दाङ–१ मा चार दलीय भिडन्त, थारु मत विभाजन र सीमा समस्याले चुनावी नतिजा अनिश्चित

दाङ ,१९ माघ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। चोक–गल्लीदेखि चिया पसलसम्म ‘कसले बाजी मार्ला ?’ भन्ने चर्चा सुरु भएसँगै यो क्षेत्र राष्ट्रिय चासोको केन्द्रमा पर्न थालेको छ।

यसपटक दाङ–१ को चुनावी माहोल सहज रूपमा आङ्कलन गर्न सकिने अवस्थामा छैन। परम्परागत दुई दलीय प्रतिस्पर्धालाई तोड्दै यहाँ चार प्रमुख राजनीतिक शक्तिबीच कडा भिडन्त देखिएको छ। नेपाली काँग्रेसका योगेन्द्र चौधरी, नेकपा एमालेका रेवतीरमण शर्मा, नेकपाका पूर्व शहरी विकास मन्त्री मेटमणि चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकबीचको चौपक्षीय प्रतिस्पर्धाले निर्वाचनलाई निकै रोचक बनाएको छ।
दाङ–१ ऐतिहासिक रूपमा नेपाली काँग्रेसको बलियो गढ मानिँदै आएको क्षेत्र हो। स्वर्गीय खुमबहादुर खड्काको गृह जिल्ला भएकाले काँग्रेसको संगठनात्मक जरा यहाँ गहिरो छ। यही राजनीतिक विरासत जोगाउने जिम्मेवारी काँग्रेस उम्मेदवार योगेन्द्र चौधरीको काँधमा आएको छ। तर, यसपटक परिस्थिति काँग्रेसका लागि सहज देखिँदैन।
२०७९ सालको स्थानीय तह निर्वाचनलाई हेर्ने हो भने दाङ–१ भित्रका चार पालिकामध्ये दुई पालिका तत्कालीन नेकपा माओवादी केन्द्रले जितेका थिए भने दुई पालिका नेपाली काँग्रेसले हात पारेको थियो। यसले क्षेत्रको शक्ति सन्तुलन लगभग बराबरी देखिए पनि पछिल्ला दिनमा मतदाताको मनोविज्ञान फेरिँदै गएको संकेत स्थानीय स्तरमै देखिन थालेको छ।
थारु समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा अधिकांश मतदाताले मुख्य प्रतिस्पर्धा मेटमणि चौधरी र योगेन्द्र चौधरीबीच हुने आकलन गरेका छन्। यद्यपि एमालेका रेवतीरमण शर्मा र रास्वपाका देवराज पाठकलाई पनि कमजोर उम्मेदवारका रूपमा लिइएको छैन। थारु उम्मेदवारहरूको संख्या बढी भएकाले थारु मत विभाजन हुने सम्भावना रहेको स्थानीयको बुझाइ छ, जसले गैर–थारु उम्मेदवारलाई फाइदा पुग्न सक्ने अनुमान गरिएको छ।
संगठनात्मक हिसाबले नेपाली काँग्रेस र एमाले यस क्षेत्रमा बलिया मानिन्छन् भने नेकपाको प्रभाव पनि उल्लेखनीय छ। नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकलाई परिवर्तनको आशा गर्ने मतदाताले चासोका साथ हेरिरहेका छन्।
उता, नेकपा एमालेका उम्मेदवार रेवतीरमण शर्मा त्यागी र सादगी नेताको छविका कारण परिचित छन्। लामो राजनीतिक अनुभव र स्थिर छविले उनलाई भरोसायोग्य उम्मेदवारका रूपमा उभ्याएको छ। नेकपाका उम्मेदवार मेटमणि चौधरी भने संघीय मन्त्रीको अनुभव बोकेका प्रभावशाली अनुहार हुन्। संगठन र पहुँचका आधारमा उनले कडा टक्कर दिने अनुमान गरिएको छ। तर, गत निर्वाचनमा गरेका प्रतिबद्धता पूरा नभएको भन्दै केही मतदाताले गुनासो समेत व्यक्त गरेका छन्।
दाङ क्षेत्र नम्बर १ अन्तर्गत नेपाल–भारत सीमा जोडिएका २२ वटा नाका पर्दछन्। सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिक अझै पनि सडक, खानेपानी र स्वास्थ्य सेवाको अभावमा भारतमा निर्भर भएर बाँच्न बाध्य छन्। चुनावताका मात्र उम्मेदवार देखिने र जितेपछि फर्केर नआउने गुनासो उनीहरूले खुलेर पोख्ने गरेका छन्।

यसैबीच, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रिएपछि चुनावी समीकरण थप रोचक बनेको छ। आफ्नो कार्यकालमा प्रदेश राजधानी देउखुरी सारेर यस क्षेत्रलाई प्रत्यक्ष लाभ दिलाएको दाबी गर्दै उनले उल्लेख्य मत ल्याउने आत्मविश्वास व्यक्त गरेका छन्।
हाल सबै उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो अभियान र विभिन्न छलफलमा व्यस्त छन्। चौपक्षीय प्रतिस्पर्धा, जातीय मत विभाजन र विकासप्रतिको असन्तुष्टिले दाङ–१ को नतिजा अन्तिम समयसम्म अनिश्चित रहने देखिएको छ।

दाङ–१ मा चार दलीय भिडन्त, थारु मत विभाजन र सीमा समस्याले चुनावी नतिजा अनिश्चित

विकासका वाचा होइन, विचारको संवाद: किताब बेच्दै

दाङ–१ मा चार दलीय भिडन्त, थारु मत विभाजन र सीमा समस्याले चुनावी नतिजा अनिश्चित

लुम्बिनी प्रदेशमा भोलि माघ २१ गते सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *