अर्गानिक कर्णालीमा : रासायनिक मल अभावले किसान चिन्तामा

पुनम वि.सी.
सुर्खेत, २१ जेठ ।
कर्णालीलाई आवश्यक चार हजार मेट्रिकटन
आपूर्ति १.५ मेट्रिकटन

वीरेन्द्रनगर–१० स्थित मनिकापुर कृषि सहकारी संस्था लि. को कार्यालयमा दैनिक जसो १०–१२ जना किसान सोधपुछका लागि आउँछन् । उनीहरुको एउटै प्रश्न हुन्छ, ‘मल कहिले आउछ ?’ बर्षातको समय सुरु हँुदैछ, सुर्खेतलगायत कर्णालीका किसानलाई रासायनिक मलको अभाव चिन्ताले सताउन थालेको छ ।

बजारमा मलको अभाव छ, सरकारले कृषि सहकारीसंस्थाबाट रासायनिक मल वितरण गर्ने व्यवस्था मिलाएको छ । तर रासायनिक मलको अभाव भएपछि किसानहरु कृषि सहकारी संस्थाका कार्यालयहरुमा धाईरहेका छन् ।

संस्थाका सचिव गणेशकुमार थापाले भने, ‘दैनिक १०–१२ जना किसान रासायनिक मल खोज्दै सहकारीको कार्यालयमा आईपुग्नुहुन्छ । तर के गर्नु, सहकारीले पनि रासायनिक मल खरिद गरी ल्याउन सकेको छैन ।’

कृषि सहकारी संस्थाहरुलाई रासायनिक मलका लागि कृषि सामाग्री कम्पनि लिमिटेडमार्फत खरिद गर्ने व्यवस्था छ । तर कम्पनीले माग भएअनुसार मलको व्यवस्था गर्न नसकेपछि किसानहरु मर्कामा परेका छन् ।

फोटो क्याप्सनः कृषि सामाग्री कम्पनि लिमिटेडको सुर्खेत स्थित प्रादेशिक कार्यालय । तस्विरः पुनम वि.सी.

चालु आर्थिक वर्षको हालसम्म मनिकापुर कृषि सहकारी संस्थामा ३५ क्वीन्टल डिएपी र ६ क्वीन्टल युरिया मल पुगेका थियो । दुई सय २३ जना किसान आवद्व उक्त संस्थाका लागि प्राप्त रासायनिक मलको यो परिमाण भने प्रयाप्त रहेन ।

संस्थाका सचिव थापाले भने, ‘धानका लागि भनेर हामीले एक सय क्विन्टल डिएपी माग गरेका छौँ । माग अनुसारको आउला भन्ने आस छैन । युरिया त झन् कर्णालीमा आएकै छैन रे ।’

जिल्लाकै भेरीगंगा नगरपालिका–६ स्थित सुन्धरा कृषि तथा पशुपालन सहकारी संस्थामा पनि रासायनिक मलको अभाव अवस्था उस्तै छ । संस्थामा आवद्व रहेका पाँच सय दुई जना किसानका लागि हालसम्म प्राप्त रासायनिक मल प्रयाप्त मात्रामा पुगेको छैन ।

चालु आर्थिक वर्षको हालसम्म संस्थाले ७५ क्वीन्टल डिएपी र ५० क्वीन्टल युरिया मल पाएको थियो । सुन्धरा कृषि तथा पशुपालन सहकारी संस्थासँग आवद्व किसानलाई अझै दोब्बर मात्रामा रासायनिक मलको आवश्यकता छ । संस्थालाई अझै एक सय ७५ क्वीन्टल डिएपी र दुई सय ५० क्वीन्टल युरिया मलको तत्काल आवश्यकता रहेको संस्थाका अध्यक्ष बलविर नेपाललीले जानकारी दिए ।

उनले भने, ‘समयमा मल नपाएपछि यहाँ किसानहरु चिन्तित हुनुहुन्छ । वर्षातको समय सुरु हुदैछ । मानो रोपेर मुरी फलाउने समयमा रासायनिक मल अभाव भएपछि किसानहरुको चिन्ता बढेको हो ।’

३७ प्रतिशत मात्र आपूर्ति
कर्णाली प्रदेशका किसानका लागि बार्षिक रुपमा करिव चार हजार मेट्रिक टन मल आवश्यक पर्छ । तर प्रदेशमा प्रत्येक आर्थिक बर्ष करिब एक हजार पाँच सय मेट्रिक टन हाराहारीमा मल भित्रिरहेको छ । प्रदेशको कृषि सामाग्री कम्पनि लिमिटेड कार्यालयका सूचना अधिकारी सुन्दर केसीले भने, ‘माग धेरै छ, सरकारले मल उपलब्ध गराउन सकेको छैन ।’

चालु आर्थिक बर्षमा कर्णालीमा एक हजार पाँच सय ४८ मेट्रिकटन रासायनिक मल भित्रिएको थियो । आर्थिक बर्ष सकिन नपाउँदै उक्त परिमाणबाट धेरै मल प्रयोग भईसकेको छ । कम्पनिसँग रासायनिक मलको मौजदात निकै कम छ । आर्थिक वर्ष सकिन नपाउँदै, धान उत्पादनका लागि आवश्यक समयमा किसानहरु मलको अभाव भोगिरहेका छन् ।

चालु आर्थिक वर्ष २०७८÷०७९ मा कर्णालीका लागि एक हजार ६० मेट्रिक टन युरिया मल भित्रियो । तर ०७८ असोज ताका नै युरिया सबै सकिसकेको थियो । चार सय १४ टन डिएपी र ७३ टन पोटास मल प्रदेशमा भित्रिएको थियो ।

कृषि सामाग्री कम्पनिसँग हाल गोदाममा ७२ टन डिएपी र दुई टन पोटास मात्र मौजदात छ । केसीले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मलको मुल्यबृद्वि भईरहेको अवस्था छ । कोभिडका कारण पनि अन्तर्राष्ट्रिय बजारमा मलको आपुर्तिमा कमी आएको छ । त्यसैले पनि नेपालमा रासायनिक मलको चरम अभाव देखिएको हो ।’

केसीले दिएको जानकारी अनुसार नेपालभर कुल सात लाख मेट्रिकटन रासायनिक मलको आवश्यकता छ । तर नेपालमा करिव १.५– दुई लाख मेट्रिकटन मात्र आयात भईरहेको छ । कर्णाली प्रदेश भर रहेका कुल एक सय आठ वटा कृषि सहकारी संस्थाहरुले कृषि सामाग्री मार्फत रासायनिक मल खरिद गरी किसानलाई बिक्रि–वितरण गरिरहेका छन् ।

के छ मलको मुल्य दरभाउ ?
कृषि सामाग्री कम्पनि लिमिटेडले वीरेन्द्रनगर स्थित प्रादेशिक कार्यालयमार्फत युरिया, डिएपी, पोटास र कृषि चुन बिक्रि वितरण गरिरहेको छ । युरियाप्रति मेट्रिक्टन १७ हजार तीन सय २० रुपैयाँ, डिएपी ४६ हजार तीन सय २० रुपैयाँ र पोटास प्रति मेट्रिक्टन ३४ हजार तीन सय २० रुपैयाँमा कृषि सामाग्री मार्फत कृषि सहकारी संस्थाहरुले मल उपलब्धताको आधारमा खरिद गरिरहेका छन् ।

त्यसैगरी युरिया प्रति बोरा आठ सय ६६, डिएपी एक हजार तीन सय १६ रुपैयाँ र पोटास एक हजार सात सय १६ रुपैयाँमा बिक्रि वितरण भईरहेको कृषि सामाग्री कम्पनि लिमिटेडको सुर्खेत कार्यालयका सूचना अधिकारी केसीले जानकारी दिए ।

रासायनिक मल बिक्रेताका लागि कम्पनिलाई निवेदनसँगै संस्थाको अडिट रिपोर्ट, प्यान प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ । यसका साथै सम्वन्धित स्थानीय तहको सिफारिस पत्र, सञ्चालक समितिको निर्णय, रासायनिक मल बिक्रेता सूचीमा दर्ता भएको प्रमाणपत्र पेश गर्नुपर्ने केसीले जानकारी दिए । मल बिक्रेताको लागि धरौटी स्वरुप २५ हजार रुपैयाँ तथा एक हजार पाँच सय रुपैया दस्तुर लाग्ने उनले बताए ।

‘अवैध मल बिक्री गरिएको भए सूचना दिनुस्’
अनुमति नलिई तथा गैरकानुनी रुपमा सुर्खेतमा रासायनिक मल बिक्रि वितरण भईरहेको भए प्रशासनलाई सूचना दिन सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको अनुरोध छ ।

गत वर्ष पनि कर्णालीमा रासायनिक मलको अभाव नै थियो । बजारमा रासायनिक मल अभावको मौका उठाउँदै केहि व्यवसायले सुर्खेतमा गैरकानुनी रुपमा मल बिक्रिवितरण गरेपछि प्रशासनले उनीहरुलाई कारवाहीको दायरामा ल्याएको थियो ।

चालु आर्थिक वर्ष २०७८/०७९ को हालसम्म बजारमा गैरकानुनी रुपमा रासायनिक मल बिक्रि वितरण नभएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । उनले भने, ‘यस बारेमा बजारको अवस्था सामान्यनै छ । कहिकतै गैरकानुनी रुपमा रासायनिक मल बिक्रि वितरण भईरहेको भए सूचना दिन अनुरोध गर्दछु ।’

अर्गानिक कर्णालीमा : रासायनिक मल अभावले किसान चिन्तामा

एकीकृत समाजवादीको दुई महिने अभियान

अर्गानिक कर्णालीमा : रासायनिक मल अभावले किसान चिन्तामा

नलगाडको एक विद्यालय तोडफोड, संग्लन दुई जना

Leave a comment

Your email address will not be published. Required fields are marked *