दलहरूको गतिविधिका कारण कोरोना फैलने जोखिम

जुम्ला, २८ भदौ ।
नागरिकको स्वास्थ्यप्रति लापरवाही गर्दै यहाँका राजनीतिक दलहरूले भेला र सभा/समारोह गर्दा जुम्लामा कोरोना फैलने जोखिम बढेको छ। कोरोना महामारी फैलिरहँदा पनि जिल्लाका राजनीतिक दलहरूले छलफल र भेलाका नाममा जमघट गर्न छाडेका छैनन् । जिल्लाका प्रमुख दलहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका नेता/कार्यकर्ताले नै यस्तो गतिविधि गरिरहेका हुन् ।

डेढ महिनाअघि हिमा गाउँपालिकामा सत्ता पक्ष नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसले कार्यकर्ता भेला गर्नेदेखि पार्टी प्रवेश गराउने क्रम निकै चलाएको थियो । त्यस लगत्तै चन्दननाथ नगरपालिका–६ मा नेकपा र कांग्रेस पार्टीको राजनीतिक कार्यकर्ता भेला गर्ने प्रतिष्पर्धा चलिरहेको छ।

स्थानीय तहको निर्वाचन नजिकिन थालेपछि जुम्लामा नेपाली कांग्रेस र नेकपाले महामारीकै बेला पनि राजनीतिक गतिविधि बढाइरहेका छन् । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत राजनीतिक पार्टीका नेता–कार्यकर्तालाई जनताको माया नभएको बताउँदै भन्छन् , ‘अहिले विशेषगरी दुई पार्टी नेकपा र कांग्रेसबीच कसरी सत्ता बचाउने र सत्तामा कसरी जाने भन्ने होडबाजी नै देखिन्छ ।

राजनितिक दल यस्तो बेला नागरिकलाई कसरी सुरक्षित बनाउने वा कोरोनाको महामारीबाट बचाउने भन्ने जिम्मेवारी बन्ने बेला हो । तर उनीहरू कोरोना भाइरसको विकराल अवस्थामा पनि आफ्ना पार्टीका भेला तथा कार्यक्रम गर्ने गरेका छन् ।’ राजनीतिक पार्टीले अहिले गलत काम गरिरहेको जुम्लाका स्थानीयले बताएका छन् ।

साउन ३० गते सर्वदलीय बैठकमा पार्टीका नेताले यस्तो कोरोना महामारीको बेला राजनीतिक गतिविधि नगर्ने र कोरोना नियन्त्रण तथा रोकथाममा सबै लाग्ने भनेर हस्ताक्षर नै गरेका थिए । तर, सो प्रतिवद्धताको खिल्ली उडाउँदै दलका नेताहरू अहिले राजनीतिक भेला र कार्यक्रममा व्यस्त छन्।

कोरोना महामारीको बेला सावधानी अपनाउनुपर्ने अवस्थामा राजनीतिक भेला किन गरियो? भन्ने प्रश्नमा नेकपा जुम्लाका अध्यक्ष वीरबहादुर कुँवरले भने, ‘पार्टी एकतापछि स्थानीय स्तरमा पनि संगठन विस्तार गर्नुपर्ने भएकोले कार्यकर्ता भेला तथा कार्यक्रम भएका हुन् । तर, प्रशासनले कोरोना महामारीको बेला भेला तथा कार्यक्रम नगर्न ध्यानाकर्षण गरेपछि रोकेका छौँ ।’ नेपाली कांग्रेसका जिल्ला सभापति दीपबहादुर शाहीले कोरोना महामारीको बेलामा औपचारिक रूपमा पार्टीका कुनै पनि गतिविधि नभएको दाबी गरेका छन् ।

दलहरूको गतिविधिका कारण कोरोना फैलने जोखिम

निजी विद्यालयले शिक्षकलाई तलब दिएनन्

दलहरूको गतिविधिका कारण कोरोना फैलने जोखिम

सल्यानमा यो वर्ष तीन सय ९० मेट्रिकटन

Leave a comment

Your email address will not be published. Required fields are marked *