स्थानीय तह निर्वाचनको सन्देश : दोहोरिएका जनप्रतिनिधि जनताले रुचाएनन्

सुर्खेत, ३ जेष्ठ ।
२०७४ सालको निर्वाचनमा दैलेखका विभिन्न स्थानीय तहको निर्वाचनमा अत्याधिक मतका साथ विजयी बनेका जनप्रतिनिधिहरुले यो पटकको स्थानीय तहको निर्वाचनमा हार चाखेका छन् ।
वितेका पाँच वर्षमा आफूले राम्रो काम गरेको भन्दै पालिका प्रमुख तथा उपप्रमुखको टिकट लिएका अधिकांश जनप्रतिनिधिलाई मतदाताले हराई दिएका हुन ।
अर्थात दैलेखका मतदाताले २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिको कामलाई अस्वीकार मात्रै गरेनन्, उनीहरुलाई पराजित नै गरिदिए । मतदाताले उनीहरुलाई सोही पदमा दोहा¥याउन समेत चाहेनन् ।
दैलेखको डुंगेश्वर गाउँपालिकामा २०७४ सालको निर्वाचनमा अध्यक्षमा नगेन्द्रबहादुर मल्ल विजयी बनेका थिए तर यसपटकको निर्वाचनमा भने उनी एमालेसँग पराजित भएका छन् ।
एमालेका सुन्दरकुमार केसीसँग उनी ७० मतले पराजित भए ।गुराँस गाउँपालिकामा खेमराज वली पराजित भएका छन् । अन्य गाउँपालिकाको तुलनामा राम्रो काम गरेको भन्दै प्रशंसा पाएका नेपाली काँग्रेस दैलेखका सचिव वली एमालेसँग भएको प्रतिस्पर्धामा पराजित भएका हुन । उनले ४३६६ मत पाउँदा एमालेका टोपबहादुर विसीले ४६८१ मत पाए ।
यहाँ उनले ३१५ मतान्तरमा चुनावमा पराजय भोग्नुपरयो । यस्तै यहि पालिकाको उपाध्यक्षमा २०७४ सालमा विजेता बनेकी काँग्रेसकै दिपा कुमारी विसी समेत पराजित भईन ।
उनले ४११८ मत ल्याउँदा एमालेका सिवा कुमारी खड्काले ४६९८ मत ल्याएर जीत हात पारिन । यहाँ दिपाले ५८० मतले हारेकी छिन् ।
नौमुले गाउँपालिकामा २०७४ सालमा निर्वाचन जितेको भदे बुढामगर यो पटक हार्न पुगे । उनले २५४४ मत ल्याउँदा माओवादी केन्द्रका छविराम सुवेदीले ३२ सय मत ल्याए ।
यस्तै २०७४ मै निर्वाचित भएकी उपाध्यक्ष अमृता सिंह चार सय भन्दा बढि मतको अन्तरमा पराजित हुन पुगिन । उनले २४०५ मत ल्याउँदा एककीकृत समाजवादीका गंगबहादुर शाहीले २८३४ मत ल्याएर विजयी भए ।
भैरवी गाउँपालिकाको उपाध्यक्षमा २०७४ सालमा एमालेबाट पदम कुमारी विष्ट निर्वाचित भएकी थिईन । यो पटक पनि पार्टीले उनैलाई टिकट दिएको थियो । उनले यो पटक ३२२७ मत ल्याउँदा नेपाली काँग्रेसकी देवी भण्डारीले ३३७४ मत ल्याएर विजयी बनिन् ।
महावु गाउँपालिकामा २०७४ सालमा एमालेबाट अध्यक्षमा जंगबहादुर शाही निर्वाचित भएका थिए । उनी एमाले विभाजनताका नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे ।
उनी फेरि पालिका अध्यक्ष त उठे तर उनलाई जीत त टाढाको कुरा भयो, दोश्रो स्थानमा समेत उनी आउन सकेनन् । उनी पालिका अध्यक्षमा तेश्रो मतमा खुम्चिए ।
दैलेखको नारायण नगरपालिकामा २०७४ सालमा एमालेबाट सावित्री मल्ल उपप्रमुखमा विजयी भएकी थिईन । एमाले विभाजनको समयमा उनी समाजवादीतिर लागिन । अहिले गठबन्धनबाट उनलाई उपप्रमुख उठाइएको छ तर उनी यो समाचार तयार पार्दासम्म दोश्रो स्थानमा छिन् ।
उनलाई नेकपा एमालेका उपप्रमुखका उम्मेदवार तप्ता कुमारी थापाले झण्डै सात सय मतको अन्तरमा पछाडी पारेकी छिन् । दैलेखको ११ ओटा पालिकामा दोहोरिएका मध्ये मल्ल बाहेक सबै पराजित भएका छन् । यसबाट दोहोरिन चाहेका जनप्रतिनिधिले राम्रो काम नगरेको भन्दै जनताले मतद्धारा बहिस्कार गरेको बुझ्न सकिन्छ ।
सुर्खेतका वडाहरुको मतपरिणामको अवस्था पनि उस्तै छ । वीरेन्द्रनगर नगरपालिका–१ मा नेपाली काँग्रेसका उम्मेदवार दिनेश खत्री विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा अध्यक्ष पदमा नेपाली काँग्र्रेसका दिनेश खत्री विजयी भएका हुन् ।
उनले १४८५ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान वडा अध्यक्ष गंगाराम सुनारले १४४४ मत प्राप्त गरेका छन् ।
खत्रीले सुनारलाई ४१ मत अन्तरले हराउँदै वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अन्य ४ जना वडा सदस्यमा भने नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।
वीरेन्द्रनगर वडा नं. १६ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार डण्डबहादुर विश्वकर्माले ६०८ मत ल्याएर वडाध्यक्षमा जितेका छन् ।
उनका प्रतिस्पर्धी पूर्णप्रसाद ढकालले ५८३ मत ल्याएका छन् । ढकाल निवर्तमान वडा अध्यक्ष हुन । पुनः सोही पदमा उम्मेदवारी दिएका थिए । त्यस्तै खुला महिला सदस्य र एकजना खुला सदस्यमा नेकपा एमालेले जितेको छ । काँग्रेसले दलित महिला सदस्य र एकजना खुला सदस्य जितेको छ ।
गाउँपालिकामा निर्वाचित अध्यक्ष वडा सदस्यमै पराजित
सुर्खेतको बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्नेत वडा सदस्यमै पराजित भएका छन् । बराहताल गाउँपालिका–८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्नेतलाई एमालेका प्रेमराज लिम्बु र छविलाल जैसीले हराएका हुन् ।
बस्नेतले ५३९ मत मत पाएको थिए भने लिम्बुले ५९१ र जैसीले ५७८ मत पाएका थिए । उनी ०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । तर, ३० वैशाखमा भएको निर्वाचनमा उनी वडा सदस्यमा भिडेका थिए ।








