ने क्रम तीव्र बनेको छ । जङ्गलमा आफैँ उम्रने चुत्रो केही वर्षअघि कसैको चासोको विषय थिएन । तर अहिले बजार मूल्य बढेसँगै स्थानीयको आम्दानीको स्रोत बनेपछि वन उजाडिँदै गएको हो ।
भगवतीमाई गाउँपालिका–२ का स्थानीय डिलबहादुर तिरुवाका अनुसार अहिले गाउँको अवस्था नै फेरिएको छ । “बिहान कसैको घरमा जाँदा बालबालिकाबाहेक कोही भेटिँदैनन्,” उहाँले भन्नुभयो, “सबै जङ्गलमा चुत्रोको जरा खन्न व्यस्त छन् । घरखर्च चलाउन र दैनिकी धान्न चुत्रो नै सहारा भएपछि वन उजाडिने क्रम बढेको छ ।”
उहाँका अनुसार अहिले गाउँका व्यक्तिगत जग्गा मात्र होइन, सार्वजनिक जग्गामा समेत चुत्रोको बोट भेट्टाउन मुस्किल भएको छ । “जहाँ भेटिन्थ्यो, सबै खनेर सकिन लागिसक्यो,” उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
वन क्षेत्रमा व्यापक जरा उखेलिँदा माटोको संरक्षण, जैविक विविधता र प्राकृतिक सौन्दर्यमा समेत नकारात्मक असर परेको स्थानीयको गुनासो छ । चुत्रो जरा उखेल्दा माटो खुकुलो भई पहिरोको जोखिम बढ्ने र भविष्यमा वन पुनःउत्पादनमा कठिनाइ आउने जानकारहरू बताउँछन् ।
यसैबीच, डिभिजन वन कार्यालय दैलेखले स्थिति गम्भीर बन्दै गएको स्वीकार गरेको छ । डिभिजन वन अधिकृत अमरप्रसाद साहका अनुसार चुत्रो निकासीका लागि केही दिनअघि दिइएको अनुमति तत्कालका लागि स्थगन गर्ने तयारी गरिएको छ । अनियन्त्रित रूपमा जरा उखेलिँदा वन विनाश तीव्र बनेकाले नियन्त्रणका उपाय अपनाउन लागिएको उहाँले बताउनुभयो ।
स्थानीय तह र वन कार्यालयले वैकल्पिक आयआर्जनका कार्यक्रम अघि नबढाएसम्म वन संरक्षणमा चुनौती कायमै रहने सरोकारवालाको भनाइ छ । तत्काल नियन्त्रण र दीर्घकालीन व्यवस्थापन नभए दैलेखका हरिया डाँडाकाँडा पूर्ण रूपमा उजाडिने खतरा बढ्दै गएको छ ।






