कालापहाडको दुःख र पसिनाबाट आत्मनिर्भरताको उज्यालो यात्रा: ६० वर्षे भक्तबहादुर कठायतको प्रेरणादायी जीवन कथा

गोल्डेन बुढा

जुम्ला १३ असार ।

दुःख, संघर्ष र आत्मसमर्पणको कथा हो भक्तबहादुर कठायतको जीवन। कनकासुन्दरी गाउँपालिका–१, सिफ्टी गाउँका कठायत २२ वर्षको कलिलो उमेरमै सदरमुकाम खलंगामा आए। ५६ हजार वर्गमिटर पुर्खौली जग्गा बेचेर आएका उनी अहिले ६० वर्षका छन्, तर उमेरभन्दा बढी उत्साह, आत्मविश्वास र प्रेरणा बोकेका एक सफल कृषकका रूपमा परिचित छन्।

कठायतले गाउँबाट ल्याएको तीन लाख रुपैयाँ सदरमुकाम खलंगामा सानो झुपडी बनाउन खर्चिए। अक्षर नचिन्ने भक्तबहादुरको सपना थियो, आफ्ना छोराछोरीलाई शिक्षित बनाउने। जीवन गुजाराका लागि उनले भारतको कालापहाडसम्मको यात्रा गरे, जहाँ उनले वर्षौंदेखि सडक बनाउने, बालुवा बोक्ने, स्याउ टिप्ने काम गर्दै ७ वर्ष बिताए।

तीन महिनाको कालापहाड बसाइबाट कमाइने ७० हजार रुपैयाँले उनको परिवार बाँच्थ्यो। यस्तै संघर्षले गर्दा उनले आफ्नो ९ सन्तानलाई हुर्काए, शिक्षित बनाए। आज उनका ८ जना छोराछोरी प्रहरी सेवामा छन्।

स्वदेशमै सफलता: खेती, मौरीपालन र व्यावसायिक आत्मनिर्भरता

कालापहाडमा सिकेको सीप र सीपमा जोडिएको अनुभवले भक्तबहादुरले अहिले खलंगामा २० हजार वर्गमिटरभन्दा बढी जमीन जोड्न सफल भएका छन्। उक्त जमिनमा उनले आलु, प्याज, लसुन, सागसब्जी, धान, फापर, गहुँ, कोदो, फलफूल र जडीबुटी उत्पादन गर्दै आएका छन्।
उहाँले २५० स्याउका र ३०० ओखरका विरुवा रोपेका छन् भने मौरीपालनबाट प्रतिवर्ष लाखौं आम्दानी गर्दै आएका छन्। एक मौरीघरबाट मात्रै ५ किलोसम्म मह निकाल्ने र बजार मूल्य प्रतिकिलो २५ सय रुपैयाँ रहेको उहाँ बताउँछन्।

नैसर्गिक सम्पदा र परिश्रमले फलाइरहेको सुन

कठायत दम्पती अहिले स्याउ, ओखरको कलमी गरेर आफ्नै नर्सरी सञ्चालन गरिरहेका छन्। श्रीमती कोइरे कठायतले पनि खेतबारीको काममा साथ दिइरहेकी छन्। पाँच महिनाअघि मात्र ९० भेडा बिक्री गरी ९ लाख ९० हजार रुपैयाँ आम्दानी गरेका कठायत अहिले पूर्ण रूपमा कृषिमा आत्मनिर्भर छन्।

उनको जीवनकालमा माओवादी द्वन्द्व, भूमिगत बसाइ, चन्दा तिर्दाको पीडा, आफन्तको तिरस्कार, अनि संघर्षको कथा छ। तर त्योभन्दा धेरै उनको अदम्य साहस, आत्मबल, संघर्ष र सफलताको सन्देश छ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *