बजेट सीमित हुँदा चुनौती, तर प्रभावकारी बन्दै कर्णालीको दीर्घरोगी उपचार सहुलियत कार्यक्रम

सुर्खेत ,२३ पुस।

कर्णाली प्रदेश सरकारले गत वर्षदेखि लागू गरेको दीर्घरोगी उपचार सहुलियत कार्यक्रम क्रमशः प्रभावकारी बन्दै गएको छ । प्रदेश सरकारले विपन्न नागरिक उपचार निर्देशिका, २०८१ जारी गरी दीर्घरोगीलाई उपचारमा सहुलियत प्रदान गर्न थालेको हो । कार्यक्रमले सकारात्मक प्रभाव देखाए पनि सीमित बजेटका कारण अपेक्षित संख्यामा दीर्घरोगी समेटिन नसकेको देखिएको छ ।
प्रत्येक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिँदै आएको यो योजना गत वर्ष निर्देशिका जारी भएसँगै थप व्यवस्थित र प्रभावकारी बनेको हो । हाल सेवा लिन आउने नागरिकको सङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको प्रदेश सरकारले जनाएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमा पनि बिरामीलाई उपचारमा सहुलियत दिने योजना निरन्तरता दिइएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार मुटुरोग, मिर्गौला प्रत्यारोपण, क्यान्सर तथा स्पाइनल इन्जुरी (प्यारालाइसिस) का बिरामीलाई शल्यक्रिया गर्दा मात्र उपचार सहुलियत उपलब्ध गराइँदै आएको छ । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीका अनुसार वास्तविक बिरामी र ठूला शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीलाई केन्द्रमा राखेर मात्र सहुलियत दिइएको हो । “मेजर अपरेसन गर्नुपर्ने बिरामीलाई मात्र उपचार सहुलियत उपलब्ध गराइन्छ,” उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्षसम्म जिल्लागत आधारमा सहुलियत वितरण गरिएको थियो ।
जिल्लाअनुसार फरक–फरक दरमा यातायात सहुलियत उपलब्ध गराइएको छ । दैलेख, सुर्खेत र सल्यानका बिरामीलाई २० हजार, जाजरकोट, कालीकोट, रुकुमपश्चिम र जुम्लाका बिरामीलाई २५ हजार तथा मुगु, डोल्पा र हुम्लाका बिरामीलाई ३० हजार रुपैयाँका दरले यातायात सहुलियत दिइएको शाहीले जानकारी दिनुभयो । उपचार सहुलियत निर्देशिका लागू भएपछि वितरण प्रणाली अझ प्रभावकारी बनेको मन्त्रालयको दाबी छ ।
पछिल्लो समय कर्णालीमा नसर्ने रोगका बिरामी बढ्दै गएका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार तीमध्ये क्यान्सरका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ । चालु आर्थिक वर्षमा क्यान्सरका बिरामीको उपचार सहुलियतका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ, जसको कार्यान्वयन निर्देशनालयले गर्नेछ । त्यस्तै, मुटु, मिर्गौला प्रत्यारोपण र स्पाइनल इन्जुरी (प्यारालाइसिस) का बिरामीका लागि पनि थप एक करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
प्रदेश अस्पताल सुर्खेतमा दैनिक आउने बिरामीमध्ये तीनदेखि चार जनामा क्यान्सर देखिने गरेको अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. केएन पौडेलले बताउनुभयो । दैनिक चेकजाँचका क्रममा १०–१२ जना क्यान्सरका बिरामी फेला पर्ने गरेको उहाँको भनाइ छ । प्रारम्भिक लक्षण देखिएका बिरामीलाई आवश्यक उपचारका लागि सम्बन्धित स्थानमा रेफर गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । अस्वस्थ खानपान र जीवनशैलीका कारण क्यान्सरको जोखिम बढिरहेको डा. पौडेलको निष्कर्ष छ ।
कार्यक्रम प्रभावकारी बन्दै गए पनि बजेटको अभावले सबै दीर्घरोगीलाई समेट्न नसकिएको सरोकारवालाको गुनासो छ । आगामी दिनमा बजेट वृद्धि र सेवा विस्तार गर्न सके कर्णालीका विपन्न दीर्घरोगीका लागि यो कार्यक्रम अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

बजेट सीमित हुँदा चुनौती, तर प्रभावकारी बन्दै कर्णालीको दीर्घरोगी उपचार सहुलियत कार्यक्रम

पैसाको लोभले उजाडिँदै दैलेखका वन, चुत्रोको जरा

Leave a comment

Your email address will not be published. Required fields are marked *