सुर्खेत ,१३ मंसिर ।
सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा नेपाल आर्मी दोस्रो चरण प्रवेश गर्दा एनआरएनए टोली भने लिग चरणबाटै बाहिरिएको छ । आईतबार कालुन्चोक मैदानमा भएको दोस्रो खेलमा एनआरएनएविरुद्ध ५६ रनको जीत आत्मसात गर्दै आर्मी समूह ए बाट लगातार दुई खेल जितेर दोस्रो चरणमा पुगेको हो ।
यसअघि गण्डकीसँग पराजित भएको एनआरएनए लगातार दोस्रो हारसंगै प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बनेको छ । कोशी प्रदेश यसअघि नै घर फर्किसकेको छ ।
टस हारेपनि पहिला ब्याटिंगका लागि निम्ता पाएको आर्मीले २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन जोड्यो ।
आर्मीको स्कोरमा ओपनर त्रितराज दासले १ छक्का र ६ चौकासहित ३६ बलमा ४२ रन बटुले । अर्का ओपनर अर्जुन साउँद २ रनमा आउट भएपछि तेस्रो नम्बरमा आएका भीम सार्कीले २७ रन जोडे ।
कप्तान विनोद भण्डारी खाता नखोल्दै पवेलिएन फर्किपछि आएका बशिर अहमदले २२ बलमा २७ रन जोड्दै आर्मीलाई सम्मानजनक स्कोरसम्म डोर्याए ।
एनआरएनएका तर्फबाट नवीन तामांगले ३ र कमलसिंह ऐरीले २ विकेट हात पार्दा अनिल खरेल, सुनिल दौल्याल र सचिन शर्माको नाममा समान एकएक विकेट रह्यो ।
१३१ रनको चुनौती लिएर जवाफी ब्याटिंगमा उत्रिएको एनआरएनएको इनिंग १५.४ ओभर खेल्दै जम्मा ७४ रनमा सीमित भयो ।
आर्मीको कसिलो बलिंग सामू व्यापक दवाबमा देखिएका एनआरएनएका ४ जनाबाहेक कुनैपनि ब्याट्सम्यानले दोहोरो आँकडा छुन सकेनन् ।
पवन खरेल १३, विकास खड्काले १२ रन बनाउँदा आयुष्मान बम र सुनिल दौल्यालले समान १० १० रन बनाए ।
पाहुना टोलीलाई दवाबमा राख्नेक्रममा पवन कार्की र तिलकराज भण्डारीले तीनतीन विकेट लिंदा नरेन साउँदले २ तथा सोमपाल कामी र कुशल मल्लले एकएक विकेट झारे ।


