जुम्लामा ९२५ अस्थायी मतदाता, दुई केन्द्रबाट मतदान गर्ने व्यवस्था

काली बहादुर परियार
जुम्ला ,१८ फाल्गुन ।

प्रतिनिधि सदस्य निर्वाचन नजिकिँदै जाँदा हिमाली जिल्ला जुम्लामा अस्थायी मतदाताको संख्या ९२५ पुगेको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण गरेको जनाएको छ।

जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कंडेलका अनुसार अस्थायी मतदातामा सरकारी कर्मचारी, सुरक्षा निकायका कर्मचारी तथा जिल्ला कारागारमा रहेका कैदीबन्दी समेटिएका छन् । उनीहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

निर्वाचनमा खटिएका कर्मचारीलाई आफू खटिएको स्थानमै मतदान गर्न पाउने सुविधा दिइएको छ । अन्य अस्थायी मतदाताका लागि भने सदरमुकाम खलङ्गा बजारस्थित खाद्य तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय परिसर र जिल्ला कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले स्पष्ट पारेको छ।

यसपटक जुम्लामा कुल ७१ हजार ७३९ मतदाता रहेका छन्, जसमा पुरुष र महिला दुवैको सहभागिता रहनेछ। निर्वाचन व्यवस्थापनका लागि ६५४ जना कर्मचारी परिचालन गरिएका छन् ।

जिल्लाभर ८५ मतदानस्थलअन्तर्गत ११० मतदान केन्द्र कायम गरिएको छ। दुर्गम भौगोलिक अवस्थाका बाबजुद मतदातालाई सहज रूपमा मतदान गराउने तयारी तीव्र पारिएको निर्वाचन कार्यालयले जनाएको छ ।

जुम्ला जिल्लामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ। उक्त क्षेत्रमा नौ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवारसहित १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचन प्रचारप्रसार अन्तिम चरणमा पुगेसँगै दल तथा उम्मेदवारहरू मतदाता आकर्षित गर्न सक्रिय बनेका छन् ।

निर्वाचन कार्यालयले शान्त, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न सबै पक्षसँग सहकार्य गरिरहेको जनाएको छ। साथै, मतदातालाई तोकिएको समयमै मतदान केन्द्रमा पुगेर आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न आग्रह गरिएको छ।

अस्थायी मतदाताका लागि गरिएको विशेष व्यवस्थाले निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने जोखिम घटाएको अधिकारीहरूको विश्वास छ। यसले लोकतन्त्रको अभ्यासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

जुम्लामा ९२५ अस्थायी मतदाता, दुई केन्द्रबाट मतदान गर्ने व्यवस्था

स्वच्छ र भयरहित निर्वाचनका लागि सार्वजनिक सरोकार

जुम्लामा ९२५ अस्थायी मतदाता, दुई केन्द्रबाट मतदान गर्ने व्यवस्था

जुम्लाका सबै मतदान केन्द्रमा सामग्री पुग्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds