कचहरी नाटक कार्यशाला सम्पन्न, नेपालगञ्ज थिएटर क्लब गठन

बाँके ,६ असार ।
मण्डला थियटर नेपालको आयोजनामा तथा बास नेपालको संयोजनमा सञ्चालित १५ दिने फोरम थियटर (कचहरी नाटक) कार्यशाला सम्पन्न भएको छ। स्थानीय तहमा स्वास्थ्य, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यशालामा सडक नाटक तथा कलामार्फत सामाजिक सचेतना अभिवृद्धि गर्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
जेठ १४ गतेदेखि सुरु भएको कार्यशालाको समापन नेपालगञ्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्द प्रसाद रेग्मीको प्रमुख आतिथ्यता तथा बास नेपालकी महासचिव कल्पना अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले कचहरी नाटकसम्बन्धी तालिमले स्थानीय युवाहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले कला र नाटकलाई सामाजिक रूपान्तरणको प्रभावकारी माध्यमका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले कचहरी नाटकको अवधारणा, यसको सामाजिक महत्व तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउन यसले खेल्ने भूमिकाबारे प्रकाश पारेका थिए।
कार्यशालाकी प्रशिक्षक शोभा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा प्रशिक्षक उमेश सुनामले समेत मन्तव्य व्यक्त गरेका थिए। सहभागीहरू माधव कार्की, शोभा भण्डारी र जस्मिन शेषले तालिमबाट प्राप्त अनुभव तथा सिकाइबारे प्रतिक्रिया व्यक्त गरेका थिए। कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका सरोज रिमाललगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
१५ दिनसम्म सञ्चालन भएको कार्यशालामा फोरम थियटरको सिद्धान्त र अभ्यास, सहभागी नाटकका विधि, सामुदायिक संवाद, सामाजिक मुद्दाको सिर्जनात्मक विश्लेषण तथा नाटक प्रक्रियामा सहभागिताजस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। ३५ जना युवाको सहभागिता रहेको कार्यशालाका प्रशिक्षार्थीहरूले नेपालगञ्जका विभिन्न आठ स्थानमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरी जनचेतना फैलाउने कार्यसमेत गरेका थिए।

कार्किको नेतृत्वमा नेपालगन्ज थिएटर क्लब गठन
कार्यशालाको समापनसँगै कचहरी नाटक तथा सामाजिक चेतनामूलक सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यले नेपालगञ्ज थिएटर क्लब गठन गरिएको छ।
माधव कार्कीको अध्यक्षतामा गठन भएको क्लबको उपाध्यक्षमा जस्मिन शेष, सचिवमा शोभा भण्डारी, सहसचिवमा सङ्गीता विक तथा कोषाध्यक्षमा शुद्ध चौधरी चयन भएका छन्।
क्लबका सदस्यहरूमा सुस्नुमा ढपाली, मिना घर्ती मगर, प्रिया बढही, रमिता शाह, दीपिका देवकोटा, दिनेश चौधरी, मनिषा चमार र आयुष भुजुवा रहेका छन्।
नवनिर्मित क्लबले कचहरी नाटक तथा सिर्जनात्मक कलाका माध्यमबाट सामाजिक मुद्दामाथि बहस सिर्जना गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य लिएको जनाएको छ।






