काँग्रेसमा नेता त्रयको समिकरण

कुलचन्द्र वाग्ले । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई नेपालको राजनीतिमा दोस्रो पुस्ताका प्रभावशाली नेता भन्दा सही हुन्छ ।
स्वच्छ छविका यी तीन नेताको राजनीतिक जीवन लोकतन्त्रप्रति अविच्छिन्न समर्पण र विरासतसमेत योगदानको मिश्रणले बनेको हो । लोकतन्त्रप्रति प्रतिबद्ध त्रय नेता निधि, कोइराला र सिंहसँग नेपालको लोकतान्त्रिक जनमानसले भरोसाको उज्यालो देख्न चाहेको हुनुपर्छ ।
यिनको प्रयत्नले अपेक्षा बढाइदिएको छ । त्रय नेताको अवधारणा नेपाली कांग्रेसमा पहिल्यै स्थापित परम्परासमेत हो । हाल यो अवधारणा खासै प्रभावकारी थिएन । अहिलेको यो लक्षण पुनः नेता त्रयको अवधारणा स्थापित हुनेतिर उन्मुख देखिन्छ । स्वनामधन्य महामना बीपी कोइरालाका छोरा डा. शशांक कोइराला, सिंगो नेपालका सर्वोच्च नेता गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र तराईबाट उठेर सर्वस्वीकृत गान्धीवादी नेता महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधि लोकतन्त्र, देशभक्ति र राष्ट्रहितमा समर्पित राजनीतिक सुपात्र हुन् भन्नेमा शंका गर्नु नपर्ला ।
यिनको राजनीतिक दर्शन र विरासतको दिग्दर्शन यही हो । बिरासतको पात्रमात्रै नभई पुर्खाको उच्च नैतिक प्रवृत्तिको समेत प्रतिनिधित्व गर्ने यी तीन नेताबीच लगातारको छलफल बैठकपछि निःसृत सार्वजनिक जानकारीमा नेता त्रयको दाबा कतै छैन । तर बैठकसँगै निःसृत सन्देश बुझ्न कठिन पनि छैन । यस्तो सन्देश यथार्थमै स्थापित हुन्छ कि हुँदैन ? पार्टीको १४ औं महाधिवेशनको सन्मुख त्रय नेताको प्रयत्नको सार्थकता परिणामले नै देखाउनेछ ।
नेपाली काँग्रेस लाखौं नेता, कार्यकर्ताको सामूहिक प्रतिबद्धताले स्थापित ऐतिहासिक प्रजातान्त्रिक संस्था हो । सबैको आआफ्नो योगदान छ, तिनको मूल्यांकन गर्नसक्ने नेतृत्वको खोजी भने हुने रहेछ । यस्तो खोजीलाई त्रय नेताले निष्कर्ष दिनसक्ने प्रयत्न गरेको देखिन्छ । कांग्रेसमा नेतृत्व पुस्तान्तरणको मत जब्बर माग भएको छ । नेता धेरै छन्, नेतृत्व लिन उत्सुक पनि हुन्छन्, धेरै छन् । तर, शीर्ष नेतृत्वमा पुग्ने विश्वास, सहयोग केहीले मात्र पाउने रहेछन् ।
पुस्तान्तरणको जब्बर मागले प्रेरित भएर नै नेता त्रय निधि, कोइराला र सिंहले संयुक्त प्रयत्न गरेको हुनुपर्छ । ऐना हेरेर आफू नेतृत्व लिन तयार भएको उनीहरुको ठम्याइमा कुनै खोट छैन । तीन नेता एकै ठाउँमा बसेर महाधिवेशन, नेतृत्व र एकताबारे छलफल हुनु नौलो विषय पनिं होइन । नेताहरुबीच यसअघि पनि कैयौं बैठक र कुराकानी भए होलान् । तर यतिबेलाको बैठक महाधिवेशन सन्निकट भएकाले बढी चर्चा र चासो हुनु स्वाभाविक हो ।
उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंह निकट महाधिवेशनमा सभापतिका दाबेदार पनि हुन् । स्वयं सभापति शेरबहादुर देउवा (पछि नहटे) अहिलेसम्म पुनः सो पदमा दोहोरिने दाबा गर्दै छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफ्नो उम्मेदवारीलाई सामूहिक सहमतिमा स्वाभाविक र न्यायोचित देख्नु अन्यथा होइन । यस्तै केन्द्रीय सदस्य डा. शेखर कोइराला सबैभन्दा पहिले सभापतिमा उमेदवारी घोषणासहित तयारी थाल्ने नेता हुन् ।
अहिले केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि सभापतिमा दाबा गरेको समाचार आएका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कुनै मौकाको पर्खाइमा जस्तै उमेदवारीप्रति मौन प्रायः छन् । यसबाहेक महाधिवेशनको मैदानमा अरु पनि सभापतिको उम्मेदवार हुने धेरथोर चर्चा चलेकै छ । सबै सक्षम छन्, पार्टीमा सबैको आआफ्नो ‘लिगेसी’ र योगदान छ । यिनको भावी भूमिकाको मूल्यांकन अहिले सम्भव छैन ।
रह्यो, त्रय नेता कोइराला, सिंह र निधिको प्रयत्नको चर्चा । निधिको वैवाहिक वर्षगाँठको त्रय भेटघाट र वार्ताले नेपाली काँग्रेसमा नयाँ समीकरणको आकार ग्रहण गर्ने सम्भावना बढाएको छ । यसपछि कोइराला र सिंह निवासमा क्रमशः भएका परामर्श थप अगाडि बढाइएको छ ।
केन्द्रीय सदस्य र सभापतिसमेत सबै शीर्ष नेतासँग आफ्नो प्रयत्नलाई आकार दिन छलफल गर्ने यो समूहको निर्णय यसै उद्देश्यमा लक्षित देखिन्छ । नेता त्रयको जमर्कोले देशभरका कार्यकता र शुभेच्छुक सबैमा नयाँ सम्भावनाको आशा सञ्चार गरेको छ । देश, विदेशका शुभेच्छुकहरुमा नयाँ उत्साह र यिनको निष्कर्षप्रति सबैमा कौतुहल थपिदिएको छ ।
अन्य राजनीतिक दल र सचेत सार्वजनिक चासो कांग्रेसप्रति ह्वात्तै बढाएको छ । वर्तमानमा काँग्रेसको दोस्रो पुस्ताका नेता सिंह, निधि र कोइरालाले स्वयंलाई परीक्षण र चुनौती सम्मुख उभ्याउने बुद्धिमत्तापूर्ण प्रयास गरेका हुन् । महाधिवेशन सामु स्वयं परीक्षणमा उत्रिएका त्रय नेता उत्कृष्ट सफल हुने कि नहुने ?
प्रश्न त छँदैछ । तर यिनको राजनीतिक भविष्य रेखा पनि यही परिघटनाले धेरै तय गर्ने निश्चित छ । उमेदवारीका आकांक्षीहरुको व्यवस्थापनसमेत देश, जनता र पार्टी कार्यकर्ताको भरोसाको सम्बल बन्न इच्छुक यी त्रयको ‘पास, फेल’ समेत थप चुनौती अरु पनि छन् ।
पहिलो त महाधिवेशनै हुन्छ कि हुँदैन भन्ने हो । भए विधिसम्मत हुने कि नहुने वा गर्ने कि नगर्ने ? यसभित्रको जटिलता स्वयं त्रयलाई पनि बढी नै अवगत छ । अर्कोतिर अहिलेको कम्युनिस्ट सरकार अत्यन्त स्वेच्छाचारी प्रमाणित भएको छ । नेकपा (एमाले) का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको आधा दर्जन बढी स्वेच्छाचारी र अवैध निर्णयलाई सर्वोच्च न्यायालयले निरस्त गरिदिएको छ । तैपनि उनी हार, थाक वा लज्जाबोध गर्दैनन् बरु एकपछि अर्को उपद्रो गर्न दुरुत्साहित देखिन्छन् ।
सम्भावना छ, कांग्रेस महाधिवेशन नजिक कुनै फत्तुर भाउँतो ‘क्रिएट’ गरेर कम्युनिस्ट प्रधानमन्त्री ‘कुटिल’ ओली कांग्रेस महाधिवेशन असम्भव गर्न उद्यत हुने चिन्ता सबै काँंग्रेस सामु त्रय नेताको पनि चुनौती हो । परिस्थिति फेरिएमात्र नभए यतातर्फ पनि सजग रहनु आवश्यक छ । काँग्रेस नेतृत्वको इच्छाशक्ति मिलेसम्मको पदाशक्तिमा टाँसिएकाले समयको डिलसम्म पुर्याएर महाधिवेशको कथित ‘तयारी’ गर्न खोजिएको छ ।
ढिलो गरी जुर्मुराउन खोजेका नेता त्रयले बितेको खराबीबाट उन्मुक्ति लिन मिल्दैन । नेतृत्वमा को कस्तो व्यवस्थापन मात्रै होइन काँग्रेसको भावी योजना र सैद्धान्तिक स्पष्टता दिन पनि अहिलेको प्रयत्न सफल बनाइनु जरुरी छ ।
त्रय नेताले धुमिल हुँदै गएको राजनीतिक सिद्धान्त र प्रभावलाई पुनः नयाँ उचाइमा प्रभावशाली बनाउनु जति जरुरी छ, त्यति नै बढ्दो आर्थिक अपेक्षा र सामाजिक न्यायको दृष्टिलाई पनि सुस्पष्टता दिन आवश्यक देखिन्छ । पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई संस्थागत फराकिलो प्रतिस्पर्धी मैदान दिनुपर्नेछ । विविधता र बहुल सांस्कृतिक समावेशी कार्यविधिमा मेरोभन्दा हाम्रो सम्बोधन हुनु आवश्यक छ । जनताको गरिबी निवारण र नागरिकको अपेक्षालाई सम्बोधन गर्ने आँट अपेक्षित छ ।
देशभक्ति र जनहितप्रति आफ्नो समर्पण सामान्यले समेत बुझ्ने गरी भन्नुपर्छ । अनिमात्र कांग्रेससँग भरोसा थप बढ्छ, व्यापक जनविश्वास प्राप्त हुनेछ । कांग्रेस सुध्रिनेछ । त्रय नेता निधि, कोइराला र सिंहले सिंगो कांग्रेस समेटेर उल्लिखित अपेक्षा र चुनौतीलाई सम्बोधन गर्ने आँट गरेको भए भविष्य प्रशंसनीय छ । सुनिन्छ, कांग्रेसको युवा नेतृत्व पुस्तान्तरणलाई उत्साहित गर्दै छ ।
यस मानेमा युवा उत्साह कोइराला, निधि र सिंहलाई नजिकै देख्नसक्छ र आफ्नो नेतृत्व चरण पनि स्थापित गर्ने अपेक्षा राख्छ । पार्टी, देश र जनता अत्यन्त कठिन अवस्थामा पुगेको बेला कांग्रेसमा उदाउन खोजेको नेता त्रयको प्रयत्न नेतृत्व उमेदवारीको रस्साकस्सीमा अल्झिएर असफल भयो भने चाहिँ थप निराशा र अँध्यारो बढ्नेछ । विश्वास गरौं, चुनौती र सफलता दुवै बुझेको यो पुस्ता असफल हुनेछैन ।
(बाह्रखरीबाट)






