नेपालगञ्जमा बाख्राको मासु खसी भनेर बिक्री, अनुगमनमा माछा र अण्डासहित मासु नष्ट

बाँके ,३० जेष्ठ ।
नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित रामबाघमा दुईवटा मासु पसलले खसीको नाममा ग्राहकलाई बाख्राको मासु बिक्री गर्दै गरेको पाइएको छ। उपमहानगरपालिकाको पशु सेवा शाखाको आयोजनामा गरिएको संयुक्त अनुगमन टोलीले रामबाघस्थित फहिम फ्रेश हाउसबाट ५ केजी र कलिम अहमद मासु पसलबाट ७ केजी बाख्राको मासु खसीको भनेर बिक्री गरेको अवस्थामा बरामद गरेको हो।

भेटेरिनरी निरीक्षक डा. सुमन खनालको नेतृत्वमा गरिएको अनुगमन टोलीले नेपालगञ्ज–१५, जमुनाह क्षेत्रमा समेत अनुगमन गरेको थियो। सो क्रममा मोहोम्मद सरिफ कुरेशीको पसलबाट भारतबाट ल्याइएको २ क्यारेट सेतो अण्डा, नसीम माछा पसलबाट १५ केजी बिग्रिएको माङ्गुर माछा र शाहबुद्धिन कबडियाको पसलबाट ८ केजी खान अयोग्य माङ्गुर माछा बरामद गरिएको पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीले जानकारी दिनुभयो।

अनुगमन टोलीले खान अयोग्य मासु, माछा, खसीका टाउको र खुट्टा संकलन गरी सुरक्षित रूपमा नष्ट गरेको छ। अनुगमनमा पशु सेवा शाखाका कर्मचारीहरू, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका पशु विकास अधिकृत भोज बहादुर रावल, डा. आशीष थारु, नगर प्रहरी प्रमुख सूर्य बोगटीलगायतको सहभागिता रहेको थियो।
पशु सेवा शाखाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता क्रियाकलापप्रति कडाइका साथ निगरानी र कारबाही गरिने जनाएको छ।






