राष्ट्रपतिले प्रधानमन्त्रीको कार्यकर्ता बनेर काम गर्नुभयो : देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता बनेर काम गरेको आरोप लगाएका छन् ।
संघीय संसद भवन बानेश्वरमा विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले प्रधानमन्त्रीको दाबीमा शंका लाग्दा सनाखत गर्न सक्ने अधिकार भए पनि नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘राष्ट्रपतिलाई हामीले १ सय ४९ जना सांसदको हस्ताक्षरसहित दाबी गरेपछि उहाँलाई शंका लागेको भए सनाखत गर्न सक्नुहुन्थ्यो। उहाँले त ओलीको कार्यकर्ता जस्तो बनेर काम गर्नुभयो ।’ देउवाले भने, ‘भारतमा पनि यस्तो अभ्यास गरिएको छ तर यहाँ राष्ट्रपतिले केही गर्दै नगरी संसद विघटन गर्नुभयो ।’
राष्ट्रपतिले संविधानअनुसार आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा नगरेपछि आफूहरु अदालत जानुपरेको उनले बताए ।
‘अब अदालतले मलाई प्रधानमन्त्री तोकेर ३० दिन भित्र विश्वासको मत लिनु भनेर आदेश गर्छ भन्ने मलाई विश्वास छ।’ देउवाले भने ।






