अपांगता भएका व्यक्तिका लागि नेपालगञ्ज उपमहानगरको अभिनव पहल: ‘ग’ वर्गका अपांग नागरिकको निःशुल्क स्वास्थ्य बीमा सुरु

बाँके ,३ असार।
नेपालगन्ज उपमहानगरपालिकाले लुम्बिनी प्रदेशमै पहिलोपटक ‘ग’ वर्गका अपांगता भएका नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ। नगरभित्रका १९२ परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गराई बीमा कार्ड वितरण गरिएको हो।
नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, वडा नं. ४ का अध्यक्ष गोपाल पुन, कार्यपालिका सदस्य मुजम्मिल हुसेन हलवाई, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पबित्रा कुमारी पुरी, स्वास्थ्य बीमा बोर्ड बाँकेका जिल्ला संयोजक रमेश आचार्यलगायतले एक कार्यक्रमबीच बीमितहरुलाई बीमा कार्ड हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा नगर प्रमुख विष्टले ‘ग’ वर्गका अपांगता भएका व्यक्तिहरूले राज्यबाट अपेक्षित सेवा सुविधा नपाइरहेका कारण औषधि उपचारमा सहज होस् भन्ने उद्देश्यले उपमहानगरले निःशुल्क बीमा गरिदिएको जानकारी दिनुभयो। उहाँले यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै ‘अल्बिनो’ भएका व्यक्तिहरुको पनि स्वास्थ्य बीमा गरिने घोषणा गर्नुभयो।
उपप्रमुख राईले आफ्नो कार्यकालभरि बीमा कार्यक्रमलाई सुदृढ रूपमा अघि बढाउने बताउनुभयो। स्वास्थ्य बीमा बोर्डका संयोजक आचार्यले बीमाको प्रकृया र लाभबारे सहभागीहरुलाई जानकारी गराउनुभयो। महिला विकास अधिकृत आशा कुमारी शाहीका अनुसार बीमा भदौ १ गतेदेखि लागू हुनेछ।
स्वास्थ्य बीमामा ५ जनासम्मको परिवारका लागि वार्षिक ३५०० रुपैयाँ र ५ जनाभन्दा बढी सदस्य भएको परिवारमा प्रति थप सदस्य ७ सय रुपैयाँ शुल्क लाग्नेछ। तर ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक, अति गरिब, अति अशक्त, अपांगता भएका, कुष्ठरोगी, एमडीआर, टिबी र एचआइभी संक्रमित बिरामी भएका परिवारलाई पूर्ण छुटको व्यवस्था गरिएको छ।
बीमाले ५ जना परिवारलाई वार्षिक १ लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराउनेछ भने बढी सदस्य भएको परिवारमा प्रति सदस्य थप २ लाखसम्मको लाभ पाइने व्यवस्था छ।
नेपालगञ्ज उपमहानगरपालिकाको यो पहलले अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य सुरक्षामा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिइएको छ।






