बैतडी, २ असोज ।
कोरोना भाइरसको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले पालिकाअनुसार फरक(फरक बार नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको छ ।

फरक पालिकाअनुसार नागरिकलाई फरक फरक बार सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । आइतबार र सोमबार मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई नागरिकता वितरण गरिनेछ । यस्तै, मङ्गलबार र बुधबार पाटन नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई नागरिकता वितरण गरिने छ ।
यस्तै बिहीबार र शुक्रबार दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिने छ। पुर्चौंडी नगरपालिकाको हकमा इलाका प्रशासन कार्यालय हाताबाटै नियमितरुपमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिने जनाइएको छ ।
नेपाली नागरिकता प्रमाणपत्रबाहेक अन्य सेवा भने सबै पालिकाका नागरिकलाई हप्ताको छ दिन नै प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । यस्तै जिल्लामा सङ्घीय सरकारको निर्णयानुसार अहिलेका लागि सार्वजनिक गाडी सञ्चालन हुने दिने तर स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्यरुपमा पालना गर्ने गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । गएको भदौ ८ गतदेखि जारी निषेधाज्ञा भदौ ३१ मा सकिएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।

