कर्णाली सरकारकाे नीति तथा कार्यक्रम भाेली सार्वजनिक हुने

सुर्खेत, १९ जेठ ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न स्वीकृति दिएको छ । मंगलबार बेलुका ६ बजे बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता विनाेदकुमार शाहका अनुसार उक्त नीति तथा कार्यक्रम माननीय प्रदेश प्रमुखबाट बुधबार दिउँसो ३ बजे प्रदेश सभामा प्रस्तुत गरिनेछ ।
यस्तै, बैठकले सशस्त्र सङ्घर्ष, जनआन्दोलन तथा प्रदेश प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरण गर्न आवश्यक बजेट निकासा गर्ने निर्णय पनि गरेको छ।
निर्णयअनुसार घाइते व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता उपलब्ध गराउन ४ करोड ७४ लाख ७२ हजार रुपैयाँ बराबरको रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सम्बन्धित स्थानीय तहहरूलाई अख्तियारी प्रदान गरिने छ । प्रदेश सरकारले उक्त रकम सम्बन्धित स्थानीय तहमार्फत वितरण गरी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई राहत तथा सम्मानस्वरूप जीवन निर्वाहमा सहयोग पुर्याउने जनाएको छ ।






