विकासका यी पूर्वाधार : जसले बदल्दैछन् कर्णालीको परिचय

ओम शाही, सुर्खेत । कर्णाली प्रदेशका मानकभन्दा पनि अनावश्यक भाष्यबाट चिनाउने प्रचलनको अझ अन्त्य हुन सकेको छैन । कर्णालीलाई प्रकृतिले दिएको वैभवशाली गाथा बिर्सिएर अविकासको कहरले चिनाउने गरिन्छ । केन्द्रिकृत मानसिकताको विम्बले थिचिएको कर्णालीमा केही छैन र कर्णालीले केही पनि गर्न सक्दैन भन्ने गलत मान्यता स्थापित भएका कयौं उदाहरणहरु छन् । पछिल्ला केही दशक यता सिङ्गो देशले पूर्वाधार विकासमा फड्को मार्दै गएको छ । पूर्वपश्चिम–उत्तर दक्षिण क्षेत्रीय तथा राष्ट्रिय राजमार्ग सञ्जालहरु विस्तार हुँदै गएका छन् । ठुला सिंचाइ तथा जलविद्युत परियोजना निर्माण प्रारम्भ भएका छन्, बाँकी हुने चरणमा छन् ।

विशिष्टिकृत सेवासहितका ठुला स्वास्थ्य संस्था निर्माण हुँदै गएका छन् । विशेष गरी देश संघीयतामा गएसँगै नेपालको समर्ग विकासमा विस्तारै आमुल परिवर्तन हुँदै गएको छ । यसको प्रभाव कर्णाली प्रदेशमा पनि परेको छ । कुनै समय अभावको खाडलका रुपमा चिनाइने कर्णालीले राष्ट्रिय समृद्धिमा काँध थाप्ने तर्खरमा आफुलाई उभ्याउदै लगेको छ । यसका उदाहरण बनेका छन्, कर्णालीमा कार्यान्वयन भइरहेका भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना, कर्णाली प्रादेशिक रंगशाला, कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान । संघीय सरकारले राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढाइ रहेको भेरी–बबई डाइर्भसन बहुउदेश्यीय आयोजनाले बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिंचाइ सुविधासँगै ४८ मेगावाट जलविद्युत राष्ट्रिय विद्युत ग्रिडलाई योगदान गर्दैछ ।

यस आयोजनाबाट बाह्रै महिना सिंचाइमार्फत कृषि उत्पादन बढ्न गई वार्षिक तीन दशमलव एक अर्ब अप्रत्यक्ष तथा जलविद्युतबाट दुई दशमलव एक अर्ब प्रत्यक्ष आम्दानी हुने सरकारी अनुमान छ । आर्थिक वर्ष २०६८/०६९ मा सुरु भई आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न गर्ने लक्ष्य रहेकोमा संशोधित तालिका अनुसार आर्थिक वर्ष २०७८/०७९ सम्म आयोजना सम्पन्न भइसक्नु पर्ने थियो । यद्यपी, कोरोना भाइरस, निर्माण सामाग्री अभाव लगायतका प्राविधिक कारण आयोजनाले २०८४/०८५ मा पूर्णता पाउने गरी अघि बढिरहेको छ ।

आयोजनाका डिभिजनल इन्जिनियर एवम् सूचना अधिकारी पवन अधिकारीका अनुसार आयोजनाले ६६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । उनले आयोजनाका दोस्रो र तेस्रो चरणका कामहरु धमाधम अघि बढिरहेको बताए । ३३ अर्ब १९ करोड ६६ लाख लागत अनुमान गरिएको आयोजनामा हालसम्म १६ अर्ब ९६ करोड खर्च भइसकेको उनले बताए । पहिलो चरणमा सुरुङ्ग निर्माणको काम सम्पन्न पश्चात दोस्रो र तेस्रो चरणका काम जारी रहेको बताउँदै अधिकारीले भने, ‘भेरी–बबईमा अहिले दोस्रो चरणको ५० र तेस्रो चरणका ४० प्रतिशत काम सम्पन्न भएका छन् । दोस्रो चरणअन्तर्गत बाँध तथा पावरहाउस निर्माण, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल जडान एवं निर्माणलगायतका कामहरु जारी छन् ।

सुर्खेतको चिप्लेमा हेडवक्स र हात्तीखालमा पावरहाउस निर्माणका लागि स्लोप प्रोटेक्सनको काम अन्तिम चरणमा पुगेको छ ।’ आयोजनाबाट सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर १२ दशमलव दुई किलोमिटर सुरुङमार्फत भेरी नदीको ४० क्युमेक पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसालिने छ । संघीयता कार्यान्वयन पश्चात प्रदेशले आफ्नै लगानीमा निर्माण गर्न लागेको ठुलो परियोजना हो, कर्णाली प्रादेशिक रंगशाला । जहाँ नेपाली खेलकुद विकासको इतिहासमा एक नयाँ इट्टा थपिदै छ । कर्णालीले सक्दैन भन्ने बिम्ब चिर्दै आफैले लगानी गरेको पूर्वाधारमा खेलको सर्वोच्च प्रतियोगिता १० औं राष्ट्रिय खेलकुद आयोजना गर्दैछ । यही रंगशालामा खेलकुदको महाकुम्भ १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन समारोह आयोजना हुनेछ ।

पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलुकद पश्चात कर्र्णालीले १० औं प्रतियोगिता आयोजना गर्ने गरी रंगशाला निर्माण प्रारम्भ गरेको थियो । सामान्य बाहेक रंगशाला परिसरमा खेल गतिविधि हुने सम्पूर्ण पूर्वाधार सम्पन्न भएको रंगशाला निर्माणमा संलग्न इन्जिनियरहरु बताउछन् । रंगशाला निर्माणको जिम्मा पाएको एमएसी÷जीएसएल जेभीका प्रतिनिधि इञ्जिनियर पुरुषोत्तम बरालले १० राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्नेगरी रंगशाला तयार भएको बताए । मुख्य खेल सञ्चालन हुने पूर्वाधारहरु पूर्णरुपमा तयार भइसकेको उल्लेख गर्दै उनले कभर्ड हलको सिसा, प्रवेशद्वारमा कालोपत्रे र गुणस्तर चेकजाँच लगायत साना नियमित प्रक्रियागत काम मात्रै बाँकी रहेको उनले बताए । यसले प्रतियोगितालाई कुनै असर नगर्ने उनको दावी छ । ‘परामर्शदाताको समय सकिएको अवस्था छ ।

परामर्शका लागि उसैलाई बोलाउने वा मन्त्रालयले पठाउने भन्नेमा अन्यौलता छ । निर्माणका क्रममा त्रुटि देखिए पुनः बनाउन धेरै समय लाग्दैन । प्रक्रियागतकै काम बाँकी भएको अवस्था हो । ठुला काम जस्तो रंगशाला परिसरभित्र सबै खेल संरचना पूर्णरुपमा तयार भएका छन् । बाहिर गेटमा पिच गर्न बाँकी छ । यसले प्रतियोगिता सञ्चालनमा असर गर्दैन,’ इञ्जिनियर बरालले भने । प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढाइएको रंगशालाको २० मंसिर २०७८ मा तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेका थिए ।

नौ बिघा क्षेत्रफलमा फैलिएको रंगशाला एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ लागतमा तयार भएको हो । रंगशालाभित्र हुने फुटबल खेल एकै पटक १० हजार दर्शकले अवलोकन गर्ने गरी अन्तराष्ट्रिय फिफा मापदण्डको फुटबल मैदान तयार गरिएको छ । यसको लम्बाई एक सय पाँच मिटर तथा चौडाई ६८ मिटर छ । मैदानमा नयाँ प्रविधिका पानी छर्किने स्प्रिङ्कल उपकरणमार्फत ३० मिनेटभित्र मैदान सिँचाइ गर्न सकिने सातवटा प्वाइन्ट जडान गरिएको छ । जस्तो सुकै पानी पर्दा पनि २५ मिनेटभित्र खेल मैदान सुक्ने प्रविधि निर्माण गरिएको छ । १० हजार दर्शक अट्ने भूकम्प प्रतिरोधी प्याराफिट, दुईतले भीआईपी प्याराफिट निर्माण गरिएको छ । प्रदेश रंगशाला परिसरमा १६ खेलका पूर्वाधार तयार भएका छन् । जसमा एथलेटिक्स, दुई आउटडोर, यहाँ दुई कभर्डहल, नेपालमै ठुलो भलिबल कोर्ट, बास्केटबल, ह्यान्डबल, कबड्डी, क्रिकेट मैदान समावेश छन् । यस्तै, स्वीमिङ पुल, सटरसहितको कम्पाउन्ड र अन्डरग्राउन्ड पार्किङस्थल रंगशालाभित्र समावेश गरिएका छन् ।

खेलाडीको चेन्जिङ रुम, शौचालय, मिडिया ग्यालरी, क्यान्टिन, रेफ्री रुम, मेडिकल रुम, फिजियोथेरापी रुम, भीआईपी वेटिङ रुम समावेश गरिएको छ । रंगशालाको सुरक्षा व्यवस्था फिफाको मापदण्डमा रहेर निर्माण गरिएको छ । कर्णाली खेलकुद विकास परिषद्का निर्वतमान सदस्य सचिव विश्वमित्र सञ्ज्यालका अनुसार सुरक्षा संवेदनशीलताका आधारमा रंगशालाको रेलिङ मानिसको सामान्य भिड पर्दा टुक्रन्छ । रंगाशालाको सम्पूर्ण प्रवेशद्वारमा एकै पटक १० मानिसको चाप पर्ने वित्तिकै खुल्नेगरी जडान गरिएका छन् भने, संवेदनशिल क्षेत्रमा सिसी क्यामरादेखि सुरक्षा खतरा देखिएकै ठाउँबाट सहजै सुरक्षा व्यवस्थापन गर्न सकिने गरी संरचना तयार पारिएको उनले बताए । कर्णालीमा रंगशाला बन्नु र यसमा १० औं राष्ट्रिय खेलकुद आयोजना हुनु समर्ग कर्णालीको समृद्धि जोडिएको उनले बताए ।

यस्तै, रंगशालाको बाहिरि भागमा व्यवसायिक तथा सुरक्षा प्रयोजनका लागि ४० सटर र कम्पाउन्ड वाल निर्माण गरिएको छ भने, कलात्मक ग्रेटवाल शैलीका कम्पाउन्ड वाल र मूल ढोकामाथि दैलेखको पञ्चकोशी क्षेत्रमा अवस्थित पञ्चदेवलका आकृति राखिएका छन् ।

प्रदेशको मेरुदण्ड प्रदेश अस्पताल

संघीयतापछि कर्णाली प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएर व्यवस्थापन तथा सञ्चालन गरिरहेको अस्पताल हो, कर्णाली प्रदेश अस्पताल । प्रदेश सरकारले अस्पताललाई सुविधा सम्पन्न बनाउन ठुलो बजेट खर्चेको छ । देशको राजनीतिक तथा प्रशासनिक पुनर्संरचना पश्चात कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालित मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ कार्तिक २०७५ मा प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । हाल अस्पतालमा एक सय ५० शैयाको दरबन्दी स्वीकृत छ । तर, बिरामीको चापले तीन सय शैया क्षमतामा अस्पताल सञ्चालित छ ।

प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएर व्यवस्थापन तथा सञ्चालन गरिरहेको अस्पतालले आफुलाई विशिष्टिकृत सेवा प्रदायक अस्पतालका रुपमा उभ्याएको छ । कोरोना महामारीसँग लड्दै कर्णालीको स्वास्थ्य सेवाको साख अस्पतालले जोगाएको छ । अस्पतालमा हाल अत्याधुनिक उपकरणसहित घातक रोगहरु मुटु, मृगौला, क्यान्सर लगायतका रोगको उपचार तथा निदान सेवा अस्पतालमा उपब्ध छन् । आर्थिक वर्ष २०७८/०७९ मा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा ३ टेस्ला ६४ च्यानलको अत्याधुनिक एमआरआइ मेसिन सञ्चालनमा छ ।

अस्पतालले आफ्नै ब्लड बैंक सञ्चालन गरेको छ, भने सेरो पोजेटिभ विरामीहरुलाई ठुला अस्पतालहरुले दिन नसकेका सेवा दिइरहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालकै बजेटबाट क्याथ ल्याब सिटी स्क्यान सञ्चालनमा ल्याइएको अस्पताले जनाएको छ । गत वर्षबाट ब्याक टु लाइफ जर्मनीको आर्थिक तथा प्राविधिक सहयोगमा मुटुरोग विभाग सञ्चालन गरिएको अस्पतालका निर्देशक डाक्टर केशर ढकालले बताए । अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवासमेत थपिएको छ र आर्थिक २०८१/०८२ मा क्यान्सर रोगको विभाग र आगोले जलेका विरामीहरुका लागि पनि उपचार युनिट थप भएको छ । यसै वर्ष तला थप निर्माण कार्य सम्पन्न भइ थप ६ वटा अत्याधुनिक ओटिहरु, १५ विभागका लागि पेइङ क्लिनिक गरी पाँच सय वेड पुग्ने अस्पतालले जनाएको छ ।

चालु आर्थिक वर्षमै विरामी कुरुवा घर भवन निर्माण भई सञ्चालनमा आउदै छ । अस्पतालमा तीन वटा अक्सिजन प्लान्ट सञ्चालनमा छ । नयाँ निर्माण गर्न लागिएको भवनको छतमा हेली प्याड सञ्चालनमा ल्याउने अस्पतालको योजना छ । यति मात्रै होइन निकट भविष्यमा प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकास गर्ने गरी प्रदेश सरकार अघि बढेको छ । केही अघि प्रदेश सरकारले अस्पताल स्तरोन्नति सम्बन्धमा अध्ययन गर्न बनेको उच्चस्तरीय अध्ययन समितिले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न सकिने सुझाव दिइसकेको छ ।

अस्पताललाई स्तरोन्नति गर्न सकिने वा नसकिने विषयमा अध्ययन गर्न प्रदेश सरकारले प्रा.डा. भगवान कोइरालाको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरेको थियो । उक्त कार्यदलले प्रदेश अस्पतालको संस्थागत एवं संरचनात्मक सुधारका पाँच विकल्पसहितको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकास गर्न सकिने रायसहितको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको थियो ।

विशिष्टिकृत सेवासँगै डाक्टर पढाउदै जुम्ला

कुनैबेला जुम्लामा मेडिकल कलेज चल्न सक्दैन भन्नेहरुका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गतिलो जवाफ दिएको छ । दुर्गममा विद्यार्थी पढ्न आउँदैनन् भन्नेहरु थुप्रै थिए । तर प्रतिष्ठानमा हाल विद्यार्थीको कमी छैन । हाल यहाँ साढे चारसय जना विद्यार्थीले मेडिकल शिक्षा अध्ययन गरिरहेका छन् । हाल प्रतिष्ठानमा चिकित्सा शिक्षाका चार वटा स्कुलमा स्नातक र स्नातकोत्तर तहमा पढाइ भइरहेको छ । जहाँ चारसय ६१ जना विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानको भनाइ छ । जसअन्तर्गत स्कुल अफ नर्सिङमा ११४, स्कुल अफ फार्मेसीमा ७१, स्कुल अफ पब्लिक हेल्थमा ७४ र स्कुल अफ मेडिसिनमा २०२ जना विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले जानकारी दिए । उनी भन्छन्,‘विभिन्न कार्यक्रम अन्तर्गत विद्यार्थी अध्ययनरत छन्, केही नयाँ विद्यार्थी पनि थपिदै छन् । प्रतिष्ठानले दुर्गममै विषेशज्ञ शिक्षा दिइरहेको छ, त्यसका लागि एकसय शिक्षक र प्राध्यापक खटिएका छन् ।’

प्रतिष्ठान स्थापना भएपछि कर्णालीका विद्यार्थीले आँगनमै कम खर्चमा मेडिकल शिक्षा पढ्न पाएका छन् । त्यतिमात्र होइन, स्वदेशका विद्यार्थीका लागि पनि सहज भएको छ । तर गुणस्तरीय शिक्षा प्रदान गर्न थालेपछि प्रतिष्ठानमा विदेशी विद्यार्थीको पनि आकर्षण बढेको छ । दुर्गममा मेडिकल शिक्षा चल्दैन भन्ने भाष्यलाई चिर्दै विदेशबाट समेत यहाँ विद्यार्थीहरु पढ्न आएका हुन् । हाल एमबीबीसमा ३ जना भारतीय विद्यार्थी अध्ययनरत छन् । जसमा २ जना छात्रा र एक जना छात्र छन् । दुबै जना छात्रा भारतको जम्बु काश्मिरका हुन् । यस्तै छात्र भने भारतको उत्तर प्रदेशको अल्लाहपुरका भएको प्रतिष्ठानले जनाएको छ ।

रजिष्टार महत भन्छन्,‘सुरुवातमा त कसैले पनि पत्याएका थिएनन्, तर अहिले विदेशबाट पनि अध्ययनका लागि यहाँ विद्यार्थी आउन थालेका छन् । मुख्य त गुणस्तर नै हो, हामीले दुर्गममा भएपनि गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं ।’ यस्तै प्रतिष्ठानले विदेशका मेडिकल शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुसँग पनि अनुभव आदानप्रदान गरिरहेको महतले जानकारी दिए । प्रतिष्ठानले हाल तीनसय शैयाको शिक्षण अस्पताल संचालन गरिरहेको छ । जहाँ दुर्गमका बिरामीले उपचार पाइरहेका छन् । यो अस्पतालका कारण प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई अभ्यास गर्न सहज भएको छ भने त्यस क्षेत्रका बिरामीलाई उपचारमा सजिलो भएको हो ।

यो अस्पतालमा विस्तारै विषेशज्ञ सेवाहरु थप हुँदै छन् । विगतमा सुर्खेत र नेपालगंजमा उपचार गराउन बाध्य बिरामीले अहिले जुम्लामै उपचार पाउन थालेको प्रतिष्ठानले जनाएको छ । यो अस्पतालमा जुम्ला, मुगु, कालीकोट, हुम्ला र डोल्पाका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । प्रतिष्ठानका अनुसार यो अस्पतालमा बर्सेनी १ लाख बिरामीले उपचार सेवा लिने गरेका छन् । प्रतिष्ठानका रजिष्टार महत भन्छन्,‘अब कर्णाली हिजोको जस्तो बिरामी छैन, उपचार नपाएर कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था छैन । हामीले यो अस्पतालबाटै विषेशज्ञ सेवा दिइरहेका छौं, प्रतिष्ठानले नै प्रदेशका अन्य जिल्लाका अस्पतालमा समेत विषेशज्ञ डाक्टर खटाएर बिरामीको उपचार गरिरहेको छ ।’

उनका अनुसार प्रतिष्ठानले कर्णालीका दुर्गम जिल्लाका जिल्ला अस्पतालहरुमा विषेशज्ञ डाक्टर खटाएर उपचार गर्दै आएको छ । प्रतिष्ठानले नै सम्झौता गरेर जिल्लामा डाक्टर पठाउने गरेको हो । यसबाट पनि दुर्गमका बिरामीले उपचार पाउन थालेका हुन् । महत भन्छन्,‘प्रतिष्ठान कर्णालीका लागि वरदान नै हो, स्वास्थ्य उपचारको पहुँच बढेसँगै कर्णालीबासीको औषत आयु पनि बढेको छ । हिजोको जस्तो सुत्केरी र गर्भवतीले बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था अब छैन, बाल मृत्युदर पनि घटेको छ ।’ प्रदेशभित्रै उपचार सम्भव भएपछि कर्णालीबासीको आर्थिक भार पनि घटेको उनको भनाइ छ ।

विकासका यी पूर्वाधार : जसले बदल्दैछन् कर्णालीको परिचय

विधायन प्रक्रियामा उर्जा भर्दै महिला सांसदको नेतृत्व

विकासका यी पूर्वाधार : जसले बदल्दैछन् कर्णालीको परिचय

सुन्तला बगैंचाबाट मनग्य आम्दानी

Leave a comment

Your email address will not be published. Required fields are marked *