घुइया भाउमा सरकारी जग्गा : ३३ लाखभन्दा बढि भाडा वक्यौता

पुनम वि.सी.
सुर्खेत, ९ फागुन ।
सुर्खेत उपत्यका नगर विकास समितिले मंसिर मसान्तसम्ममा कुल ३३ लाख १६ हजार चार सय ७० रुपैयाँ भाडा असुल्न बाँकी नै छ । वार्षिक रुपमा १० लाख हाराहारीमा भाडा रकम भएपनि नगरले वक्यौता रहेका नागरिक तथा संघसंस्थासँग भाडा असुल्न सकेको देखिदैन ।
नगर विकास समितिमार्फत जग्गा भाडामा लिएर २०७६ देखि नै भाडा नबुझाएका व्यक्तिहरु समेत छन् । वसपार्क जाने बाटोको दक्षिणतर्फको जग्गा भाडामा दिएका धनुमाया थापा मगर र रोशन शाही दुबैले समान एक लाख ९१ हजार तीन सय ६० रुपैयाँ भाडा बुझाउन बाँकी रहेको देखिन्छ ।
जग्गा भाडामा लिएपनि संरचना नबनाएका यी दुबैले २०७६ जेठदेखि नै भाडा नबुझाएको सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयले जनाएको छ । उनीहरु दुबै जनाले मासिक तीन हजार आठ सय ४० रुपैयामा जग्गा भाडामा लिएका थिए । मंगलगढीचोकको पूर्वतर्फ विद्युतीय विज्ञापन बोर्ड सञ्चालन गर्ने उद्देश्यले जग्गा भाडामा लिएको इन्फोवेटा सिष्टम प्रालिले समेत २०७५ चैत्रदेखिको ८३ हजार तीन सय ५७ रुपैयाँ भाडा नगरलाई बुझाउन बाँकी छ । संस्थाले नगर विकास समिति मार्फत एक हजार आठ सय १० रुपैयाँमा जग्गा भाडामा लिएको थियो ।
आवास क्षेत्र भित्रमा पवन वोहोराले लिएको जग्गाको भाडा हालसम्म पनि नगरले पाएको छैन । २०७५ साल चैत्रदेखिको जग्गा भाडा वापत पवन वोहोराले कुल एक लाख ५७ हजार तीन सय दुई रुपैयाँ नगरलाई बुझाउन बाँकी छ । उपत्यका नगर विकास समितिमार्फत हालसम्म एक सय ४३ जनाले घर तथा जग्गा भाडामा लिएका छन् ।
भाडा वापत नगर विकास समितिले मासिक रुपमा १० लाख आठ हजार एक सय दुई रुपैयाँ भाडा रकम असुल गर्छ । वीरेन्द्रनगर नगरपालिकाको ६, ७ र ८ नं. वडामा पर्ने यी क्षेत्रका घर तथा जग्गाको बजार भाउ भने निकै महंगो पर्छन् ।
वीरेन्द्रनगरको मुख्य चोक, मंगलगढी चोकमा नगर विकास समितिको स्वामित्वमा व्यापारिक पसल कवल छ । यस कवलमा आठ जनाले कोठाहरु व्यवसायका लागि भाडामा लिएका छन् । नविकरण हुँदै २०७९÷०८० मा आईपुग्दा यस कवलका कोठाको भाडा आठ हजार देखि २९ हजार रुपैयाँसम्म पुगेको छ ।
नजिकै रहेको गोदाम लाइन क्षेत्रमा समेत हाल १७ जनाले जग्गा भाडामा लिएर होटल, रेष्टुरेन्ट तथा उद्योगहरु सञ्चालन गरिरहेका रहेका छन् । यस क्षेत्रमा यी व्यवसायीले नगरलाई पाँच हजार रुपैयाँ देखि २० हजार रुपैयाँसम्म भाडा बुझाउँछन् । यसैगरी आवास क्षेत्रतर्फ दैलेख रोड अहिले सवारी तथा नागरिकको चाप बढ्न थालेको क्षेत्र हो । यो स्थानमा समेत नगरको मातहतका प्रशस्तै जग्गाहरु छन् ।
यस क्षेत्रमा होटल तथा रेष्टुरेण्टहरु सञ्चालनमा छन् । यस क्षेत्रमा समेत हाल मासिक ५–६ हजारमा नै नगर उपत्यकाबाट जग्गा भाडामा लिएर नागरिकहरुले व्यवसाय सञ्चालन गरेका छन् ।
सहमति अनुसार प्रयोग नभए जग्गा फिर्ता’
सुर्खेत उपत्यका नगर विकास समितिले भने अहिले भाडामा जग्गा लिएकाहरुले सहमति अनुसाार प्रयोग नगरेको फेला पारेमा फिर्ता लिने योजनामा छ । नगर विकास समितिको ३४ औं अध्यक्षमा रुपमा अहिले वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल छिन् ।
नगरमा निर्वाचित भएसँगै सरकारी जग्गा संरक्षणलाई पहिलो प्राथमिकता बनाएकी नगर प्रमुख ढकालले फरक प्रयोजनमा प्रयोग भएका जग्गालाई भाडा सम्झौता तथा प्रयोग सम्झौता रद्ध गरी फिर्ता लिने योजना रहेको बताइन् ।
‘सम्झौता अनुसार प्रयोग नगरी अन्य प्रयोजनमा प्रयोग भएका जग्गाहरु फिर्ता लिन सक्छौ । नगर प्रमुख ढकालले भनिन्, ‘यसका साथै सरकारी जग्गा भाडामा लिएर भट्टि पसल समेत सञ्चालन गर्न अनुमति दिइने छैन ।’ सरकारी जग्गाका विषयमा नगरवासप्ले साथ दिनुपर्ने उनले बताइन् ।
यसैगरी सटर–जग्गा भाडाका विषयमा विचौलिया रहेको उल्लेख गर्दै उनले एउटा प्रयोगजनका लागि भाडामा लिएर सटर बनाई अरुलाई फेरि भाडामा दिने कामलाई निरुत्साहित गरिने दाबी गरिन्। सटर कोठालगायतका भाडामा दिनुपर्ने अवस्था रहेमा नगर आफैले भाडामा दिने उनले बताइन् ।
पार्टी कार्यालय सञ्चालन गर्ने भनेर भोगाधिकारसहित पाएको जग्गामा पार्टी कार्यालय भवनसंगै व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएका पसल कोठा खाली गर्न नगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गरिसकेको छ ।





