नरैनापुर गाउँपालिकाद्वारा रु ४९ करोडभन्दा बढीको बजेट सर्वसम्मत पारित

बाँके ,५ असार ।
नरैनापुर गाउँपालिकाको २०औँ गाउँसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। बिहीबार गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको सभाध्यक्षतामा सम्पन्न अधिवेशनले नीति, कार्यक्रम तथा बजेट अनुमोदन गर्दै गाउँसभा सम्पन्न गरेको हो।
गाउँसभामा अध्यक्ष शाहले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष जयन्ती श्रीवास्तवले रु ४९ करोड २ लाख ८३ हजार बराबरको बजेट पेश गर्नुभएको थियो। गाउँसभाले उक्त बजेट तथा कार्यक्रमलाई सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।
पारित नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास तथा सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखिएको छ। साथै दलित, मुस्लिम, मधेसी, थारु लगायतका समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि लक्षित कार्यक्रमहरू पनि समावेश गरिएको गाउँपालिकाले जनाएको छ।
नीति तथा बजेटमाथिको छलफलमा वडा नं. १ का वडाध्यक्ष इसाक जोलाहा, वडा नं. २ का वडाध्यक्ष मसुद अहमद शाह, वडा नं. ४ का वडाध्यक्ष मनोज शर्मा, वडा नं. ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्य तथा वडा नं. ६ का वडाध्यक्ष प्रेम मौर्यलगायतले आफ्ना धारणा राख्नुभएको थियो।
आर्थिक विधेयक तथा विनियोजन विधेयक पारित भएसँगै नरैनापुर गाउँपालिकाको २०औँ गाउँसभा सफलतापूर्वक सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत भरत महतोले गर्नुभएको थियो।
लेखा अधिकृत प्रकाश अधिकारीका अनुसार नरैनापुर गाउँपालिका जिल्लामै आगामी आर्थिक वर्षको बजेट सबैभन्दा पहिले स्वीकृत गर्ने स्थानीय तह बनेको छ। उहाँले समयमै बजेट पारित हुनु सुशासन, वित्तीय अनुशासन तथा विकासप्रतिको स्थानीय सरकारको प्रतिबद्धताको महत्वपूर्ण संकेत भएको बताउनुभयो।
गाउँसभामा कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माण, सेवा प्रवाहको प्रभावकारिता तथा समावेशी विकासलाई केन्द्रमा राखेर कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ।





