देउवा–प्रचण्ड–नेपाल–केपि : आफु र आफ्न्त सुरक्षित गर्न गठबन्धन तर उनीहरु गृह वडामै मतदाताबाट असुरक्षित

काठमाडाै, ३ जेष्ठ ।
प्रधानमन्त्री देउवाकै वडामा पराजित
प्रधानमन्त्री शेरबहादुर देउवाको पुख्र्याैली थलो रहेको वडामै कांग्रेसका उम्मेदवार पराजित भएका छन् । प्रधानमन्त्री देउवाले मतदान गरेको डडेल्धुरा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा कांग्रेसका उम्मेदवार पराजित भएका हुन ।
यो प्रधानमन्त्री देउवाको मतदाता नामावली भएको वडा पनि हो । उक्त वडामा अध्यक्षमा कांग्रेसका पूर्व नेता कर्ण मल्ल नेतृत्वको कांग्रेस बीपीका उम्मेदवार नरेश भण्डारी वडाध्यक्षमा विजयी भएका छन् ।
ओलीलाई वडामै झट्का काँग्रेसको प्यानलै विजयी
नेकपा एमाले अध्यक्ष केपी ओलीले मतदान गरेको वडामा नेपाली काँग्रेस विजयी भएको छ । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गरेको थिए ।
सूर्यविनायक नगरपालिका २ बालकोटबाट नेपाली काँग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी भएको हो । कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे ।
समाजवादीका नेता खनालको घरमै वडा सदस्य पराजित
इलाममा स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणम अनुसार केही वडाको अन्तिम परिणम आउन सुरु गरेको छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको जन्मगाउँ इलाम नगरपालिका–१ मा खनालकै दलका उम्मेदवार पराजित भएका छन् ।
गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षसहित ३ सदस्य विजयी भएका छन् । नेकपा (एस) का वडा सदस्यका उम्मेदवार भने नेकपा एमालेका उम्मेद्धारसंग पराजित भएका छन् । खनालको पुख्यौली घर रहेको वडामा गठबन्धनबाट कांग्रेस उम्मेदवार गायत्रीराम बस्नेत विजय भएका हुन् ।
उनले २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्ष बनेका अम्बिकाप्रसाद गौतमलाई पराजित गरेका छन् । बस्नेतले १ हजार ८१ मत ल्याएका छन् भने प्रतिस्पर्धी गौतमले १ हजार २२ मत ल्याए। महिला वडासदस्यमा कांग्रेसकै मनकुमार गुरुङ, महिला वडा सदस्य डायना राई र दलित महिला सदस्यमा मुनादेवी रसाइली विजयी भएका छन् ।
गठबन्धनकै तर्फबाट उम्मेदवारी दिएका वडा सदस्यका उम्मेदवार इन्द्रबहादुर कटवाल भने पराजित भएका छन् । उनलाई एमालेका खड्गबहादुर गुरुङले पराजित गरेका हुन् ।
माधव नेपालको गृह वडामा समाजवादी विजयी
रौतहट सदरमुकाम गौरको मतगणना सुस्त गतिमा चलिरहँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ । शुक्रबार रातिदेखि नै मतगणना सुरु गरिए पनि आइतबार दिउँसोसम्म दुई वडाको मतगणना सकिएको छ ।
दुवै वडामा नेकपा एसले वडाध्यक्षसहित सबै सदस्य पदमा जित हाँसिल गरेको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृह पालिका गौरको गृह वडा नम्बर २ मा नेकपा एसको सम्पूर्ण प्यानल नै विजयी भएको छ । अध्यक्ष नेपाल खेले हुर्केको वडामा नेकपा एसका विनोदप्रसाद जयसवाल वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
नेकपा एस, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर रहेको भनिएको नेपालको गृह वडामा नेकपा एसका उम्मेदवारले सजिलो जित हाँसिल गरेका छन् । गत शुक्रबार नेपालले मतदान गरेको वडामा नेकपा एसले विजयी प्राप्त गरेपछि खुसियाली पनि मनाइएको छ ।
वडामा खसेको कूल १६३४ मत मध्ये नेकपा एसका वडाध्यक्ष उम्मेदवार जयसवालले ५९३ मत पाएर विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसले ४३८ मतमा सीमित हुनु परेको छ।
देशभरका प्रमुख वडाको मतगणना परिणामको विषयमा चासो भइरहँदा नेकपा एसका माधवकुमार नेपालको वडालाई निकै चासो साथ हेरिएको थियो। माधव नेपालको गृह वडामा नेकपा एसका मेयर उम्मेदवार शम्भु साह कानुले ७७८ मत प्राप्त गरेका छन् ।
मेयर उम्मेदवार कानुले आफ्नो वडामा ११४७ मत प्राप्त गरेका थिए। गौर नगरपालिकामा वडा नम्बर १ र २ को मतगणना सकिएर मत परिणाम सार्वजनिक हुँदा मेयरमा नेकपा एसका शम्भु साह कानुले १९२५, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अजयकुमार गुप्ताले ६३२ तथा नेपाली कांग्रेसका मोहन यादवले ६०८ मत प्राप्त गरेका छन् । गौर नगरपालिका १ को वडाध्यक्षमा पनि सम्पूर्ण प्यानलसहित नेकपा एस विजय हासिल गरेको थियो ।
अर्थमन्त्री जनार्दन शर्माको वडामा कांग्रेसले जित्यो
नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माको वडामा नेपाली कांग्रेसले जितेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. ५ मा नेपाली काँग्रेसका समिरजंग मल्ले वडाध्यक्ष जितेका हुन ।
२०७४ सालमा यो वडामा नेकपा माओवादी केन्द्रका सुशील गौतमले जितेका थिए । फेरि पनि उनै गौतम वडाध्यक्षमा भिडे पनि शाहसँग पराजित भएका छन् । अर्थमन्त्री शर्मा यसपटक पनि झन्डै दुई हप्ता आफ्नो पार्टीको लागि माहोल निर्माण गर्न गृह जिल्लामा गएर बसेका थिए ।
त्यो बीचमा रूकुममा कांग्रेस र माओवादीका बीचमा थुप्रै झडपहरू पनि भएका थिए । उक्त वडामा माओवादी केन्द्रले एक जना सदस्यमात्र जितेको छ । नगर प्रमुखमा पनि कांग्रेस–एमाले गठबन्धनले अग्रता कायम राखेको छ ।
प्रकाश ज्वालाकै वडामा समाजवादी पराजित
नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको वडामै नेकपा एकीकृत समाजवादी पराजित भएको छ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ को वडाअध्यक्षमा नेकपा एकीकृत समाजवादीका डम्बरबहादुर साहुलाई नेपाली काँग्रेसका थुमबहादुर बिसीले पराजित गरेका हुन् ।
बिसीले ६२३ मत ल्याएर जितेका हुन् । यो नगरमा मेयर÷उपमेयरमा सत्तारुढ तीन दलबीच तालमेल भए पनि वडाहरूमा तालमेल हुन सकेन । ज्वालाको वडामा समाजवादी र नेकपा माओवादीबीच तालमेल गर्दा पनि समाजवादी तेस्रो स्थानमा सीमित रह्यो ।
दोस्रोमा एमालेका दिपबहादुर खड्काले ५५७ मत ल्याए । महिला सदस्यमा एमालेकी भाग्यवती बस्नेत ६१२, दलित महिला सदस्यमा एमालेकी विष्णु विक ५५७, सदस्यमा एमालेका राजेन्द्र खत्रीले ५३६ र एकीकृत समाजवादीका लोकबहादुर बुढा ५१५ मत ल्याएर विजयी भएका छन् ।
मेयरका तीन दलीय गठबन्धनका साझा उम्मेदवारको रुपमा माओवादीका कर्णबहादुर बुढाथोकी छन् भने उपमेयरका काँग्रेसका पुरुषोत्तम आचार्य छन् ।
काँग्रेस प्रदेश सभापति ललितजंग शाहीको गड भत्कियो
काँग्रेस कर्णाली प्रदेशसभापति ललितजंग शाहीको गड माओबादी केन्द्रले भत्काएको छ । चन्दननाथ नगरपालिकाको काँग्रेसको गडमानिएको वडा नं. ५ मा माओवादी केन्द्रले बिजय हात पारेको हो ।
लामो समयदेखी नेपाली कांग्रेसले जित्दै आएको र कांग्रेसका प्रदेश सभापति ललितजंग शाही, यसअघि प्रदेश जलस्रोत मन्त्री दिनवन्धु श्रेष्ठको वडामा माओवादीले नेतृत्व हात पारेपछि नेपाली काँग्रेसको गड भत्किएको छ ।
जुम्ला सदरमुकामको मुटुमा रहेको वडा नम्बर ५ मा नेकपा माओवादीका वडाध्यक्ष बिर्ख कार्की वडाध्यक्ष पदमा बिजयी भएका छन् । नवनिर्वाचित वडाध्यक्ष कार्कीले १सय ६८ मत प्राप्त गरेका छन् ।
उनका प्रत्यासी स्वतन्त्र उम्मेदवार पुर्ण प्रसाद श्रेष्ठ १४९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेस पाटीबाट उम्मेदवार, नवराज श्रेष्ठले १सय ४३ मत प्रप्त गरेका छन् ।
त्यस्तै वडासदस्यमा माओवादीका लक्ष्मी थापा (श्रेष्ठ) बिजय भएकी छन् । श्रेष्ठले १५६ मत प्राप्त गरेकी छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार हरिबहादुर भण्डारी सदस्यले १८८, नेपाली कांग्रेसका नामग्याल तामाङ र दलित महिला सदस्यमा समाजवादीका काली सुनार बिजयी भएका छन् । नामग्यालले १७३ मत र काली सुनारले १६७ मतले अघि रहेको छ ।







