भेरी अस्पतालमा एमडी/एमएस पढाइ सुरु हुँदै, सेवा र स्तरमा गुणात्मक सुधारको अपेक्षा

बाँके,३०, जेष्ठ ।

पश्चिम् नेपालको प्रमुख रेफरल अस्पताल भेरी अस्पतालमा आउँदो असार दोस्रो सातादेखि स्नातकोत्तर चिकित्सा शिक्षा (एमडी/एमएस) सुरु हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र भेरी अस्पतालबीच यसअघि नै गरिएको सहमति अनुसार सो पढाइ सञ्चालन गर्न फ्याकल्टीको टुंगो लागिसकेको छ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुबेदीका अनुसार प्रारम्भिक चरणमा मेडिसिन र सर्जरी विभागमा दुई/दुई जना तथा गाइनेकोलोजी र अर्थोपेडिक विभागमा एक/एक जना गरी कुल ६ जना विद्यार्थी अध्ययनका लागि अस्पतालमा आउने छन्।

डा. सुबेदीका अनुसार, “अब अस्पतालमा उपचार सेवासँगै शैक्षिक गतिविधि पनि सशक्त बन्नेछन्, जसले अस्पतालको सेवा र स्तरमा ठूलो सुधार ल्याउनेछ।”

एमडी/एमएस शिक्षाका लागि अस्पतालमा विगतदेखि प्रयास हुँदै आए पनि यसअघि औपचारिक रूपमा पढाइ सञ्चालन हुन सकेको थिएन। प्रारम्भमा चार विभागमा पढाइ सुरु गरिए पनि भोलिका दिनमा पिडियाट्रिक, एनेस्थेसिया, रेडियोलोजी, इएनटी र एमडिजिपी लगायतका विषयमा पनि विस्तार गर्ने प्रस्ताव रहेको अस्पताल स्रोतको भनाइ छ।

शैक्षिक कार्यक्रम सुरु भएपछि भेरी अस्पताल न्याम्सको आङ्गिक अस्पतालका रूपमा रहनेछ। संघीय सरकारको मातहतमा रहेको यस अस्पतालबाट मध्य र सुदूरपश्चिम क्षेत्रका २४ जिल्लाका बिरामीहरू लाभान्वित हुँदै आएका छन्।

अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहले एमडी/एमएस विषयको पढाइ सुरु हुनु भेरी अस्पतालका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै भन्नुभयो, “अब भेरी अस्पतालको शैक्षिक उचाइ बढ्नुका साथै विशेषज्ञ उपचार सेवामा थप गुणस्तर आउनेछ।”

 

 

भेरी अस्पतालमा एमडी/एमएस पढाइ सुरु हुँदै, सेवा र स्तरमा गुणात्मक सुधारको अपेक्षा

नेपालगञ्जमा बाख्राको मासु खसी भनेर बिक्री, अनुगमनमा

Leave a comment

Your email address will not be published. Required fields are marked *