सिर्जना बुढाथाेकी
सुर्खेत,९ फागुन ।
दैलेखको भैरवी गाउँपालिका–२ मा जन्मिएका पुरुषोत्तम रिजाल चाटर्ड एकाउण्टेन्ट हुन् । साना ठूला व्यापारिक फर्म तथा उद्योगको लेखापरीक्षण प्रतिवेदनमा दस्तखत मात्रै गरेपनि उनी घुम्ने कुर्सीमा बसी बसीपनि मनग्य पैसा कमाउन सक्छन् या अरुका लागि ईष्र्या लाग्दो टेबल जब गरेर नाम, दाम दुबै कमाउन सक्छन् ।
तर कुनै बाध्यता या परिवन्धले हैन उनी आपफ्नाे रहर र ईच्छाले अहिले रेष्टुुरेण्टमा आफ्ना ग्राहकका लागि नास्ता, चिया टेबलसम्म ल्याउन लैजाने काममै व्यस्त हुन्छन् कुनै धक, लोकलाज नमानी । लोभलाग्दो करिअरलाई त्यागेर संघर्षपूर्ण व्यवसायलाई आफ्नो मन दिएका छन् उनले । राम्रो पढेर जागिर खाने सोच सबैको हुन्छ तर उनको सोच र योजना भन्ने अलि फरक छ ।
द्वन्द्वको प्रभाव परेको बाल्यकालः
मेरो नाम पुरुषोत्तम रिजाल । मेरो जन्म स्थान भनेको दैलेखको भैरवी गाउँपालिका–२ मा २०४६ सालमा भएको हो । मेरो परिवारमा आमा, बुवा, दुई भाई अनि तीन बहिनी हौ । मेरो बुवाको काम भनेको जजमानी गर्ने थियो । त्यसकारण पनि अभावमा त बितेन बाल्यकाल तर त्यति सम्पन्नसाली परिवार पनि नभएकाले काम भने गर्नुपथ्र्यो ।

तर एउटा कुरा म छोरा भएकै कारण काम भने गर्नुपरेन । गाउँघरको परिवेशमा आमा अनि छोरीचेलीले नै घरधन्दा, खेतीपातीको काम गर्नुपर्छ भन्ने हुन्थ्यो । म मेरो परिवारको जेठो छोरा हो । द्वन्द्वको समय थियो त्यसको चपेटामा हामी परेका थियौ । मेरो बुवा जजमानी गर्ने तर घर फर्किदासम्म पैसा, विहे, पूजाआजामा पाएका सामान बाटोमै खोसिदिने जस्ता समस्या मेरो बुवाले भोग्नुपथ्र्यो ।
बुवा घरमा नभएको समयमा घरमा भएका अन्नहरु पनि खोसेर लग्ने, हामी साना थियौ तर आमा र बुवाले भोगेका सबै कुरा प्रत्यक्ष अवलोकन गरिरहेका थियौ । राती नसुतेर बत्ताएको गहुँ, केलाएको धान, खेती स्यारेको सबै खोसेर लग्ने काम हुने भएकाले हामीले साह्रै समस्या भोग्यौ । यसले गर्दा हामी छोराछोरी असुरक्षित महशुस गरेर हाम्रो आमाकै करका कारण बुवाले नाइँ भन्न नसकेर हामी २०६० सालमा सुर्खेत झरेका थियौ ।
त्यो समयमा म १४ वर्षको थिएँ, मेरा भाईबहिनी भने सानै थिए । मैले गाउँकै विद्यालयबाट एस.एल.सी गरेको थिएँ त्यसकारण मेरो अंग्रेजीको शिक्षा खासै राम्रो थिएन अरु विषयमा भने राम्रै थियो । त्यसपछि मैले सुर्खेत आएर वीरेन्द्रनगरको तत्कालीन बहुमुखी क्याम्पसमा पढे र बीबीएस पास गरे । त्यसपछि मैले करिब ३ वर्ष ग्लोबल आए.एम.ई बैंकमा काम गरे ।
तर मैले सबैभन्दा पहिला पढाई सक्नुपर्छ भन्ने योजनाले माष्टर्स गर्नका लागि काठमाण्डौं गए । मैले एकदमै मेहेनतका साथ पढे । अंग्रेजी मेरो लागि यस्तो भयो कि अरुले बोलेको सबै बुझ्ने तर फर्काउन नसक्ने थियो । तर पनि विस्तारै मैले राम्रो गर्दै गए किनकी परीक्षामा बोल्नभन्दा लेख्न पर्ने भएकाले पनि मलाई लेख्नमा समस्या थिएन ।
काठमाण्डौंमा पढ्दै जाँदा मलाई विदेश जाने हुटहुटी जाग्यो र म यसको तयारीका बारेमा बुझ्न थाले । यो समयमा मैले चार्टड एकाउण्टेन्ट पढेर सकिसकेको थिएँ । सी.ए भैसकेकाले मेरो परिवारले विदेश नजाने बैकंमै पनि हाकिमदेदि राम्रै जागिर पाइने नभए लोकसेवा तयारी गर्ने विषयमा मेरो परिवारले धेरैनै मलाई कचकच गरिरहन्थ्यो । मेरो परिवारले जे भने पनि म आफै के गर्ने भन्ने तनावमा थिएँ । किनकी मलाई सरकारी जागिर खाने भन्ने सोचनै थिएन ।

विदेश जाने हुटहुटीः
मलाई खास जान मन लागेको देश क्यानडा थियो तर मेरो अंग्रेजी खासै राम्रो नभएकाले पनि म अंग्रेजी तयारी गर्ने र तयारीका लागि भनेर दुबईतिर लागे । दुबई पुगेपछि म सानै उमेरको विदेशको बारेमा केहि थाहा नपाएकोले मलाई नेपालीले नै ठगे । मैले त्यो बेला नेपालबाट बोकेर गएको केहि सीमीत पैसा पनि एकजना नेपालीले मेरो पर्सी तलब आउँछ आज समस्या छ भनेर मागेर फिर्ता दिएन, उल्टै भागेर गयो ।
म विदेशी भूमिमा अलपत्र परे । पकेटमा पैसा छैन, एकजनालाई खाना बनाइ दिनुन भन्दा तिमीलाई दिनुभन्दा भोलि विहानको हाम्रो छाक हुन्छ भनेर दिएन । म थप कमजोर भए किनकी प्रेसरको समस्या भएकाले मेरो प्रेसर घटेर म विरामी जस्तो भएँ । चिनेको कोहि छैन, परदेशको ठाउँ ।
कसैले कम्पनीमा कुरा गरिदिएको छु जाउ भन्यो भने पनि अन्तर्वार्तामा बोल्नै नसक्ने म । किनभने उनीहरुले अंग्रेजीमा सोध्ने मैले सबै बुझ्ने तर फर्काउन नसक्ने । तर सबै कहाँ दुःख दिने हुन्छन् र कोहि त दुःख देख्न नसक्ने पनि हँुदा रहेछन्, एकजना दाईले मेरो समस्या देखेर बोलाए र पेटभरी खान पनि दिए र केहि दिन आफ्नै कोठामा बस्न भने ।
उनी आफैले मेरो लागि काम खोजी दिए अनि बल्ल मलाई सहज भयो । त्यसपछि म तीन वर्ष त्यहाँ बसे र पुनः नेपाल फर्किए । किनकी जुन सोचले म विदेश पुगेको थिए त्यो भएन र सोचेजस्तो विदेश पनि छैन रहेछ भन्ने मैले बुझें । आफ्नो देशनै घर रहेछ । म फर्किए अनि फेरि परिवारले लोकसेवा तयारी गर भन्न थाले । विस्तारै मेरो उमेरले पनि दिएन, मलाई जागिर खाने मन पनि थिएन र व्यवसाय के गरौ भन्ने योजना बनाए ।
व्यापारमा जोडिएको मनः
द्वन्द्वको प्रभाव भोगेको म र मेरो परिवार । यसको असरले चाहेर पनि खुला मस्तिष्कले पढ्न नपाएको म, विदेशी भूमिमा गएर आफ्नै दाजुभाईबाट ठगिएको म । मलाई जागिर गर्ने मन नभएकाले के गर्ने भन्ने सोच्दै गर्दा मेरो भिनाजुले मलाई व्यवसाय गर्ने सल्लाह दिनुभयो । तर मलाई अझै पनि व्यवसाय भन्दा पनि राजनीति गर्ने सोच आयो ।
पढेलेखेको युवा, देशको वेथिति, दुःख बुझेको म, देशले खोजेको नेतृत्व अनि विकासको बारेमा योजना बनाउन सक्ने म । अब देशका लागि केहि गर्छ भनेर दैलेखको आफ्नै पुरानो गाउँमा गएर स्वतन्त्र उम्मेद्वारका रुपमा लड्ने योजनाका साथ गाउँ गए तर धेरै समय टाढा भएर होला मेरो मनको कुरा, योजना गाउँमा पुर्याउन सकिन होला र म फेल भएँ ।
नेपाली कांग्रेसका मेरा प्रतिद्वन्द्वीले मलाई पछाडि पार्नुभयो । त्यसपछि म फर्किए र अब भिनाजुको कुरालाई मनन् गरेर व्यवसाय गर्ने योजनाका साथ वीरेन्द्रनगर–७ इत्रामको शिवालयचोकमा चौतारी रेष्टुरेण्ट एण्ड बार नाम गरेर व्यवसायमा लागे । स्वादपनि, स्वास्थ्यपनि भन्ने नारा राखेर मैले अब यहि व्यवसायलाई अगाडि बढाउने र थप सेवा सुविधाका साथ अगाडि बढ्ने योजनामा छु ।
अहिले धेरै समय भएको छैन तर अबको मेरो दीर्घकालीन सोचनै यहि हो । सुर्खेत अझ त्यसमा पनि वीरेन्द्रनगर झन व्यवसायिक रुपमा अब्बल बन्ने पक्का छ किनकी दिनानुदिन बढ्दो शहरीकरणका कारणपनि जति व्यवसायले राम्रो सेवा सुविधा दिन्छन् तिनीहरु पक्कै व्यवसायमा फष्टाउने छन् ।
मेरो रेष्टुरेण्टमा अहिले १० जना कर्मचारी छौ । थप सेवा सुविधाका साथ अगाडि बढ्दै गए अझै युवालाई रोजगारी दिने योजना मेरो छ । तर पढेर पक्कै मान्छे अगाडि बढ्छौ भन्ने छैन मनले के भन्छ र के गर्न सकिन्छ भन्ने सोच ठूलो रहेछ । मेरो परिवारले सी.ए भएर पनि जागिर नगरेर यस्तो किन गरेको भन्ने छ तर मलाई त्यताभन्दा यसमै सन्तुष्टि मिलेको छ । युवाले यस्तै कुरामा ध्यान दिन सके आफ्नो र देश विकासमा पक्कै टेवा पुग्ने छ भन्ने लाग्छ मलाई ।

