विद्यार्थी भेट्ने तृष्णा जिवितै : काफलको बोटमुनी पढाउने गुरु

पुनम वि.सी
सुर्खेत,२ कात्तिक ।
‘तियाडी देउताका थान, काफल्का रुखति
फिस् उठाई पढाउने मेलो, थियो सहमति ।
स्कुल सञ्चालन गर्दा, छात्र बयालिस
महिनाको तिर्नुपर्ने, एक रुपैया फिस ।।’
यहाँ यसरी नै शैक्षिक विकास भएको हो । माथिका हरफहरुले वि.सं. २०१३ सालमा हालको कर्णाली प्रदेशमा शैक्षिक गतिविधिको सुरुवाती समयका विषयमा वोध गराएका छन् । बिहिबार साँझ, वीरेन्द्रनगर–६ निवासी टेकबहादुर खड्काले यी हरफहरु लय मिलाएर गाए ।
हरफका शब्द उनकै हुन्, अनुभव पनि उनकै र नेतृत्व पनि । दैलख जिल्लामा शैक्षिक गतिविधि सञ्चालन समयताकाका योद्वा हुन् खड्का । ४१ वर्ष शिक्षण सेवामा बिताएका खड्काले दैलेखको तत्कालिन कालभैरव गाउँ विकास समिति वडा नं. ४ मा शैक्षिक गतिविधि विस्तारका लागि योगदान पु¥याएका छन् । तत्कालिन समयमा गुरुकुलबाट शिक्षा लिएका उनले सोहि क्षमता आधारमै विद्यालय स्थापनार्थ योगदान दिए । पढ्ने र पढाउने चलन त्यति थिएन।

मध्ययम वर्गीय परिवारमा हुर्किएका उनले भने गुरुकुल शिक्षाको अवसर प्राप्त गरे । सोहि आधारमै विद्यालय स्थापना पनि गरे । वि.सं. २०१३ सालको समय थियो, गाउँको तियाडी क्षेत्र नजिक रहेको देवीदेउताको थानमा विद्यार्थी राखेर उनले अध्यापन सुरु गरेका हुन् ।
‘ठूलो काफलको रुख थियो, त्यहि विद्यार्थी राखेर म उनीहरुलाई पढाउँथे ।’ विगत सम्झिंदै उनले भने, तत्कालिन समयमा सरकारले शिक्षकका लागि तलबलगायतका सेवा–सुविधा व्यवस्था गरेको थिएन। विद्यार्थीबाटै केहि शुल्क उठाई पढाउने गाउँलेसँग सहमति भयो । उनी मात्रै हैन, त्यो बेला नजिकका गाउँहरुका मुखिया समेत शैक्षिक गतिविधि विस्तारका पक्षमा थिए । पढ्ने विद्यार्थी पनि खोज्नुपथ्र्यो । तर सफलता भने सुरुमै ४२ जना विद्यार्थी छात्र भेला गरियो ।
विद्यार्थीहरुले संकलन गरेको एक रुपैयाँ उनै शिक्षक खड् काका लागि तलब भन्ने सहमति भयो । ‘विद्यालय स्थापना ग¥यौं । म मात्र एक्लो शिक्षक थिएँ । विद्यालयको नाम श्री ज्वाला नेपाल राष्ट्रिय प्राथमिक स्कुल रह्यो’, उनले भने । सो समयमा छोरीलाई पढाउने चलन पनि थिएन । त्यसैले खड्काको विद्यालयमा छात्रहरु मात्रै भए । २०१६ सालमा भने उक्त विद्यालयलाई तत्कालिन सरकारले अधिकार पत्र थमायो ।
जसले पढे र पढाएपनि
शिक्षक खड्का अहिले अवकासको जीवन बिताईरहेका छन् । २०५७ साल फागुन १६ गते शिक्षण पेशाबाट खड्काले अवकाश लिए। वीरेन्द्रनगरमा डाँडा स्कुल नामले प्रख्यात तत्कालिन नेपाल राष्ट्रिय प्राथमिक निम्न माध्यमिक विद्यालयबाट उनले अवकाश लिए ।
अवकाश लिदाँको समयसम्म उनीसँग ९ कक्षासम्मको अनुभव छ । दैलेखमा विद्यालय स्थापनाताका उनीसँग गुरुकुल शिक्षाको अनुभव थियो । शैक्षिक गतिविधिमा उनी आपूm पनि पढें अनि नयाँ पुस्तालाई पनि पढाए । उनी स्मरण गर्छन्, ‘२०१४ सालमा हामीले विद्यालय सुरु गरेका थियौं । मैले २०१८ सालमा ९ कक्षा उत्तीर्ण गरेको हुँ । कक्षागत शिक्षा भन्दा पनि म अध्ययनमा रुचाउँथे । त्यो बेला पाइने सबै किताव पढ्थे ।’ त्यतिबेला देशमा राणाहरुको शासन भएकाले विद्यालयहरु थिएनन् ।
गुरु कुल शिक्षाका लागि पनि निकै टाढा पुग्नुपर्ने बाध्यता थियो । २००६ साल देखि अध्ययन सुरु गरेका हुन् । उनको पहिलो शिक्षक भनेका उनका बुवा थिए । ‘मैले आफ्नै घरमा पहिलो पटक क..ख..रा पढें । उनले भने,त्यो बेला बुवाले अक्षर चिन्नुहुन्थ्यो । उहाँले मलाई त्यहि सिकाउनुभयो ।’ त्यसपछि मात्र आपूmले गुरुकुलको शिक्षा लिएको खड्काले बताए ।
वि.सं. १९९९ असार २२ गते दैलेखको भुकाँहा गाउँ क्षेत्रमा जन्म लिएका खड्काले थुप्रै पुरस्कार तथा सम्मान पाए । जागिरे जीवनको अवकाशपछि उनका दुई कृति पनि प्रकाशित भएका छन् । जीवन संस्करण संग्रह र तीर्थ यात्राका उनका कृतिहरु हुन् । २०५१ सालमा उनले तत्कालिन सरकारद्वारा सेवा पदक् मार्फतपनि विभूषित भए ।
तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले शिक्षक खड्कालाई सेवा पदकद्वारा विभूषित गरेका थिए। उनले भने, ‘सेवा पदक पाउनेबेला मलाई महशुस भयो कि कामको मूल्यांकन समेत हुँदोरहेछ । ४३ औं स्काउट दिवसका अवसरमा मलाई पदक दिइएको थियो ।’
विद्यार्थीकै झल्को
उमेरले ८० वर्ष पुगें उनी । अहिले पनि काफलबोट मुनी उनीसँग पढ्न आएका विद्यार्थीको अनुहार मानसपटलमा ताजै छ । अहिले पनि उनी ती विद्यार्थीहरुको नाम सजिलै लिन्छन् । ‘ती विद्यार्थीहरु अहिले पनि कोहि भेट्न आउँछन् कोहि फोन गर्छन् । शुशिला र केशव थापालाई म अझैपनि सम्झन्छु। उनीहरु पछि हामीले सुरु गरेको विद्यालयमा पढेका हुन् ।
मटेला गाउँतिरका कर्ण थापा, महता गाउँका डम्बर महतरा पछि असई र शिक्षक पनि भए’, उनले भने, ‘ मानबहादुर, प्रेम खड्का, अम्मर भण्डारी, जंगबहादुर भण्डारी, राम, यिनीहरु बडो मिहेनेतका साथ पढ्थे ।’ सुर्खेतमा उनले पढाएको डाँडास्कूलका थुप्रै विद्यार्थीहरु अहिले राजनीतिक, प्रशासनिक र व्यापारिक क्षेत्रमा स्थापित भएका छन् ।
आफुले अक्षर चिनाएका अनुहारले आज समाज चिनाउँदा बेग्लै गर्व र गौरव लाग्नु एउटा शिक्षकले जीवनभर कमाएको पूँजी हो । त्यहिमाथि दिनहुँ बाटोमा हिंडदै गर्दा आफुले भूलिदैं गएका अनुहारले सम्मानका साथ नमस्कार गर्दै आदरभावका साथ बोल्दै गर्दा उनको अनुहारमा झन धेरै खुशी छल्किन्छ ।






