सुर्खेत ,१३ मंसिर ।
विभागीय टोली एपीएफ क्लब १० औं रास्टिय खेलकुद प्रतियोगीता अन्तरगत महिला क्रिकेटको फाइनल प्रवेश गरेको छ । बागमती प्रदेशलाई ४१ रनले हराउँदै एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
टस जितेर पहिले व्याटिङ रोजेको एपीएफले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनायो । एपीएफका लागि रोमा थापाले महत्वपूर्ण ७१ रनको नटआउट पारी खेलिन् । ६२ बलको सामना गरेकी उनले १० चौका प्रहार गरिन् । यस्तै राजमती ऐरीले ४६ रन बनाइन् । ३९ बलको सामना गरेकी उनले ६ चौका प्रहार गरिन् । यस्तै रेवती धामीले १२ रन बनाउँदा कप्तान सीता रानामगरले ४ रन बनाइन् ।
बागमतीका लागि अस्मिना कर्माचार्यले २ तथा पुजा साउँद र संस्कृति फुयाँलले एक–एक विकेट लिए ।
१३७ रनको लक्ष्य पछ्याएको बागमती ८ विकेटको क्षतिमा ९५ रनमा समेटियो । बागमतीका लागि ओपनर हेलिशा गुरुङले ४१ रन बनाइन् । ४३ बलको सामना गरेकी उनले तीन चौका प्रहार गरिन् । लक्ष्मीमाया रुम्बा लामाले १८ रन बनाउँदा एली यादवले १० र सेविका यादवले पाँच रन बनाइन् ।
एपीएफका सिताकुमारी राना र करुणा भण्डारीले दुई–दुई विकेट हात पार्दा राजमती ऐरी र सुमन विष्टको खातामा एक–एक विकेट रह्यो । ७१ रनको नटआउट पारी खेलेकी एपीएफका रोमा थापा प्लेयर अफ द म्याच भइन् । अब एपीएफ र आर्मीबीच फाइनल भिडन्त हुनेछ।


