धमाधम चिकित्सक नियुक्ति गर्दै जाजरकोटका स्थानीय तह

जाजरकोट, २३ साउन ।
राम्रो सेवा, सुविधा दिएर जाजरकोटका स्थानीय सरकारले धमाधम चिकित्सक नियुक्ति गर्न थालेका छन्। जिल्लाको नलगाड नगरपालिका, जुनिचाँदे गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक नियुक्ति गरेर सेवा दिन थालेका हुन् । बारेकोट गाउँपालिकाले अघिल्लो वर्ष नियुक्ति गरेका चिकित्सक अर्को ठाउँमा गएपछि नयाँ चिकित्सक नियुक्तिका लागि तयारी भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।
दुई वर्षदेखि रिक्त रहेको जुनिचाँदे गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा नयाँ मेडिकल अधिकृत नियुक्ति गरिएको छ। त्यस्तै, नलगाड नगरपालिकाले आफ्नै लगानीमा प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा एमडी चिकित्सक नियुक्ति गरेर सेवा दिइरहेको छ । बारेकोट गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा अघिल्लो वर्ष नियुक्ति गरेका चिकित्सक जुनिचाँदे गाउँपालिकामा गएपछि सो ठाउँमा नयाँ चिकित्सक नियुक्तिको काम सुरु हुन लागेको छ। स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा मंगलबारदेखि शल्यक्रिया सेवा सुरु गरिएको मेडिकल अधिकृत भुपेन्द्र प्रकास मल्लले बताए ।
जिल्लाका दुर्गम ठाउँमा उपचार नै नपाएर अकालमै नागरिकको ज्यान जाने समस्या चर्को रुपमा देखिएपछि स्थानीय तहले आफ्नो लगानीमा चिकित्सक नियुक्ति गरेको जुनिचाँदे गाउँपालिका कार्यवहाक अध्यक्ष शिवा आचार्य (बस्नेत)ले जानकारी दिए । पुर्वी क्षेत्रको दल्लीमा एमडी चिकित्सक पाएसँगै भिडियो एक्सरे सेवादेखि अन्य सेवा सुरु गरिएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए। नगरपालिकाले अब छिट्टै एम्बुलेन्स सेवासमेत सुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए ।
उनले भने, ’दल्लीमा अहिले सबै प्रकारका सेवा, सुविधा थप गरिएको छ, वर्थिङ सेन्टरदेखि डाटा संकलनका कामलाई सफ्टवयरमा राखेर काम भएका छन् ।’ त्यस्तै, दल्लीमा उपचार हुन नसकेका सुत्केरीलाई जिल्लाबाहिर लिनका लागि स्थानीय सरकारले सहयोग गर्ने अधिकृत सिंहको भनाइ छ। यता, जिल्ला अस्पताललाई ५० शय् याको अस्पताल निर्माणको काम सुरु भएको छ ।
मंगलबार बसेको बैठकले निर्माणको जिम्मा लिएको निर्माण कम्पनीलाई काममा भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाएपछि निर्माणको काम सुरु भएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत गृहमन्त्री हुँदा जाजरकोट अस्पताललाई ५० शै यामा घोषणा गरिएको थियो । घोषणा गरेको झण्डै पाँच वर्षपछि उहाँ वन तथा वातारणमन्त्री हुँदा भवन निर्माण कार्य सुरु गरिएको छ ।
त्यस्तै, जाजरकोटमा ३० भन्दा बढी स्वास्थ्य संस्था एकैसाथ निर्माण भइरहेका छन् । बारेकोट गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर जाँच गरेका गर्भवतीको घरमा चिठी थमाएर बाबालाई चिठी गर्भबाट चिठी अभियान सुरु गरेको स्वास्थ्य संयोजक वीरराज सिंहले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले १०० प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा गराएको तथ्यांक रहेको छ ।






