फ्रान्स, जर्मनी र पोर्चुगल युरो कपको नकआउट चरणमा प्रवेश

एजेन्सी । युरो कप फुटबलमा फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन् । समूह एफमा रहेका तिनै टोली अन्तिम १६ मा प्रवेश गरेका हुन्। समूह एफमा फ्रान्स समूह बिजेता, जर्मनी उप विजेता बन्दै नकआउट चरणमा प्रवेश गरे। फ्रान्सले हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो।

हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे। पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।​ रोमान्चक बनेको खेलको ३१ औं मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।

फ्रान्सका गोलकिपर ह्युगो लोरिसले पेनाल्टी क्षेत्रमा डानिल पेरीएरालाई फउल गरेपछि पोर्चुगलले पेनाल्टीको अवसर पाएको हो। जसमा रोनाल्डोले सहजै गोल गरे। पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए। पोर्चुगलका नेल्सन सेमिडोले केलियन एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको हो।

बेन्जिमाले फ्रान्सका लागि ५ वर्ष २ सय ५८ दिनपछि गोल गरेका हुन्। पछिल्लो पटक उनले फ्रान्सका लागि २०१५ को अक्टोबर ८ मा गोल गरेका थिए। दोस्रो हाफको सुरुवातमै फ्रान्सले अग्रता बनायो। पाउल पोग्बाको पासमा बेन्जिमाले ४८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए।

तर, ६० औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-२ गोलको बराबरीमा ल्याए। फ्रान्सका जुलेसले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरेका हुन्।

यससँगै रोनाल्डोले पोर्चुगलका लागि १ सय ९ औं अन्तराष्ट्रिय गोल पूरा गरे। उनले सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने इरानका अलि दाइको कीर्तिमानसँग बराबरी समेत गरेका छन्। यस्तै रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान समेत भङ्ग गरेका छन्। रोनाल्डोले क्लोजको नाममा रहेको दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान भङ्ग गरेका हुन्।​

फ्रान्सविरुद्धको दुई गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २१ औं गोल पूरा गरे। ३६ वर्षीय रोनाल्डोले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन्। यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए ।

जारी युरोमा रोनाल्डोको यो पाँचौ गोल हो। रोनाल्डो युरोकपमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमानी खेलाडी समेत हुन्। यस बराबरीसँगै समूह ‘एफ’ मा रहेको फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो। र, शीर्ष स्थानमा रहदै अन्तिम १६ मा स्थान पक्का गरेको हो। अब फ्रान्सले अन्तिम १६ मा स्विट्जरल्यान्डसँग खेल्नेछ ।

फ्रान्ससँगको बराबरीसँगै पोर्चुगलले ३ खेलमा ४ अंक जोड्यो। पोर्चुगल समूहको तेस्रो स्थानमा रह्यो। पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो। अब पोर्चुगलले अन्तिम १६ मा बेल्जियमसँग खेल्नेछ।

यस्तै गएराति नै भएको अर्को खेलमा जर्मनी र हंगेरीले पनि बराबरी खेले​ एलिनाज स्टेडियममा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २-२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको हो। रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने हंगेरीले बनाएको थियो ।

खेलको ११ औं मिनेटमा कप्तान एडम सज्लाईले गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले रोलान्डको पासमा उत्कृष्ट हेडर गोल गरे। खेलको २१ औं मिनेटमा माट हुमेल्सको हेडर क्रसबारमा लागेर फर्किएको थियो।

खेलको ६६ औं मिनेटमा काइ हाभर्टेजले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा फर्काए। उनले हुमेल्सको पासमा गोल गरे । लगत्तै ६८ औं मिनेटमा आन्द्रेस सेफेरले गोल गर्दै हंगेरीलाई २-१ को अग्रता दिलाए। तर, खेलको ८४ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै जर्मनीलाई २-२ को बराबरीमा फर्काउदै हारबाट जोगाए ।

यस बराबरीसँगै समूह ‘एफ’ को उपविजेता बनेको जर्मनी ३ खेलमा ४ अंक जोड्यो। यस अघि समूह चरणको पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४(२ गोल अन्तरले पराजित गरेको थियो। अब जर्मनीले अन्तिम १६ मा इंग्ल्यान्डसँग खेल्ने छ।

हंगेरी भने समूह चरणबाट बाहिरिएको छ। हंगेरीले ३ खेलमा २ अंक जोड्यो ।

फ्रान्स, जर्मनी र पोर्चुगल युरो कपको नकआउट चरणमा प्रवेश

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका

फ्रान्स, जर्मनी र पोर्चुगल युरो कपको नकआउट चरणमा प्रवेश

कोलम्बियामाथि ब्राजिलको २-१ को जीत

Leave a comment

Your email address will not be published. Required fields are marked *