पानीका मुहान संरक्षण गर्ने विषयमा छलफल
सुर्खेत, १६ फागुन ।
पानीका मुहान संरक्षण गर्ने सम्बन्धिको अन्तरक्रिया कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । जोवा र युनिका फाउण्डेसनको सहयोग रिन्युएबल वल्र्डको नेतृत्व र सुन्दर नेपाल संस्था तथा नेपाल पानी सदुपयोग फाउन्डेसनको सहकार्यमा छलफल कार्यक्रम भएको हो ।
रिन्युएबल वल्र्ड र सुन्दर नेपाल संस्थाको सहजीकरण तथा स्थानीय सरकारको प्राविधिक/आर्थिक सहयोग र स्थानीय उपभोक्ताको सहकार्यमा पानीको समस्या रहेका सुर्खेत जिल्लाका १० स्थानमा सौर्य ऊर्जा प्रविधिमा आधारित सोलार मुस कार्यक्रम सञ्चालन भएका स्थानमा गरिएको अध्ययनमा आवश्यक सुझाव संकलन गर्ने र पानीका स्रोतको संरक्षणमा ध्यान दिई विकास निर्माण प्रेरित गर्ने अभिप्रायले सो कार्यक्रमको आयोजना गरिएको हो ।
जलवायु परिवर्तनलगायत कारणले पानीका स्रोतहरु घट्ने तथा सुक्ने क्रम बढिरहेको तर पानीको माग पनि दिनप्रति दिन बढिरहेको अवस्थामा मुहानहरुको संरक्षण नगरे आगामी दिनमा पिउने पानी नै नपाउने अवस्था आउनसक्ने विज्ञहरुले बताए । पानीका मुहानहरुलाई दिगो बनाउनका लागि ठोस संरक्षण योजना बनाएर कार्यान्वयन गर्न र देशका नीति तथा कानुनहरुले समेत जोड दिएको धारणा राखेका थिए ।
कार्यक्रममा मुहान संरक्षणका प्राविधिक पक्षका बारे नेपाल पानी सदुपयोग फाउन्डेसन प्रतिनिधि जल तथा भूगर्भविद्ध गोविन्द शर्मा पोखरेलबाट, पानीका मुहान संरक्षण सम्बन्धी नीति तथा कानुन सक्वन्धि नेपाल पानी सदुपयोग फाउन्डेसनका कार्यकारी संयोजक डा. चिरञ्जीवी भट्टराईबाट र पानीका स्रोत संरक्षणका चुनौती र अवसरहरुका बारेमा पूर्व जलस्रोत मन्त्री तथा प्राज्ञ दीपक ज्ञवालीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा १० ओटै मुहानहरुको जल तथा भौगर्भिक अवस्थाको बृहत् अध्ययन, भौगोलिक सूचना पद्धति, वर्षा तथा जलवायु परिवर्तनका प्रवृति र प्रभावमापन, स्थलगत अध्ययन भ्रमण र समुदाय तथा विज्ञसँग अन्तरक्रिया समेत गरेर छुट्टाछुट्ट्रै संरक्षण योजनाका मस्यौदा तयार गरी प्रस्तुत गरिएको थियो ।
कार्यक्रम कर्णाली योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकाय र सदस्य योगेन्द्र शाहीले कर्णाली प्रदेश सरकारले पानीको मुहान संरक्षणलाई प्राथमिकतामा राखेको र सहकार्यका आयामहरुको बारेमा धारणा राखेका थिए । कार्यक्रममा सुर्खेत र दैलेखका विभिन्न स्थानीय तहका प्रमुख, सरकारका प्रतिनिधि, कार्यक्रम लागु भएका वडा अध्यक्ष र स्थानीय उपभोक्ता समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसालको अध्यक्षतामा सम्पन्न भएको हो ।






