‘राष्ट्रपति रबर स्ट्याम्प भएकै हो, त्यसविरुद्ध बोल्न पाइँदैन भन्ने हु इज केपी ओली ?’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीका रबर स्ट्याम्प भएको आरोप लगाएका छन्।
संसद् भवनमा विपक्षी गठबन्धनले पत्रकारसँग गरेको अन्तरक्रियामा उनले भने, ‘राष्ट्रपति ओलीको रबर स्ट्याम्प भएकै हो। त्यसको विरोध गरेर बोल्न पाइँदैन भन्ने हु इज केपी ओली?’
उनले राष्टपति राजाभन्दा बढी हुन खोजेको बताएको भन्दै राजा ल्याउनुपर्यो नभनेको स्पष्टीकरण दिए। बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा उनले राष्ट्रपतिभन्दा राजाकै मान सम्मान रहेको बताएका थिए। यसको चौतर्फी आलोचना भएपछि उनले स्पष्टीकरण दिएका हुन्।
संसद् पुनःस्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने उनले बताए। १४९ जना सांसदहरुको बहुमतसहित दाबी पेश भएकाले देउवा नै प्रधानमन्त्री हुनुपर्ने उनको भनाई थियो।
‘देउवाजी आफै प्रधानमन्त्री हुन्छु भनेको होइन, माधवजी र मैले नै उहाँलाई अघि बढ्नुहोस् भनेको हौँ’ उनले भने।
आफूहरुको प्रधानमन्त्री हुनका लागि आन्दोलन नगरेको भएकाले संविधान, लोकतन्त्रको रक्षाको लागि नयाँ सरकार बनाउनुपर्छ भनेर लागेको स्पष्ट पारे। ओलीबाट संविधानमाथि नै प्रहार भएकाले त्यसविरुद्ध संघर्ष गरेको उनको भनाई छ।
आफूले सर्वोच्च अदालतमा कुनै सेटिङ नगरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई धम्काउन थालेको प्रचण्डको आरोप छ। केपी ओली नै झुट र बेइमानीको पराकाष्ठा भएको उनको भनाई छ।
संसद् विघटनलाई केपी ओलीकै मान्छेले गलत भनिरहेका उनले बताए।






