जुम्लाका सबै मतदान केन्द्रमा सामग्री पुग्यो

गाेल्डेन बुढा
जुम्ला ,१८ फाल्गुन ।
प्रतिनिधिसभा निर्वाचनका लागि जुम्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्। भौगोलिक रूपमा दुर्गम मानिने स्थानसमेत समेटेर जिल्लाका दुई अस्थायी सहित १ सय १० वटै मतदान केन्द्रमा निर्वाचन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन प्रशासनले जनाएको छ।जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कंडेलका अनुसार जिल्ला निर्वाचन कार्यालय जुम्लाबाट पठाइएका मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री लिएर खटिएका कर्मचारीहरू सोमबारसम्म आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेका हुन्। “निर्वाचनका लागि चाहिने सबै सामग्री सुरक्षित रूपमा केन्द्रसम्म पुर्याइएको छ,” उनले भने।मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार मतदान अधिकृतको नेतृत्वमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पनि सबै केन्द्रमा पुगेका छन्। उनका अनुसार निर्वाचनका लागि आवश्यक मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र मतपत्रबाहेकका ५१ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालय जुम्लाबाट मतदान अधिकृतलाई बुझाइएको हो।जिल्लामा ८५ वटा मतदानस्थल रहेका छन्।
ती मतदानस्थलअन्तर्गत १ सय १० मतदान केन्द्रमध्ये ५२ वटा अति संवेदनशील, २५ वटा संवेदनशील र २१ वटा सामान्य श्रेणीमा छन्। यस्तै ८५ मतदानस्थलमध्ये ५२ अति संवेदनशील, १८ संवेदनशील र १५ वटा सामान्य छन्।भौगोलिक विकटता, सञ्चार पहुँचको अभाव, मतदान केन्द्रको भौतिक अवस्था, सडक सञ्जाल, खानेपानी तथा विद्युत् व्यवस्थाजस्ता चुनौतीलाई आधार मानेर मतदानस्थल र मतदान केन्द्रको सुरक्षा वर्गीकरण गरिएको निर्वाचनले जनाएको छ।निर्वाचन सम्पन्न गराउन जुम्लामा ६ सय ४८ जना कर्मचारी परिचालन गरिएको छ। प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक कार्यालय सहयोगी खटाइएको छ। यसअनुसार केन्द्रस्तरमा मात्र २ सय २० जना कर्मचारी परिचालित छन्।जुम्लामा कुल मतदाता संख्या ७१ हजार ७ सय ३९ छ। निर्वाचन अधिकारी कंडेलका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदातालाई समेट्दा उक्त संख्या कायम भएको हो। तीमध्ये ३४ हजार २ सय ८० जना महिला र ३७ हजार ४ सय ५९ जना पुरुष मतदाता छन्।हिमा गाउँपालिकामा ६ हजार ६ सय ९५ मतदाता (पुरुष ३ हजार ५ सय ९, महिला ३ हजार १ सय ८६), सिंजा गाउँपालिकामा ८ हजार ४ सय ७७ (पुरुष ४ हजार ५ सय ३८, महिला ३ हजार ९ सय ३९), कनकासुन्दरी गाउँपालिकामा ९ हजार ४ सय ४१ (पुरुष ५ हजार ६५, महिला ४ हजार ३ सय ७६) र गुठिचौर गाउँपालिकामा ६ हजार ९ सय ४३ मतदाता (पुरुष ३ हजार ६ सय १६, महिला ३ हजार ३ सय २७) रहेका छन्।त्यसैगरी, चन्दननाथ नगरपालिकामा १२ हजार ९ सय ४१ मतदाता छन्। जसमा ६ हजार ५ सय ३६ महिला र ६ हजार ४ सय ५ पुरुष रहेका छन्। तातोपानी गाउँपालिकामा ९ हजार ८ सय ३८ (महिला ४ हजार ६ सय ७७, पुरुष ५ हजार १ सय ५७), तिला गाउँपालिकामा ८ हजार ४ सय ६६ (महिला ३ हजार ९ सय ९४, पुरुष ४ हजार ४ सय ७२) र पातारासी गाउँपालिकामा ८ हजार ९ सय ४२ मतदाता (महिला ४ हजार २ सय ४५, पुरुष ४ हजार ६ सय ९७) रहेका छन्।२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता थिए। अघिल्लो निर्वाचनको तुलनामा यसपटक ३ हजार १ सय १ जना नयाँ मतदाता थपिएका छन्। तीमध्ये १ हजार ७ सय ५९ जना पुरुष र १ हजार ३ सय ४२ जना महिला हुन्।सबै मतदान केन्द्रमा सामग्री र जनशक्ति पुगेपछि सुरक्षा व्यवस्थालाई पनि केन्द्रित रूपमा परिचालन गरिएको छ।
सुरक्षा विश्लेषणका आधारमा १ हजार ३ सयभन्दा बढी नेपाल प्रहरी, ८ सय ७४ निर्वाचन प्रहरी, ४ सय सशस्त्र प्रहरी बल, ९५ जना शस्त्र निर्वाचन प्रहरी बल तथा आवश्यकताअनुसार नेपाली सेना परिचालन गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए।निर्वाचनका लागि जुम्लामा प्रत्यक्षतर्फ ७७ हजार र समानुपातिकतर्फ ८० हजार मतपत्र ल्याइएको छ। एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार मतदानस्थलको भित्री सुरक्षा घेरामा नेपाल प्रहरी खटिनेछ। पहिलो तहको सुरक्षा घेरामा निर्वाचन प्रहरी, दोस्रो तहमा सशस्त्र प्रहरी बल र बाहिरी सुरक्षा घेराबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्ने छ।






