दलित महिला जनप्रतिनिधिका लागि कोहलपुरमा पत्रकारिता तथा उद्घोषण तालिम सुरु

बाँके ,७ जेठ ।

बाँकेको कोहलपुरमा दलित महिला जनप्रतिनिधि तथा सम्भावित महिलाहरूलाई लक्षित गर्दै ६ दिने पत्रकारिता तथा उद्घोषण तालिम सुरु गरिएको छ । महिलाहरूको नेतृत्व क्षमता, सञ्चार सीप तथा सार्वजनिक अभिव्यक्ति विकास गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो ।

सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा कोहलपुर नगरपालिकाका १५ वटै वडाबाट एक–एक जना महिलाको सहभागिता रहेको छ । साथै राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ र ९ बाट एक–एक जना तथा १५ जना सम्भावित महिलासहित कुल ३० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक टिकाराम उपाध्यायले जानकारी दिनुभयो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष बिरेन्द्र शाहले महिलाहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो । उहाँले सञ्चार तथा उद्घोषण क्षेत्रमा महिलाको बढ्दो सहभागिता सकारात्मक संकेत भएको उल्लेख गर्दै समाज रूपान्तरणमा महिलाको भूमिका अझ सशक्त बन्दै गएको धारणा राख्नुभयो ।

बिहानी मिडिया एण्ड मल्टीपल एकेडेमी प्रा.लि.का अध्यक्ष महेश अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सहभागी महिलाहरूले तालिमले व्यवहारिक ज्ञान, आत्मविश्वास तथा सार्वजनिक रूपमा आफ्ना धारणा प्रस्तुत गर्ने क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

आयोजकका अनुसार तालिममा समाचार लेखन, उद्घोषण कला, सार्वजनिक बोलाइ, सञ्चार सीप तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा सहजीकरण गरिनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *