बर्षाले दिलायो राहत, बाँकेमा रोपाइँ ४४ प्रतिशत नाघ्यो

बाँके ,२० असार।

लगातारको वर्षाले बाँकेका किसानको अनुहारमा खुसी छाएको छ। असार १५ सम्म ११ प्रतिशत मात्र रोपाइँ भएको बाँके जिल्लामा हालसम्म ४४.६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।

कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतका अनुसार असार १५ मा धान दिवस मनाउँदासम्म पानी नपरेकोले अधिकांश किसानले रोपाइँ सुरु गर्न पाएका थिएनन्। तर पछिल्ला दिनहरूमा भएको लगातारको वर्षाले रोपाइँ कार्यमा तीव्रता आएको छ।

“पानीको अभावले सुरुमा ढिला भए पनि अहिले जिल्लाभर रोपाइँ धमाधम भइरहेको छ,” अधिकृत बस्नेतले भने, “यदि बाढी र डुबानको समस्या भएन भने यो वर्ष विगतको तुलनामा राम्रो उत्पादन हुने आशा गरिएको छ।”

उनका अनुसार सिक्टा सिँचाइ आयोजनाबाट पानी पुगेका क्षेत्रहरू — राप्ती सोनारी, कोहलपुर र बैजनाथ गाउँपालिकामा सबैभन्दा बढी रोपाइँ भएको छ। त्यस्तै, पानीको अभावका कारण जानकी गाउँपालिकामा सबैभन्दा कम रोपाइँ भएको पाइएको छ।

बाँकेमा कुल ३६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ। गत वर्ष पनि यही क्षेत्रफलमा धानखेती गरिएको थियो, र यस वर्ष पनि सोही अनुसार रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्रको भनाइ छ।

स्थानीय किसानहरू ढिलो भए पनि अब मौसम अनुकूल भएकाले समयमै काम सक्ने र राम्रो उत्पादन लिने आशामा जुटेका छन्। जलवायुका कारण चुनौती खेप्दै आएका किसानहरूका लागि हालको वर्षा आशाको वर्षा बनेको छ।

बर्षाले दिलायो राहत, बाँकेमा रोपाइँ ४४ प्रतिशत नाघ्यो

जुम्लामा माओवादीकाे सुशासन सहजीकरण विशेष सप्ताह

Leave a comment

Your email address will not be published. Required fields are marked *