मौरीपालनलाई व्यवसायिक बनाउँदै: जुम्लाको हिमा गाउँपालिका

गाेल्डेन बुढा

जुम्ला,६ असार ।
जुम्लामा मौरीपालनको राम्रो सम्भावना रहे पनि पर्याप्त प्राविधिक ज्ञान, आधुनिक व्यवस्थापन र रोग नियन्त्रणसम्बन्धी चुनौती कायमै रहेका बेला हिमा गाउँपालिकाले मौरीपालक किसानलाई मौरी व्यवस्थापन तथा सीपमूलक तालिम प्रदान गरेको छ। व्यवसायिक मौरीपालन प्रवर्द्धन, मह उत्पादन तथा गुणस्तर वृद्धि र किसानको आयआर्जन बढाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा ४२ जना किसान सहभागी भएका थिए।गाउँपालिकाका १ देखि ७ वडासम्मका ७ जना महिला र ३५ जना पुरुष किसान सहभागी रहेको उक्त तालिम हिमा गाउँपालिकाको कृषि शाखाको आयोजनामा सम्पन्न भएको हो। नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको मौरी विकास केन्द्र, गोदावरी ललितपुरको सहकार्य तथा कृषि शाखाको आर्थिक वर्ष २०८२/०८३ को संघ सरकारबाट प्राप्त सशर्त अनुदान कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

तालिममा व्यवसायिक मौरीपालनका विभिन्न पक्ष, मह उत्पादन वृद्धि, मौरी व्यवस्थापन, रोग तथा जोखिम नियन्त्रण, प्रशोधन, लेबलिङ, प्याकेजिङ र बजारीकरणका विषयमा प्रशिक्षण दिइएको थियो। मौरीपालक कृषकहरूको मागअनुसार मौरीपालनलाई जीविकोपार्जनसँग जोड्ने तथा गुणस्तरीय मह उत्पादनमार्फत आम्दानी बढाउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।स्थानीयका अनुसार हिमा गाउँपालिका मह उत्पादनका हिसाबले जिल्लाकै अग्रणी क्षेत्रमध्ये एक हो। आगामी दिनमा वडाहरूलाई मौरी पकेट क्षेत्र घोषणा गर्ने तयारीसमेत भइरहेको छ। अधिकांश किसानसँग दर्जनौँ मौरीघार रहेका छन्। उनीहरूलाई थप दक्ष र व्यवसायिक बनाउन तालिम सञ्चालन गरिएको हो।आधारभूत तालिममा स्थानीय विकास रोकायाले सहजीकरण गरेका थिए। उनले गुणस्तरीय मह उत्पादनका अवसर र चुनौतीबारे जानकारी दिँदै प्रशोधन, लेबलिङ र प्याकेजिङमा विशेष जोड दिइएको बताए। “आत्मनिर्भर र व्यवसायिक बन्ने सीप सिकाइएको छ,” उनले भने।सहभागी किसानहरूले तालिम व्यवहारिक र उपयोगी भएको बताएका छन्। उनीहरूका अनुसार मौरीपालनका आधारभूत तथा प्राविधिक पक्षबारे नयाँ ज्ञान हासिल भएको छ। जुम्लामा मौरीपालनप्रति किसानको आकर्षण बढ्दो भए पनि पर्याप्त ज्ञान, स्रोत–साधनको अभाव, मौरीका लागि आवश्यक आहार व्यवस्थापन तथा विभिन्न रोगको संक्रमणले चुनौती थपिरहेको छ।हिमा–१ का किसान बिक्रम शाहीले व्यवसायिक प्रशोधनमार्फत थप आम्दानी लिन सकिने अनुभव सुनाए। “पहिले पर्याप्त ज्ञान नहुँदा सामान्य कुरामा ध्यान नदिँदा नोक्सान बेहोर्नुपर्थ्यो।

अब तालिमबाट सिकेका सीप व्यवहारमा उतार्छु,” उनले भने। उनका अनुसार अधिकांश समय मौरीको संरक्षण र रेखदेखमै खर्च हुने गरेको छ।त्यस्तै, हिमा–४ का लडे बुढाले परम्परागत मौरीपालनलाई व्यवसायिक रूपान्तरण गर्न तालिम उपयोगी भएको बताए। अर्का सहभागी धिर शाहीले तालिमले मेहनत, लगाव र व्यवसायिक सोचको महत्व बुझाएको बताइन्। “मैले सिकेका कुरा अरूलाई पनि सिकाउँछु र व्यवसायिक मौरीपालनतर्फ प्रेरित गर्छु,” उनले भनिन्।तालिममा सहभागी प्रत्येक किसानलाई न्यूटन बी घार, अर्फोन, घुन्टी, धुवाधानी, रानी गेट, मह चक्कु, रानी केज, मैन पाता र फिडर फ्रेमलगायत सामग्री निःशुल्क वितरण गरिएको थियो।जुम्लामा मुख्य रूपमा ‘सेराना’ जातको मौरी पालिने गरेको छ। जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाका ६० वडामा मौरीपालन हुँदै आएको छ। यहाँ उत्पादन भएको मह काठमाडौं, नेपालगञ्ज, सुर्खेत, बुटवल, चितवन र पोखरासम्म पुग्ने गरेको किसानहरू बताउँछन्। सहभागी किसानका अनुसार मौरीपालनबाट प्रतिवर्ष ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ।“मौरीपालनमा चुनौती धेरै छन्,” एक किसानले भने, “तर यसबाट किसानले मनग्गे आम्दानी पनि गरिरहेका छन्।”सरकारी तथ्यांक उपलब्ध नभए पनि कर्णाली मौरीपालन सहकारीका अनुसार जुम्लामा हाल ८ हजार ४ सय मौरीघार छन्। सहकारीको तथ्यांकअनुसार जिल्लामा वार्षिक करिब ५० हजार किलो मह उत्पादन हुन्छ। प्रतिकिलो २ हजार ५ सय रुपैयाँका दरले बिक्री हुँदा वार्षिक करिब १२ करोड रुपैयाँ जिल्लाभित्र भित्रिने गरेको अनुमान छ।पातारासी गाउँपालिकामा १ हजार ६ सय, तिला गाउँपालिकामा १ हजार ५ सय, गुठीचौर गाउँपालिकामा १ हजार ४ सय, कनकासुन्दरी गाउँपालिकामा १ हजार २ सय, हिमामा ७ सय, चन्दननाथ नगरपालिकामा १ हजार तथा तातोपानी र सिँजा गाउँपालिकामा ५ सय–५ सय मौरीघार रहेका छन्।हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मौरीपालक कृषकहरूको व्यवसाय प्रवर्द्धन र आयआर्जन वृद्धि गर्ने उद्देश्यले सीप सिकाइको बताए। “तालिम भनेको बाटो देखाउने माध्यम हो,” उनले भने, “सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्ने जिम्मेवारी कृषककै हो।” उनले तालिमबाट प्राप्त ज्ञानलाई आफ्नै व्यवसायमा लागू गर्न किसानहरूलाई आग्रह गरे। मौरीपालनबाटै जीविका चलाउने किसानको संख्या पछिल्ला वर्षहरूमा बढ्दै गएको छ। “मौरीपालनप्रति किसानको चासो बढेको छ,” अध्यक्ष शाहीले भने, “अब मह उत्पादन र गुणस्तर वृद्धि नै हाम्रो प्राथमिकताको विषय हो।”

मौरीपालनलाई व्यवसायिक बनाउँदै: जुम्लाको हिमा गाउँपालिका

कचहरी नाटक कार्यशाला सम्पन्न, नेपालगञ्ज थिएटर क्लब

मौरीपालनलाई व्यवसायिक बनाउँदै: जुम्लाको हिमा गाउँपालिका

जुम्लामा सिमीबाट १ करोड ३३ लाख भन्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *