नक्कली लालपूर्जा बनाइ जग्गा बिक्री गर्ने ९ जना पक्राउ

काठमाडौं २५ फागुन,
नक्कली लालपूर्जा बनाएर जग्गा बिक्री गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । काठमाडौंको थानकोटमा रहेको २० आना जग्गा वास्तविक धनीलाई थाहै नदिई उनकै नामको नक्कली नागरिकता र नक्कली जग्गाधनी पूर्जा बनाइ अर्को व्यक्तिलाई बिक्री गरेको आरोपमा ९ जनालाई पक्राउ गरिएको हो । मीना खड्काको नाममा 
रहेको उक्त जगा विक्रि गर्नेहरुलाई विभिन्न मितिमा काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठका ४७ वर्षीय विजयकुमार खड्का, धादिङ घर भई हाल चितवनको राप्ती नगरपालिका–२ बस्ने
बालप्रसाद भट्ट, काभ्रेका रामचन्द्र पुडासैनी भनिने पुण्डेप्रसाद काफ्ले, संखुवासभा घर भई ललितपुरमहानगरपालिका भैंसेपाटी बस्ने ६३ वर्षीय इन्द्रबहादुर खत्री भनिने
इन्द्रबहादुर घले रहेका छन् । यस्तै रामेछापको मन्थली नगरपालिका–११ का बालकृष्ण बुढाथोकी, सिन्धुपाल्चोकको ठूलोधादिङ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका बस्ने लक्ष्मी घतानी रहेका छन् । ओखलढुंगा घर भई हाल काठमाडौं बौद्ध बस्ने ४६ वर्षीय विजयप्रकाश सुनुवार, सिन्धुली घर भई हाल काठमाडौंको
बानेश्वर बस्ने कृष्ण थापा मगर भनिने कृष्णबहादुर दर्लामी र झापा घर भई ललितपुर महालक्ष्मी नगरपालिका बस्ने ४५ वर्षीय कृष्णबहादुर कटुवाल पक्राउ परेको प्रहरीले जनाएको छ । उक्त जग्गा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ का कृष्णगोपाल
श्रेष्ठ, रत्नकेशरी माका श्रेष्ठ, कृष्णभक्त माका श्रेष्ठ र विजयलक्ष्मी श्रेष्ठलाई बिक्री गरी ७२ लाख रुपैयाँ ठगी गरेका थिए । जग्गा खरिद गर्ने ५ जना र वास्तविक जग्गाधनी मीना खड्काले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरी प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
।






