‘संघर्षमय जीवनको माया मिठो हुने रहेछ’
नवराज खड्का/कुन्ती ढकाल
जसले आफ्नो जीवनसाथी प्रति विश्वास राख्दछ, उसको माया पनि दिगो हुन्छ । सबै जोडीको माया दिगो हुँदैन । त्यस्तो सफल हुन्छ, जसले एक अर्कालाई बुझ्ने गर्दछन् । हरेक सुख, दुखमा साथ दिने गर्दछन् । एक अर्कामा विश्वासको वातावरण सृजना गर्दछन् । यो कुरा सबै जोडीहरुको लागि लागू हुन्छ । यस्तै आफ्नो पहिलो मायालाई सफल बनाएका जोडी हुन् नवराज खड्का र कुन्ती ढकाल । यो जोडीको प्रेम कथाका सन्दर्भमा आजको अंकमा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
सानैदेखि चिनजान
नवराज खड्का र कुन्ती ढकाल सानैदेखि एउटै विद्यालयमा पढ्थे । सानै कक्षादेखि चिनजान भएका उनीहरु पढाइमा पनि खुबै ध्यान दिने गर्थे । विद्यालयमा देखादेख हुन्थ्यो, तर उनीहरुबीच कुराकानी भने हुदैन्थ्यो । मनमा एकअर्काको इमान्दारिता भने चित्त बुझ्थ्यो उनीहरुलाई । नवराज सानै हुँदा उनको बुवाको निधन भयो ।
घरको जिम्मेवारी नवराजको काँधमा आउन थाल्यो । नवराजको आमा पनि धेरै काम गर्न सक्ने अवस्थामा नभएपछि उनी बिवाह गर्ने सोचमा पुगे । अनि शुरु भयो नवराजको प्रेमकहानी । कुन्तीको आमाले नवराजलाई आफ्नो छोरी बिवाह गराउन चाहान्थिन् । एकदिन नवराज कुन्तीकै घरमा गएर बिवाहको प्रस्ताव राखे । त्यही प्रस्तावले उनीहरुलाई बैवाहिक सम्बन्धसम्म पुगायो ।\
परिवारको सल्लाहमै विहे
नवराज र कुन्तीको भेट विद्यालयमा भइरहेको भए पनि बोलचाल भने भएको थिएन । जब एकदिन नवराजले बोलाए । कुन्तीलाई त्योदिन फरक अनुभव भइरहेको थियो । विस्तारै उनीहरु एकअर्कालाई माया गर्न थाले । एकअर्कालाई नजिकबाट नियाल्न थाले । उनीहरु दुबै जनालाई एकअर्काको बानी व्यवहार राम्रो लाग्न थाल्यो ।
योक्रम करिब एक बर्षसम्म रह्यो । उमेरले उनीहरु परिपक्व भइसकेका थिए । नवराज २६ बर्ष र कुन्ती २१ बर्षकी थिइन् । जागिर पनि शुरु गरिसकेका उनीहरु बिवाह गर्ने निधोमा पुगे । २०५२ सालामा उनीहरु बिवाह बन्धनमा बाधिन पुगे । घरपरिवारको सल्लाहमा उनीहरु बिवाह गरे । तर गाउँलेको नजरमा भने भागीबिवाह थियो । नवराजका दाईभाई सबै अलग भइसकेका थिए । नवराजसँग बिवाह गरेर आउँदा कुन्तीलाई माइतीमा धेरै जनासँग बसेको तर नवराजको घरमा कोही नभएर कताकता न्यास्रो लाग्थ्यो । सोचेभन्दा धेरै नवराजको माया पाउँदा उनी विस्तारै बानी पर्दै गइन् ।
विहेमा आफै घरको अभिभावक
आफ्नो बिवाहको दिनमा पनि कसैले आफै अभिभावको भूमिकामा काम गर्छ भनेर अच्चम्म लाग्न सक्छ । तर नवराज र कुन्तीले दुलाह दुलही भएकै दिनमा अविभावकको काम पनि गरे । नवराजका दाइभाई सबै अलग भइसकेका थिए । बिवाह मण्डपमा बसेका उनीहरु कतीबेला पाहुँनालाई खाना दिन जान्थे ।
कतीबेला मण्डपमा चाहिने सामान आफै लिन जान्थे । दुलहा दुलहीको अनुभव उनीहरुलाई भएन । बिवाहमा आएका अतिथि सत्कारदेखि सबै चाँजोपाजो मिलाउँदै मण्डपमा बस्दै उनीहरुले बिवाह गरे । संघर्षमय जीवनको माया मिठो हुँदो रहेछ, यो जोडी भन्छ, सबै अनुभवबाट नै जीवन सहज हुँदो रहेछ ।’
विवाहपछिको संघर्ष
नवराज र कुन्तीको विवाह पछिका दिन संघर्षमा बिते । बिवाह अगाडी नै घरको सबै जिम्मेवारी लिएका उनीहरुले धेरै संघर्ष गर्नुपर्यो । नवराजको आमा २०५३ सालमा नै वितिन् । बुवा त नवराजको बिवाह अगाडी नै वितिसकेका थिए । जागिर जीवन शुरु त थियो । तर घरमा कोही थिएनन् । नवराज साइलो छोरा भए पनि उनी सानैदेखि मेहनती थिए ।
उनले अलग भइसकेका आफ्ना दाई भाईहरुको बिवाहसमेत उनले नै गरिदिएका हुन् । अविभावको जिम्मेवारी निर्वाह गरेका उनले घरको आर्थिक कुरादेखि सबै जिम्मेवारी नवराज र कुन्तीको काँधमा थियो । उनीहरुको जीवन धेरै संघर्षमा नै वित्यो । तर जती नै संघर्ष गरे पनि दुबै जनाले एकअर्कालाई धेरै साथ र सहयोग गर्थे । २०५२ सालमा नवराजको शिक्षण सेवा शुरु भयो । लगत्तै कुन्तीले पनि जागिर शुरु गरेपछि जीवन सहज बन्न थाल्यो ।
कस्तो थियो बाल्यकाल ?
बुवा रुद्रबहादुर खड्का र आमा यामसरा खड्काको कोखबाट २०२८ सालमा वीेन्द्रनगरको नेवारेमा जन्मिएका नवराजको घरको साइलो छोरा हुन् । ६ जना भाइबहिनी नवराजका थिए । उनको बाल्यकाल दुखले वित्यो । सानोमै बुवा गुमाए । आमा एक्लैले सबै काम गर्नुपथ्र्यो । घरको काम गर्दै पढ्दै गरेका उनले कक्षा १ मा मावि इत्रामा पढेका हुन् । २ कक्षादेखि ९ कक्षासम्म अमरज्योति मावि नेवारेमा पढेका उनले एसएलसी पास भने जन माविबाट गरेका हुन् ।
सानोमा नवराज गम्भिर स्वभावका थिए । तर अन्यायको विरुद्धमा उनी जोसँग पनि जाइलाग्थे । उनले उच्च शिक्षा भने शिक्षा क्याम्पस सुर्खेतबाट गरेका हुन् । एसएलसी पास गरेपछि उनले जागिरी शुरु गरिसकेका थिए । उनी अहिले गाग्रेताल विद्यालयमा पढाउछन् । बुवा यामबहादुर ढकाल र आमा मानकुमारी ढकालको कोखबाट वि.स २०३३ सालमा जन्मिएकी कुन्तीको बाल्यकाल सुखद्सँगै बित्यो । धेरै नबोल्ने स्वभावकी उनी घरकी कान्छी छोरी हुन् । सानै कक्षादेखि उनले अमरज्योती माविमा पढिन् । २०५० सालमा त्यही विद्यालयबाट एसएलसी पास गरिन् । उनले उच्च शिक्षा भने २०६० सालमा शिक्षा क्याम्पसबाट गरेकी छन् । अहिले उनी हस्तविर सामुदायिक विद्यालयमा पढाउछीन् ।
सल्लाह र सहकार्य
संघर्ष गरेर सफलतामा पुगेका यो जोडी अहिले खुसी छन् । दुबैको सरकारी जागिर छ । यो जोडी जे काम गर्दा पनि सल्लाह र सहमतिमा मात्र गर्ने गर्छन् । यस्तो गर्दा सम्बन्धमा खटपट आउँदैन । यो जोडी काममा नै धेरै व्यस्त हुने भएकाले सँगै घुम्न जाने, एउटै विषयमा बहस गर्न मन पराउछन् । घरमा केही समस्या आयो भने दुबैले एकअर्कालाई हौसला दिने गर्छन् ।
मनपर्ने बानी
यो जोडी एकअर्काेको केही बानी असाध्यै मन पराउछन् । नवराजको सबै कुरामा साथ र सहयोग गर्ने बानी कुन्तीलाई साह्रै मनपर्छ । आफु रिसाएको बेला केही नबोल्ने बानी पनि उनलाई अझै धेरै मनपर्छ । नवराजलाई भने सबै कुरा शेयर गर्ने बानी मनपर्छ । अझै धेरै विश्वासको वातावरण तयार गर्नुका साथै सबै आफन्तहरुलाई रेसपेक्ट गर्ने बानी मनपर्छ ।
एकअर्काे बीचमा विश्वास र समझदारी भए मात्र दाम्पत्य सम्बन्धलाई दिगो बनाउन सकिने उनीहरूको भनाइ छ । जबसम्म एकअर्काे बीचमा समझदारी र विश्वास कायम हुँदैन, तबसम्म सम्बन्ध राम्रो नहुने उनीहरूको भनाइ छ । उनीहरूको अनुसार जीवन भनेको संघर्ष, भोगाइ र कर्म हो । जीवनमा अनेक दुःख, बाधा अवरोधहरू आइपर्छन् । ती दुःख, बाधा, अवरोधहरूलाई सहजताका साथ समाधान गर्ने सक्नु नै जीवन हो । जीवनमा दुःख नगर्ने व्यक्ति सफलतामा नपुग्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार जीवनसाथी भनेको हरेक सुख दुःखमा साथ दिने, जीवनको अन्त्यसम्म साथ दिने साथी हो । जीवनको हरेक दुखसुखमा अनि जीवनको अन्त्यसम्म साथ दिन्छ उ नै जीवनसाथी हो ।