पूर्वसभामुख महरालाई ऊर्जामन्त्रीले रोल्पा पुगेर भेटे

काठमाडौं, २४ भदौ ।
पूर्व सभामुख कृष्णबहादुर महरालाई ऊर्जामन्त्री वर्षमान पुनले रोल्पा पुगेर भेटेका छन् । बलात्कार प्रयास अभियोग लागेर केही समय जेल बसेपछि सफाइ पाएका महरा अहिले आफ्नै गृह जिल्लातिर क्रियाशील छन् । सभामुख पद गएसँगै नेकपाको राजनीतिमा निस्क्रिय महरा ‘कम ब्याक’को तयारीमा रहेको चर्चा चलिरहेका बेला मन्त्री पुनसँग भेट गरेका हुन् ।
दुई नेताबीच लिवाङस्थित महराको पुख्र्यौली घरमै भेटवार्ता भएको हो । ऊर्जामन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य पुन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकटमध्ये एक नेता हुन् । दुई नेताबीचको भेटमा सरकार र पार्टीका विभिन्न विषयमा कुराकानी भएको दुवै नेताले बताएका छन् ।
महरा गृह जिल्लामा केन्द्रित भएका बेला ऊर्जामन्त्री पुन विभिन्न कार्यक्रमका लागि रोल्पा पुगेका थिए । त्यही क्रममा उनीहरुबीच अर्थपूर्ण संवाद भएको हो । पूर्वसभामुख महराका छोरा राहुलले दुई नेताबीच नेकपा र सरकारबारे कुराकानी भएको छ । भेटमा सरकारले जनताका पक्षमा अझै काम गर्नुपर्ने, श्रमजीवीको पक्षमा देखिने गरी विकास गर्नुपर्ने, मजदुर र गरिबको आर्थिक अवस्था उकास्ने गरी काम गर्नुपर्ने जरुरी रहेको दुई नेताले निचोड निकालेका थिए ।
दुई नेताले पार्टीको आन्तरिक एकतालाई एकतालाई बलियो बनाउँदै जनताको अभिमतलाई पनि ख्याल गरेर अगाडि बढ्नु पर्नेबारे चर्चा गरेका थिए । पार्टीको आन्तरिक एकतालाई बलियो बनाउन छलफल र बहसलाई सही रुपमा व्यवस्थापन गर्दै लानुपर्नेमा कुराकानी भएको ऊर्जामन्त्री पुनले बताएका छन् ।
त्यसैगरी दुई नेताले गृहजिल्ला रोल्पाको समग्र विकास अघि बढाउने कुरामा पनि छलफल भएको बताएका छन् । दुई नेताले रोल्पाका नेकपा नेता कार्यकर्तासँग पनि एकसाथ भेटेका छन् । उनीहरुले यो भेटबाट कोही पनि तरंगित हुनुपर्ने आवश्यकता नरहेको बताएका छन् । दुवै नेताले पहिले जस्तै एकतावद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।






