शिक्षक बनाउन जेलबाट छुटाए

विभिन्न समस्या र चुनौतीसँग जुध्जै अगाडि बढेका खगेन्द्र थापा लामो समयदेखि शिक्षा सेवामा आवद्ध छन् । उनले जीवनमा धेरै संषर्घ गरे । त्यही संर्घका कारण त आज उनी सुर्खेतको शैक्षिक क्षेत्रमा परिचित छन् । परिचित मात्र होइन, सफल पनि छन् । एक शिक्षक, एउटा शैक्षिक नेता र कुशल प्रधानाध्यापकको रुपमा उनी चिनिन्छन् । पञ्चायती व्यवस्थाको विरोध गर्दा उनी जेल पनि जानु प¥यो । प्रस्तुत छ, आजको जम्काभेटमा हाल वीरेन्द्रनगरस्थित अमरज्योति नमुना मावि नेवारेका प्रधानाध्यापक रहेका थापासँग सहकर्मी गीता थापाले गरेको कुराकानीको शारांस ः

किसान परिवारमा जन्म

सुर्खेतको साविक गर्पन गाविसको वडा नम्बर ९ हाल वीरेन्द्रनगर १६ मा २०२७ सालमा जन्मिएका खगेन्द्र थापाको बाल्यकाल सामान्य नै वित्यो । किसान परिवारमा जन्मिएका उनी घरको काम पनि गर्थे । उनी घरको काम सँगसँगै पढाइमा पनि मन लगाएर पढ्थे । उनको पढाइ पनि राम्रै थियो । अरुसँग तुलना गर्न नमिले पनि उनका लागि भने पढाइ राम्रो नै थियो । उनका लागि पहिलो प्राथमिकता भने पढाइ थियो ।

परिवारमा पनि पढेलेखेका सदस्य भएकाले उनलाई पढाइमा झन् प्रेरणा मिल्यो । भनिन्छ नि, ‘हुने विरुवाको चिल्लो पात’ । यस्तै थिए थापा पनि । पढाइमा मन लगाएर पढेको कारण उनी अहिले अमरज्योति नमुना मावि नेवारेमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन् । २० वर्षदेखि उनी सोही विद्यालयमा अध्यापन गराउँदै आइरहेका छन् । उनी २०६० सालमा शिक्षकमा स्थायी भएका हुन् । अहिले प्रधानाध्यापक भएर विद्यालय सञ्चालन गरिरहेका छन् ।

पढाइमा संघर्ष

उनले कक्षा १ देखि १० सम्म पढ्दा पाँच वटा विद्यालय फेरी सकेका थिए । प्राविको अध्ययन उनले मावली घर रजेनामा पढेका हुन् भने पछि गर्पनकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पढे । उनले आर्दश मावि मेहेली, भैरव मावि अवलचिङ र जीवनज्योती मावि दशरथपुरमा पनि पढेका हुन् । कक्षा १० र एसएलसी भने उनले आर्दश मावि मेहेलीबाट नै उतिर्ण गरे । त्यतिबेला एसएलसीको सेन्टर जन माविमा परेको थियो । उनले कक्षा ११ र १२ वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट उतिर्ण गरेका हुन् । स्नातक त्रिभुवन विश्वविद्यालयबाट उतिर्ण गरे भने स्नातकोत्तर केन्द्रिय क्याम्पस कीर्तिपुरबाट अंग्रेजी विषयमा गरेका हुन् ।

जेलमा बस्दाको क्षण

उनी विद्यार्थीकालमा विद्यार्थी संगठनमा आवद्ध थिए । त्यतिबेला देशमा पञ्चायती व्यवस्था थियो । विद्यार्थी संगठनमा आवद्ध भएका थापा लगायत उनका साथीहरु मिलेर पञ्चायती व्यवस्थाको विरोध गरे । त्यहि विरोध गर्दा उनी लगायत उनका साथीहरुलाई प्रहरी गिरफ्तार ग¥यो र जेल हाल्यो । त्यतिबेला पञ्चायविरुद्ध बोल्न पाउने व्यवस्था थिएन । थापाले त्यहि पञ्चायतको विरोध गरेको भन्दै झन्डै एकवर्ष जेल जीवन विताउनु प¥यो । त्यतिबेला उनी तत्कालिन एमालेको विद्यार्थी संगठन अनेरास्ववियु सुर्खेतका अध्यक्ष थिए ।

प्रहरीले गिरफ्तार गरेर उनी लगायत साथीहरुलाई जिल्ला कारागार सुर्खेतमा राख्यो । जेल जीवन उनका लागि कष्टकर नै थियो । तर, पनि उनी सहज रुपमा लिदै पढाइलाई नै निरन्तरता दिए । त्यतिबेला उनी स्नातक पढ्दै थिए । उनले जेलमा बसेर पनि अध्ययन गर्थे । आफुलाई भेट्न आउनेहरुसँग पुस्तक ल्याउन लगाएर उनी अध्ययन गर्थे । जेलमा बस्नु उनका लागि असहज त थियो नै, तर पनि उनले त्यही असहजलाई सहज बनाउदै एकवर्ष विताए । त्यस समय उनी १५÷१६ वर्षका थिए । पारिवारिक र व्यक्तिगत समस्या भए पनि उनको सबै ध्यान पढाइमा नै थियो ।

विव्यसले पत्याउँदा…

उनी जेलमै हुँदादेखि नै शिक्षक बनाउने प्रस्ताव स्थानीयबाट आएको थियो । आदर्श मावि मेहेलीका तत्कालिन व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर ढकालले उनलाई जेलबाट छुटाएर शिक्षक बनाए । थापा भन्छन्, ‘मलाइ जवर्जस्ती शिक्षक बनाइ दिए ।’ ढकालले प्रमुख जिल्ला अधिकारीसँग भेटेर उनलाई जेलबाट छुटाएका थिए । थापा जेलबाट छुटेको तीन दिनमा नै आदर्श मावि मेहेलीमा अंग्रेजी विषयको शिक्षक भएर पढाउन सुरु गरे ।

अंग्रेजी विषयले उनलाई शिक्षकभन्दा बाहिरको पेशामा जान दिएन । पञ्चायती व्यवस्था हुने बेलासम्म उनलाई शिक्षक नै बन्छु जस्तो लागेको थिएन । पञ्चायती व्यवस्था हटेपछि उनी शिक्षण पेशामै लागे । उनलाई लाग्यो शिक्षण पेशा पनि समाज सेवा नै हो । फेरी घरखर्च पनि चल्ने, सम्मान पनि पाइने हुनाले उनले पछि शिक्षण पेशालाई नै निरन्तरता दिए । आदर्श माविबाट पढाउन सुरु गरेका थापाले छिन्चुको र चौरासेको विद्यालयमा पनि केही समय पढाए ।

अहिले २० वर्षदेखि निरन्तरण रुपमा अमरज्योति नमुना मावि नेवारेमा कार्यरत छन् । उनी विद्यालयका प्रधानाध्यापक पनि हुन् । उनलाई प्रधानाध्यापक व्यवस्थापन समितिले बनाईदिएको थियो । उनलाई त आफु प्रधानाध्यापक बन्दै छु भन्नेसम्म थाहा थिएन । समितिले एक्कासी तपाइँ प्रधानाध्यापक बन्नु भएको छ भन्दै उनको हातमा पत्र थमाएका थिए । डिल्लीप्रसाद उपाध्यायको अवकापछि व्यवस्थापन समितिको बैठकले थापालाई नै प्रधानाध्यापक बनाउने निर्णय गरेको थियो ।

छोरी पनि सन्तान हुन्

थापाका दुई छोरी छन् । उनलाई छोरा नभएकोमा पछुतो छैन । हाम्रो समाजमा कतिपय पढेलेखेका र जाने बुझेकाहरुले नै छोरा र छोरीबीचमा भेदभाव गरेको पाइन्छ । छोरीलाई सन्तान नै होइनन् भन्ने व्यक्ति हाम्रै समाजमा पनि छन् । तर, थापाका लागि छोरी पनि सन्तान नै हुन् । छोरीले पनि अंश खाएर बस्न सक्छन् ।

छोरालाई छोरीको स्थान र छोरीलाई छोराको स्थानमा तुलना गर्न नमिल्ने उनको भनाइ छ । उनकाअनुसार छोरा र छोरी बीचमा सबै तिर विभेद देखिन्छ । सम्पत्ती, स्वतन्त्र चिन्तन, आर्यआर्जन लगायतका हरेक कुरामा विभेद अझै कायमै छ । तर, थापाको घरमा भने छोरा र छोरी बीचको विभेद छैन । उनलाई लाग्ने गर्छ, सबैले छोरीलाई पनि माया दिए र छोरी पनि सन्तान हुन् भन्ने सोच राखे सुन्दर समाज हुने थियो ।

अबको योजना

थापाको भविष्यका लागि ठुलै योजना केही छैन । विश्वभर फैलिएको कोभिड १९ कारण अहिले विद्यालय पाँच महिनादेखि ठप्प छन् । तत्कालिन समस्या भनेको कोरोना भाइरस नै हो । विद्यालय कसरी सञ्चालन गर्ने, विद्यार्थीलाई कसरी पढाउने भन्ने तिर ध्यान केन्द्रित भएको छ । कोभिडका कारण बन्द भएका विद्यालय कहिले सञ्चालन हुने अत्तोपत्तो छैन ।

उनलाई विद्यालयलाई पहिलाकै जस्तै गरी सञ्चालन अब फेरी गर्न सकिएला की नसकिएला भन्ने चिन्ता छ । उनलाई दुई हजार आठसय विद्यार्थीको भविष्यको चिन्ता लाग्ने गर्छ । विद्यालयका लागि अर्काे समस्या भनेको एयरपोर्ट हो । एयरपोर्ट नजिकै भएका कारण विद्यालयमा पठनपाठनमा समस्या हुने गर्छ । विद्यालय सार्ने विषय नै दोधारमा छ । विद्यालय सञ्चालन भएपछि विद्यालय कहाँ सार्ने भन्ने विषय नै उनका लागि अबको योजना हो ।

२०७७ भदौ २६ गते शुक्रवार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित ।

शिक्षक बनाउन जेलबाट छुटाए

बोर्डिङ सञ्चालकको तालाचाबी

Leave a comment

Your email address will not be published. Required fields are marked *