भारत : यूपीमा जनसंख्या नियन्त्रण गर्ने प्रस्ताव विवादित

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यमा जनसंख्या नियन्त्रण गर्न अघि सारिएको प्रस्ताव विवादित भएको छ। राज्यको विधि आयोगले जनसंख्या नियन्त्रणसम्बन्धी प्रस्ताव प्रस्तुत गरेको थियो।
मुख्यमन्त्री योगी आदित्यनाथले अल्पसंख्यक मुसलमानहरूलाई थप सिमान्तीकरण गर्न यो प्रस्ताव अघि सारिएको विश्लेषकहरूले बताएका छन्। तर, अतिवादी हिन्दु संगठन र महिला स्वास्थ्य विशेषज्ञहरू नै यो प्रस्तावविरुद्ध उभिएका हुन्।
इकोनोमिक्स टाइम्सका अनुसार जनसंख्या नियन्त्रणसम्बन्धी यो प्रस्ताव पारित भए दुईभन्दा धेरै बालबच्चा जन्माउने परिवारले सरकारी सुविधाबाट वञ्चित हुनुपर्ने र कम बच्चा हुने परिवारले थप सुविधा पाउनेछन्।
विश्व हिन्दु परिषद्का कार्यकारी अध्यक्ष आलोक कुमारले एक बच्चा हुने परिवारलाई प्रोत्साहन गदा समाजमा जनसांख्यिकीय असन्तुलन थप बढ्ने तर्क गरेका छन्। उनले भनेका छन्, ‘यो प्रस्तावबारे सरकारले फेरि एकपटक गम्भीरतापूर्वक सोच्नुपर्छ, किनकी प्रस्ताव कार्यान्वयनमा आए जनसंख्या वृद्धिदर नकारात्मक हुनेछ।’
पपुलेशन फाउन्डेसन अफ इन्डियाकी पुन मुटरेजाले भनेकी छिन्, ‘जनसंख्या विस्फोटलाई लिएर जो चिन्ता जनाइएको छ, त्यसको मूल्यांकन राष्ट्रिय या अन्तरराष्ट्रिय स्तरको आंकडाबाट सम्भव हुँदैन। अर्कातर्फ भारत या उत्तर प्रदेशमा जनसंख्या विस्फोट हुने स्थिति छैन।’
भारतमा कूल प्रजनन दर सन् १९९२–९३ मा ३.४ रहेकोमा त्यो घटेर सन् २०१५–१६ मा २.२ प्रतिशतमा खुम्चिएको मुटरेजाले बताएकी छिन्। नेशनल फ्यामिली हेल्थ सर्वेका अनुसार सन् २०१५–१६ मा उत्तर प्रदेशमा कुल प्रजनन दर २.७ प्रतिशत थियो।






