होल्डिङ सेन्टरका सुकुमवासीलाई कोहलपुर नगरपालिकाद्वारा झुल वितरण

बाँके ,२९ बैशाख ।
कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ । अत्यधिक गर्मी र लामखुट्टेको समस्या बढेपछि नगरपालिकाले राहतस्वरूप झुल वितरण गरेको जनाएको छ ।
कोहलपुर–११ स्थित क्रिकेट मैदान आसपासको अतिक्रमित क्षेत्र खाली गराइएपछि विस्थापित बनेका परिवार हाल नगरपालिकाले नयाँ बसपार्कको टर्मिनल भवनमा सञ्चालन गरेको होल्डिङ सेन्टरमा बसिरहेका छन् ।
होल्डिङ सेन्टरमा अस्थायी रूपमा राखिएका परिवारलाई रातिको समयमा लामखुट्टेको टोकाइबाट जोगाउन झुल वितरण गरिएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार झुल अभावका कारण विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिक रातभरी लामखुट्टेको टोकाइले सुत्न नसक्ने अवस्था थियो । डेङ्गु लगायतका रोगको जोखिम बढेपछि नगरपालिकाले तत्काल झुल वितरण गरेको उनले बताए ।
“झुल नहुँदा रातभरि लामखुट्टेले सुत्नै नदिने र डेङ्गु सर्ने जोखिम देखियो । त्यसलाई मध्यनजर गर्दै यहाँ रहेका परिवारलाई विभिन्न रोगबाट जोगाउन झुल वितरण गरेका हौँ,” थापाले भने । उनले आगामी दिनमा थप समस्या देखिए नगरपालिकाले आवश्यक व्यवस्थापन गर्ने पनि उल्लेख गर्ने ।
मङ्गलबार मात्रै होल्डिङ सेन्टरमा बसेका ६९ परिवारलाई झुल वितरण गरिएको नगरपालिकाले जनाएको छ । हाल वडा नम्बर २ देखि १४ सम्म विभिन्न स्थानमा १६ वटा होल्डिङ सेन्टर सञ्चालनमा रहेका छन् । विस्थापित परिवारका लागि अस्थायी बसोवास, खानेपानी तथा शौचालयको व्यवस्था मिलाइएको नगरपालिकाको भनाइ छ ।
यसैबीच, होल्डिङ सेन्टरमा बसिरहेका प्रभावित परिवारले आफूहरूको स्थायी व्यवस्थापनसँगै रोजगारीको व्यवस्था पनि गरिदिन माग गरेका छन् । “बस्नका लागि अस्थायी ठाउँ त मिलाइएको छ, तर दीर्घकालीन व्यवस्थापनसँगै रोजगारीको व्यवस्था पनि मिलाइनुपर्छ,” भन्ने कुरा प्रभावित नागरिकले गुनासो गरेका छन् । उनिहरूले छिटो व्यवस्थापन नहुँदा दैनिक जीविकोपार्जनमा समेत समस्या भएको बताएका छन् ।
कोहलपुर नगरपालिकाले वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीको तथ्याङ्क सङ्कलन कार्य सँगसँगै अघि बढाइएको जनाएको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यले वास्तविक सुकुमवासीलाई व्यवस्थित बसोवासको व्यवस्था गरिने तथा सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने नीति अनुसार काम भइरहेको बताए । उनले केही दिनभित्र वास्तविक सुकुमवासीको पहिचान गरी आवश्यक व्यवस्थापन प्रक्रिया अघि बढाइने जानकारी दिए । क्रिकेट मैदान आसपासबाट हटाइएका अधिकांश परिवार विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन् भने केही परिवार आफन्त तथा भाडाका घरमा सरेका छन् । उक्त क्षेत्रबाट नागरिकहरू आफ्ना सरसामानसहित बाहिरिएपछि शनिबार र आइतबार गरी १४८ घरटहरा नगरपालिकाको डोजरमार्फत हटाइएको थियो ।






